‘गण्डकी सभ्यता बचाऔँ’ महाअभियानको स्मारिका ‘धौलागिरी- गण्डकी’ प्रकाशनको तयारीमा छौँ

0 Shares

-भक्तराज भुषाल , सह- संयोजक , गण्डकी सभ्यता बचाऔँ महाअभियान , मूल समारोह समिति , तथा संयोजक , गण्डकी प्रदेश एवं विशिष्ट संरक्षक तथा वरिष्ठ उपाध्यक्ष , धौलागिरी समाज नेपाल , केन्द्रीय समिति

 

दर्जनौं सामाजिक संघ/संस्थामा क्रियाशील समाजसेवी भक्तराज भुषाल , ‘गण्डकी सभ्यता बचाऔँ’ महाअभियान , मूल समारोह समिति , सह-संयोजक तथा गण्डकी प्रदेश , संयोजक , धौलागिरी समाज नेपाल , केन्द्रीय समितिका विशिष्ट संरक्षक तथा वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँसँग सहकारी सञ्जालले छोटो कुराकानी गरेको छ । जो यस प्रकार छ ।

१, यतिबेला के गर्दै हुनुहुन्छ ?

~ यतिबेला हामी धौलागिरी समाज नेपाल , केन्द्रीय समितिको अगुवाईमा ‘गण्डकी सभ्यता बचाऔं’ महाअभियानको स्मारिका ‘धौलागिरी- गण्डकी’ प्रकाशनको तयारीमा छौं । यो स्मारिकाभित्र पर्ने ठाउँहरु : दामोदर कुण्ड , मुक्तिनाथदेखि मुस्ताङ , म्याग्दी , बागलुङ , पर्वत हुँदै नवलपरासीको त्रिवेणीधाम लगायतका प्रदेश नं. ३ , गण्डकी प्रदेश र प्रदेश नं. ५ सम्मका तीर्थस्थलहरुको संख्या र पर्यटन प्रवर्द्धन सम्बन्धी प्रचार प्रसार तथा जानकारी गराउने मुख्य उद्देश्यले ‘गण्डकी सभ्यता बचाऔं’ महाअभियान शुरु गरिएको छ । यसको ब्रोसर लगायतका प्रचार सामाग्री छापी सकिएको छ । हिमालदेखि तराईसम्म जोड्ने कृष्ण (काली) गण्डकी , नारायणी र त्रिवेणीको महिमाको सन्दर्भमा त्यसको धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराई नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न स्वदेश तथा विदेशका आम नागरिकहरुलाई जानकारी हुने प्रकारको दस्तावेजको रुपमा रहन योग्य ‘धौलागिरी-गण्डकी’ स्मारिका प्रकाशन गर्न लागिएको छ ।

२. ‘गण्डकी सभ्यता बचाऔँ’ महाअभियानको आगामी कार्यक्रमहरु के छन् ?

~  ‘गण्डकी सभ्यता बचाऔँ’ महाअभियान विगत २ वर्षदेखि बहस कै रुपमा सञ्चालन ग-यौं । यस अन्तर्गत ठूला -ठूला गोष्टि , अन्तर्क्रिया , बनभोज , बहस लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न भए । आगामी दिनमा प्रदेश नं. ३ , गण्डकी प्रदेश र प्रदेश नं. ५ लाई समेटेर १०१ सदस्यीय समितिलाई विस्तार गरी ५०५ सदस्यीय पु-याउने र ती प्रदेशहरु भित्रका गाउँपालिका , नगरपालिका र प्रदेश सरकार तथा केन्द्र सरकारसँग समन्वय गरी गण्डकी सभ्यताको बारेमा जानकारी गराउने उद्देश्यले बहस , गोष्टि , अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गर्ने । यस अन्तर्गतको विज्ञ समिति मार्फत दस्तावेजहरु तयार गर्ने कार्यक्रम भइरहेको हुँदा सबैलाई समेटेर आम रुपमा सबैको धारणा जाग्ने प्रकारको ‘धौलागिरी-गण्डकी’ स्मारिका प्रकाशन गरी गण्डकी सभ्यता , काली गण्डकीको महत्व र त्यस आसपासका तीर्थस्थलहरुको महत्व तथा पर्यटन क्षेत्रमा पर्ने प्रभावका बारेमा प्रभावकारी योजनाका साथ अगाडि बढ्दै छौं ।

‘गण्डकी बचाऔँ’ महाअभियानलाई  २ ठूला केन्द्रीय संस्थाहरु : विश्व हिन्दू महासंघ र फेड्कन , नेपालले समेत ऐक्यबद्धता जनाई दिदा यस महाअभियानलाई थप मर्यादित र प्रभावकारी बनाउन मद्धत पुगेको छ ।

३. कालीगण्डकीको खास महत्व के पाउनु भएको छ ?

