सहकारी मर्जर तथा सन्दर्भ व्याजदरप्रतिको विवाद यथावत

0 Shares

नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल र सो मन्त्रालय तथा सो अन्तर्गतको
सहकारी विभागका कर्मचारीहरु एवं सहकारी अभियानका नेताहरु सहकारी मर्जर गर्ने बताइरहनु भएको छ । मन्त्री अर्यालले सहकारी मर्ज गरेर ३ वर्षभित्रमा आधा घटाउने भनिरहनु भएको छ तर सहकारी मर्जरको स्पष्ट खाका यसबेलासम्म देखिएको छैन । यसले सहकारी क्षेत्रमा विवाद र अन्यौलको अवस्था देखा परेको छ ।
उद्देश्य मिल्ने सहकारी संस्थाहरु वीच फाट्टफुट्ट एकता हुने क्रम पनि चलिरहेको छ । सरकारले अवलम्वन गरेको अर्थतन्त्रको मोडेल र सहकारी मर्जरको नीति आपसमा मेल नखाने जिल्ला सहकारी संघ लि. , ललितपुरका उपाध्यक्ष रामशरण बस्नेत सहितका सहकारीकर्मीको भनाई छ ।
यता २०७६ साउन १९ गतेबाट कार्यान्वयनमा ल्याइएको सहकारी सन्दर्भ व्याजदरको विवाद यथावतै छ । विशेषत: सरकार तथा सहकारी सन्दर्भ व्याजदर समिति तथा भक्तपुर जिल्ला लगायतका सहकारी अभियानका नेताहरुले यसको पक्षमा आफ्नो अभिमत दिइरहेका छन् तर काठमाडौं , ललितपुर लगायतका जिल्लाहरुका सहकारी अभियानका नेताहरु लगायतले यसको विरोध गरिरहेको अवस्था छ भने भक्तपुर जिल्लाका कतिपय सहकारी संस्थाहरुका सञ्चालकहरुले पनि यसप्रति असन्तुष्टि जनाएको देखिएको छ । यसको विरोध गर्ने पक्षले जिल्ला ससकारी संघ लि., काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईको संयोजकत्वमा काठमाडौं उपत्यका संघर्ष समिति बनाएका छन् । उक्त संघर्ष समितिका संयोजक चौलागाई” सहकारी संस्थाहरुले कर्जा प्रवाह गर्दा २५/२६ प्रतिशत व्याजदर लिन पाउनु पर्दछ भन्ने आफूहरुको मान्यता होइन । सकेसम्म जतिसक्तो कम व्याजदरमा नै कर्जा प्रवाह होस् भन्ने हाम्रो चाहना छ । सहकारीमा औसत व्याजदर १५ प्रतिशत हुँदा पनि हामीलाई आपत्ती छैन तर यो सहकारी सन्दर्भ व्याजदर सहकारीको स्वतन्त्रता र स्वायत्तताको नीति विपरीत भएकोले यो संशोधनको विकल्प छैन ।” भन्नुहुन्छ ।
यस्तै सहकारी विभागका रजिष्टार तथा सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिका संयोजक डा. टोकराज पाण्डे सहकारी क्षेत्रमा व्याजदरमा एकरुपता कायम गर्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको सहकारी सन्दर्भ व्याजदरलाई पूर्ण रुपमा कार्यान्वयन गरेरै छाड्ने बताइरहनु भएको छ । “सहकारी सन्दर्भ व्याजदर कार्यान्वयन गर्दै जाने क्रममा समस्या देखिएमा तिनको समाधान गर्दै अगाडि बढिने छ” उहाँ भन्नुहुन्छ । उता
सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.वी. उप्रेती सहकारी सन्दर्भ व्याजदर सहकारीको सिद्धान्त विपरीत रहेको भन्दै सहकारी सन्दर्भ व्याजदरको विपक्षमा उभिदै आउनु भएको छ ।
