नेपाल भ्रमणमा रहनु भएका बंगलादेशका राष्ट्रपति हमिदले गर्नुभयो फेवा तालमा डुङ्गा शयर

यही मंगलबार ४ दिने नेपाल भ्रमणमा रहनु भएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दूल हमिदले आज ४ घण्टा जति पोखरामा बिताएको जानकारी प्राप्त भएको छ । आज विहान पोखरा विमानस्थलमा उहाँलाई गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन ,कार्यवहाक मुख्यमन्त्री किरण गुरुङ ,संघीय संसदका प्रतिनिधिसभा सदस्य खगराज अधिकारी लगायतले स्वागत गर्नु भएको थियो । अनौपचारिक भ्रमणका क्रममा पोखरामा रहदा उहाँले नेपाल प्रहरीको डुङ्गामा फेवा तालको शयर गर्नु भएको बताइएको छ ।
यही मंगलबार ढाकाबाट काठमाडौं आउनु भएका उहाँले सोही दिन भक्तपुरको दरवार स्क्वायरको अवलोकन गर्नु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी तथा विभिन्न दलका नेताहरुसँग राजनीतिक भेटघाट गरी सक्नु भएका उहाँले भोलि काठमाडौंको चन्द्रागिरी तथा ललितपुरको पाटन दरवार स्क्वायरको भ्रमण गर्नु हुने बताइएको छ । उहाँ भोलि नै अपरान्ह स्वदेश फर्किनु हुने छ भने उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले विदाई गर्नु हुने बताइएको छ । राष्ट्रपति भण्डारीले उहाँलाई यही मंगलबार त्रिभुवन विमानस्थलमा स्वागत गर्नु भएको थियो ।