~ विश्वमा धेरै नदीहरु छन् तर कालीगण्डकीको जस्तो महत्व बोकेको नदी कुनै पनि छैन ! कालीगण्डकी त्यस्ती गंगा हुन् , जहाँ विश्व मै नपाइने भगवान विष्णुको अवतार मानिने गरेको शिला शालिग्राम पाइन्छ । जुन शालिग्राम हिन्दू धर्ममा सबैभन्दा महत्वका साथ देवालय तथा घर घरमा पूजा गरिन्छ । त्यस्तै कालीगण्डकीको जल पनि त्यत्तिकै महत्वपूर्ण छ । कालीगण्डकीमा एक पटक शरीर पूरा डुवाउनाले शरीरको पाप पखालिन्छ भन्ने भनाई पुराणहरुमा पाइन्छ । कालीगण्डकीको महत्व त भगवान विष्णु स्वयंले पनि बर्णन गर्न सक्नु हुन्न , यो त्यत्ति धेरै महत्वको छ भन्ने कुरा मैले भागवतमा पढेको थिएँ ।

४. कालीगण्डकीको संरक्षणका लागि के गर्नु पर्ला ?

~ कालीगण्डकी नदीको किनारमा बढ्दो आवास निर्माण तथा बजारीकरणले गर्दा कालीगण्डकी नदी फोहोर भइरहेको छ । फोहोर लगायतका समस्याहरुलाई छिटो भन्दा छिटो समाधान गर्न तीनै तहका सरकार , स्थानीय संघ/संस्था लगायतका सरोकारवाला पक्षहरु एक आपसमा बसेर अन्तर्क्रिया तथा छलफल गरी योजना तथा कार्यक्रम बनाई काममा लाग्नु जरुरी छ । यसको मुख्य गाइडलाइन ‘गण्डकी सभ्यता बचाऔँ’ महाअभियानले गरेको छ ।

५.  कालीगण्डकी संरक्षण  हुनुपर्दछ त भन्नुभयो  तर सरकारले कालीगण्डकीको डाइभर्सन गर्ने कुरा गरेको सुनिन्छ । डाइभर्सनले कालीगण्डकी नदी संरक्षण होला त ?

~ पक्कै हुदैन । गण्डकी र त्यसमध्येमा पनि विशेष गरी कालीगण्डकीको संरक्षणका लागि संघ/संस्थाहरु र ‘गण्डकी सभ्यता बचाऔँ’ महाअभियान स्थापना भएका छन् । ‘गण्डकी सभ्यता बचाऔँ’ महाअभियानको तर्फबाट केन्द्र सरकार  तथा प्रदेश सरकारका मुख्यमन्त्री एवं मन्त्रीहरु र राजनीतिक दलहरुका मुख्य नेताहरु लगायतलाई कालीगण्डकीको डाइभर्सन गर्न हुदैन भन्ने नै ‘गण्डकी सभायता बचाऔँ’ महाअभियानको मुख्य उद्देश्य हो भनेर जानकारी गराएका छौँ । खानेपानी तथा सिंचाई बाहेक अरु प्रयोजनका लागि कालीगण्डकीको जल उसको बहाव क्षेत्र बाहेक दायाँ बायाँ गर्न पाइदैन भन्ने ‘गण्डकी सभ्यता बचाऔँ’ महाअभियानको मुख्य भनाई रहेको छ ।

६. ‘गण्डकी सभ्यता बचाऔँ’ महाअभियान सञ्चालन भइरहदा सरकार तथा नागरिकहरुको  यस महाअभियानप्रति कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

~कालीगण्डकीमा दाह संस्कार गर्न , चाडपर्वमा नुहाउन र तीर्थहरुको महत्व धेरै भएको हुँदा गण्डकीलाई बचाऊ गर्न अति आवश्यक छ । यस कार्यक्रमलाइ सञ्चालन गर्न नागरिकहरुबाट राम्रो प्रतिक्रिया र सहयोग भइरहेको छ भने सरकारले सहयोग गर्ने आश्वसन दिएको छ ।

यस कार्यक्रमका लागि समितिले छुट्टै रु.१ करोडको अक्षय कोष स्थापना गरेको छ । यस कोषमा रकम जम्मा हुने क्रम जारी छ । अहिलेसम्म यस कोषमा करिव रु.२० लाख जति रकम जम्मा भइसकेको छ । समितिले यो कोषको सावा रकम खर्च गर्न नपाइने नीति बनाएकोले यस कोषको व्याजबाट मात्र कार्यक्रम सञ्चालन गरिने छ ।

Leave a Reply