कास्कूनको बचत निक्षेप रु.३४,५२,२२,३६१/५६ , काठमाडौंका उत्कृष्ट ४ वटा साकोस सम्मानित

0 Shares

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) को १६औँ वार्षिक साधारणसभा योगम्बर पार्टी भेन्यू , सिंहदरवार , काठमाडौंमा २०७६ असोज १४ गते राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष केशवप्रसाद बडालको प्रमुख आतिथ्यता र कास्कूनका अध्यक्ष दीपक पनेरुको अध्यक्षतामा सम्पन्न भयो ।

सो सभाको उद्घाटन गर्दै प्रमुख अतिथि बडालले काठमाडौं जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रवर्द्धनमा क्रियाशील रहदै कास्कून गरिरहेको प्रगतिको प्रशंसा गर्दै देश कै राजधानीमा रहेको कास्कून र काठमाडौंमा सञ्चालन भइरहेका सहकारी संस्थाहरु माथि सबैको नजर पर्ने हुँदा कास्कून आफू अझै व्यस्थित हुदै र काठमाडौंका साकोसहरुलाई व्यवस्थित र मर्यादित बनाउन लाग्नु पर्ने खाँचो औल्याउनुभयो । उहाँले संयुक्त राष्ट्र संघले सन् २०३० सम्मको लागि दिगो विकास लक्ष्यहरु तय गरे अनुसार ऐक्यबद्धता जनाउदै नेपालको सहकारी अभियानले पनि ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने थिमका साथ साझेदारीमूलक कार्यक्रमहरु तर्जुमा गर्दै आएकोले सम्पूर्ण सहकारी संघ/संस्थाहरुलाई सदस्य केन्द्रित व्यवसायिक गतिविधि गरी परिणाममुखी कार्यक्रम गर्नु पर्ने बताउनु भयो । त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. का वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल , राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बी. उप्रेती , राष्ट्रिय सहकारी महासंघ लि. का लेखा सुपरीवेक्षण समिति संयोजक धर्मदत्त देवकोटा , नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल र नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघ लि. का कोषाध्यक्ष तथा जिल्ला सहकारी संघ लि. , काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले कास्कूनले काठमाडौंमा सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रर्वद्धन गराउन  तथा देशको आर्थिक तथा सामाजिक रुपान्तरणमा  निर्वाह गरिरहेको भूमिका सरहानीय रहेको बताउदै कास्कूनको थप प्रगतिको कामना गर्नुभयो ।

त्यस सभाका अध्यक्ष पनेरुले कास्कूनको वार्षिक प्रतिवेदन पेश गर्दै ‘समृद्ध नेपाल , सुखी नेपाली’ परिकल्पना साकार पार्न आर्थिक विकास तथा सामाजिक रुपान्तरणको लागि दीगो र गुणस्तरीय सहकारीहरुको विकास गर्ने राज्यको लक्ष्यमा अभियान आज एकाकार भएको बताउदै कास्कून आज पनि समुदायमा आधारित बचत ऋण सहकारीता प्रवर्द्धन गर्न जारी भएको तीनै तहको  सरकारको बचत तथा ऋण सहकारी सम्बन्धी कानुनमा सामञ्जस्यताका लागि बहस तथा पैरवीमा लागिरहेको छ भन्नुभयो । उहाँले सदस्य संस्थाहरु तथा संघमा दीगो र सुरक्षित प्रविधिको स्थापित गरी समसामयिक बचत  ऋण सहकारीका सवालहरु :  स्थिरीकरण कोष , कर्जा सूचना केन्द्र तथा बचत सुरक्षा कोष स्थापनामा सक्रिय सहभागिता राखी अभियानमा कास्कूनको सक्रियता बढाइने बताउनुभयो । त्यस अवसरमा कास्कूनका सचिव सालिकराम पुडाशैनीले सचिवको प्रतिवेदन पेश गर्दै कास्कूनमा  काठमाडौंमा  सञ्चालनमा रहेका २,९९७ वटा बचत तथा ऋण सहकारी संस्थाहरु मध्ये आर्थिक वर्ष २०७५/०७६ मा ६५५ वटा संस्था आवद्ध भएकोमा आर्थिक वर्ष २०७६/०७७ मा १३१ सदस्य संस्था थप गरी ७८६ वटा पु-याउने लक्ष्य रहेको बताउनुभयो ।

त्यसैगरी कास्कूनका कोषाध्यक्ष निरञ्जन सेढाईले कास्कूनमा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.१,६३,९१,००० , बचत निक्षेप रु.३४,५२,२२,३६१/५६ , कोषहरु/ जगेडा रु.१,५१,९१,१४६/८७ , लगानी रु.२३,१४,२९,२०३/ , आम्दानी रु.३,७६,२९,६८/११ र खर्च रु.२,९२,४१,०४५/८१ रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.३,७३,५१,००० , निक्षेप बचत रु.४८,१६,३८,१८९ र कर्जा लगानी रु.४०,८३,९०,३११ पु-याउने लक्ष्य रहेको बताउनुभयो

कास्कूनका उपाध्यक्ष नवराज अर्यालले स्वागत मन्तव्य र सचिव सालिकराम पुडाशैनीले सञ्चालन गर्नु भएको त्यस सभामा काठमाडौंमा सञ्चालनमा रहेका मध्ये उत्कृष्ट शेयर कायम गर्ने गिताञ्जली बचत तथा ऋण सहकारी संस्था लि. चण्डोल , अधिक कारोवार गर्ने शुभ-विहानी बचत तथा ऋण सहकारी संस्था लि., चावहिल , अधिक व्यवसायिक कारोवार गर्ने वीर भगवती बचत तथा ऋण सहकारी संस्था लि. , ईचंगू र कास्कून उत्कृष्ट साकोस सम्मान -२०७६ बाट स्मरण बचत तथा ऋण सहकारी संस्था लि. डिल्ली बजारलाई सम्मान गरिएको थियो । सोही अवसरमा सभाका अध्यक्ष पनेरुले प्रमुख अतिथि बडाललाई

मायाको चिनो प्रदान गर्नु भएको थियो । उक्त साधारणसभामा कास्कूनका सञ्चालक सदस्य तथा महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लि. धुम्बाराहीकी अध्यक्ष विनिता अधिकारीले सहकारीसँग सम्बन्धित कविता वाचन गर्नु भएको थियो ।

Leave a Reply