चन्द्रागिरि साकोस र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.ले गरे भगिनी सम्बन्ध स्थापना गर्ने प्रतिबद्धता

काठमाडौंमा नमुना साकोसको रुपमा सञ्चालनमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. र काभ्रेपलाञ्चोकको बनेपामा राम्रो लयमा अगाडि बढिरहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि.वीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रतिवद्धता पत्रमा हिजो हस्ताक्षर भएको जानकारी प्राप्त छ । दुवै संस्थाको व्यवसायिक परिचय संस्थागत रुपमा आपसमा अभिबृद्धि गर्दै दुई संस्थाहरुले अभ्यासमा ल्याएका नीति , विधि र प्रविधिहरुको उपादेयता आपसमा विनिमय गरी दुवै संस्थाका अनुभव र अभ्यासहरुद्वारा सहकारी कृयाकलापहरुमा थप विश्वसनीयता र सक्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपाको हिजो सम्पन्न २० औं वार्षिक साधारण सभाको अवसरमा सो सम्बन्ध स्थापनाको सम्झौता भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले जनाएको छ । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. का सचिव योगेन्द्रकुमार कुँवर र ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष मुकुन्दप्रसाद दहाल वीच उक्त प्रतिवद्धता पत्र हस्तान्तरण भएको थियो ।