२०७६ मंसिर १२-१६ मा काठमाडौंको भृकुटीमण्डपमा १७औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिता हुने

नेपालका हस्तकला उद्यमीबाट उत्पादित सामानको स्वदेश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०७६ मंसिर १२ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १७औं हस्तकला व्यापार मेला तथा १५औं हस्तकला प्रतियोगिता हुने नेपाल हस्तकला महासंघले जनाएको छ । नेपाल सरकार , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय , नेपाल पर्यटन बोर्ड , नेपाल उद्योग वाणिज्य महासङ्घ , नेपाल उद्योग परिसङ्घ , नेपाल चेम्बर अफ कमर्श , काठमाडौं महानगरपालिका , ललितपुर महानगरपालिका ललितपुर उद्योग वाणिज्य संघ , नविल बैंक लि. लगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा हुने सो मेलामा ८ प्याभिलियन सहित २०० स्टल रहने र उक्त मेलामा देशका ७७ वटै जिल्लाका हस्तकलाको सहभागिता रहने बताइएको छ । भारत , चीन , अमेरिका , जापान तथा युरोपका विभिन्न देशहरुका २० स्टल र बाकी नेपाली स्टल रहने उक्त महासंघमा आयोजित पत्रकार भेटघाटमा जनाइएको छ । मेलामा नेपाली उद्यमी , व्यवसायी, निर्यातकर्ता र आयातकर्ताका बीचमा व्यवसायिक सम्बन्ध विकास गर्नु , नेपाली उद्यमीलाई कम खर्चमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेलामा सहभागिता गर्ने र व्यापार मेलाको माध्यामबाट नेपाली कला संस्कृतिको प्रचारप्रसार गर्न उद्देश्यका साथ सो मेला आयोजना गर्न लागिएको सोही मेलाका संयोजक तथा नेपाल हस्तकला महासङ्घका नि:वर्तमान अध्यक्ष धर्मराज शाक्यको भनाई छ । त्यस मेलामा धातुकला , सुनचाँदी , सुती , ढाकाका सामान , पश्मिना , छालाजन्य सामान , प्राकृतिक रेसा , बासँका सामानहरु प्रदर्शनमा राखिने नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले बताउनुभयो ।
उक्त पत्रकार भेटघाटमा नेपाल सरकार , व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक सुयस खनाल , नेपाल हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य , उपाध्यक्ष तथा १५ औँ हस्तकला प्रतियोगिताका संयोजक राजमान बज्राचार्य लगायतले उक्त मेलाको बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
स्वदेशी बजारमा नेपाली हस्तकलाका बस्तु करिब रु.१० अर्बको खरिद विक्री भइरहेको छ भने सोही अनुपातमा भारत लगायत विभिन्न २५ देशहरुमा निर्यात हुँदै आएको र हस्तकलाजन्य सामानको प्रवर्द्धन गर्न सके व्यापार घाटा कम गर्न सहयोग पुग्ने सो महासंघले भनाई छ ।