नेफ्सकूनका भूतपूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले भने सहकारी सन्दर्भ व्याजदरको समर्थन गरिरहनु भएको छ । सहकारी संस्थामा बढी व्याज लिएर अपारदर्शी ढंगबाट क्रियाकलाप गर्ने / गराउनेहरुले सहकारी सन्दर्भ व्याजदरको विरोध गरिरहेको उहाँको भनाई छ ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी सन्दर्भ व्याजदरप्रति भक्तपुरको सहकारी अभियानको समर्थन रहेको बताइरहनु भएको छ । भक्तपुरका सहकारी सहकारी संघ/ संस्थाहरुले १६ प्रतिशतभन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिरहेकाले भक्तपुरमा सहकारी सन्दर्भ व्याजदरले कुनै असर नगर्ने उहाँको कथन छ ।
सहकारी सन्दर्भ व्याजदर निर्धारण समिति सदस्य रहेका नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी सन्दर्भ व्याजदर लागू गर्ने निर्णयमा हस्ताक्षर गरेपनि सोही संघका सचिव माधव तिमिल्सिना भने अहिले लागू गरिएको सहकारी सन्दर्भ व्याजदर सहकारीको सिद्धान्त विपरीत रहेको बताइरहनु भएको छ भने स्वयम् अध्यक्ष भण्डारी पनि सबैले सो निर्णयमा सही गरी सकेकाले आफू मात्रै एक्लै परेकाले आफूले पनि त्यसमा हस्ताक्षर गरेको बताइरहनु भएको छ तर उहाँको सो भनाईको कतिपय सहकारीकर्मीहरुले आलोचना गरिरहेका छन् । “यदी उनी त्यसको पक्षमा नभएको भए उनले नोट अब डिसेन्ट लेखेका हुन्थे तर उनले त्यस्तो गरेको देखिएन । काम एउटा गर्ने तर कुरा अर्को गरेर सहकारीकर्मीहरुको सहानुभूति बटुल्ने उनको चालबाजी मात्रै हो ” उनीहरु बताइरहेका छन् ।
सहकारी सन्दर्भ व्याजदरप्रति बचत तथा ऋण सहकारी संस्थाहरुको तुलनामा बहुउद्देश्यीय सहकारी संस्थाहरुको बढी विरोध देखिएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.ले १६ प्रतिशत व्याजदरमा आफ्ना सदस्य संघ/संस्थाहरुलाई ऋण दिने गरेकाले आफूहरुले १६ प्रतिशत व्याजदरमा लिएको सो ऋण आफ्ना सदस्यहरुलाई लगानी गर्न गाह्रो भएको बहुउद्देश्यीय संघ/ संस्थाहरुका सञ्चालकहरु बताइरहेका छन् ।
देशभरका सहकारी संघ/ संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटा भने सहकारी सन्दर्भ व्याजदरको बारेमा आफू अध्ययन मै रहेकोले केही नबोल्ने बताउनुहुन्छ तर सोही महासंघका बर्तमान अध्यक्ष केशवप्रसाद बडाल भने सहकारी क्षेत्रमा व्याजदरमा एकरुपता कायम गर्ने उद्देश्यले सहकारी सन्दर्भ व्याजदर लागू गरिएकोले यसको सबैले कार्यान्वयन गर्नुको विकल्प छैन भनिरहनु भएको छ । उहाँले सहकारीले ऋण लगानी गर्दा २ प्रतिशत सेवा शुल्क लिन पाउनु पर्ने बताइरहनु भएको छ ।
सहकारी सन्दर्भ व्याजदर लागू भएको ३ महिनामा यसको समीक्षा गरिने सहकारी सन्दर्भ व्याजदर निर्धारण समितिको भनाई छ ।
सहकारी मर्जर र सहकारी सन्दर्भ व्याजदरको विवाद कसरी निराकरण हुन्छ , त्यो त आउने दिनमा देखिएला तर यसको सकारात्मक ढंगबाट समाधान हुनुको विकल्प देखिदैन ।

Leave a Reply