हिमालय सहकारी संस्था लि. ले सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गर्न सफल भएको छ : कार्यकारी अध्यक्ष उत्तमप्रसाद बाँस्कोटा
काठमाडौंको पुरानो बानेश्वरमा आफ्नै भवनबाट वित्तीय सेवा प्रदान गरिरहेको हिमालय सहकारी संस्था लि. का कार्यकारी अध्यक्ष उत्तमप्रसाद बाँस्कोटाले आर्थिक वर्ष २०७५/०७६ मा उर्जा आपूर्तिमा देखिएको सहजता , निर्माण क्षेत्रमा भएको प्रगति , पर्यटन आगमनमा बृद्धि , अनुकूल मौसमका कारण कृषि उत्पादमा भएको बृद्धि आदि लगायतका कारण देशमा समष्टिगत रुपमा भएको आर्थिक बृद्धिको यस हिमालय सहकारी संस्था लि. मा समेत सकारात्मक प्रभाव परेकाले गर्दा संस्थाले उत्साहजनक रुपले आर्थिक प्रगति गर्न सक्षम भएतापनि सहकारी ऐन एवं नियमावली बमोजिम विभिन्न कोषहरुमा संस्थाले मुनाफा बाँडफाड गर्दा यस आर्थिक वर्षमा सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गर्न सफल भएको बताउनु भएको छ ।
काठमाडौंको पुरानो बानेश्वर स्थित मानसरोवर पार्टी प्यालेसमा २०७६ असोज ४ गते सम्पन्न भएको हिमालय सहकारी संस्था लि. , पुरानो बानेश्वर , काठमाडौंको २३ औँ वार्षिक साधारणसभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका कार्यकारी अध्यक्ष बाँस्कोटाले संस्थागत सुशासनलाई यस संस्थाले दिगो विकास एवं स्थायित्वको मूल आधार मानेको छ भन्दै सहकारी ऐन , २०७४ र सहकारी नियमावली , २०७५ बमोजिम नै यस संस्थाले आफ्नो कार्यनीतिहरु अवलम्वन गरेको बताउनु भयो । २०७५ साउन १ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकले अन्य सहकारी संस्थाहरु सहित यस संस्थाको समेत सिमित बैंकिङ्ग कारोवार गर्न प्रदान गरिएको अनुमति-पत्र रद्ध गरेतापनि संस्थाको सुशासनका मलभूत आधारहरु पारदर्शिता , इमान्दारिता , र जवाफदेहितालाई संस्थाले दृढताका साथ परिपालना गर्दै आएको छ उहाँले भन्नुभयो । उहाँले पेश गरेको वार्षिक प्रतिवेदनमि सो संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा कूल शेयर सदस्य १,९५६ , शेयर पूँजी रु.६,०३,१५,००० , निक्षेप संकलन रु.५१,४३,६३,००० , कर्जा लगानी रु.४४,२७,२६,००० र सञ्चालन मुनाफा रु.२,८४,३८,२२२/२३ रहेको उल्लेख छ ।
सोही संस्थाका सञ्चालक सदस्य डा.श्रीराम बास्कोटाले स्वागत मन्तव्य र उप-महाप्रवन्धक रश्मी मानन्धरले सञ्चालन गर्नु भएको उक्त साधारणसभामा सोही संस्थाका विविन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
