नेपाल कम्युनिष्ट पार्टीमा मानव दलको भयो सम्मलिन , नेपाली भूमि अतिक्रमण गरेर भारतले जारी गरेको नयाँ नक्सा देशभक्त नेपाली जनताहरुलाई मान्य छैन : नेकपा अध्यक्ष ऋषि कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाली भूमि कालापानी , लिपुलेक र लिम्पियाधुरालाई अतिक्रमण गरी भारतले हालै सार्वजनिक गरेको नक्सा देशभक्त नेपाली जनताहरुलाई स्वीकार्य छैन र त्यो नक्सा अविलम्ब खारेज गरिनुपर्छ भन्नु भएको छ । उहाँले नेतृत्व गर्नु भएको नेपाल कम्युनिष्ट पार्टीमा डा. मिश्री मण्डल नेतृत्वको मानव दलको हिजो जनकधाममा सम्मिलन गर्दै उहाँले सो कुरा बताउनु भएको थियो । भारतीय शासकको विस्तारवादी नीति र नेपालका सत्ताधारीहरुको सत्ता स्वार्थको निम्ति दिल्ली सामू आत्मसमर्पणवादी चिन्तन र व्यवहारका कारण नेपाली भूमि अतिक्रमण गरेर भारतले नयाँ नक्सा जारी गर्ने दुस्साहस गरेको र भारतीय तथा नेपाली शासकको सोही स्वार्थ र मनोबृत्तिका कारण नेपालको अखण्डता र सार्वभौमिकतामा खलल पर्ने कार्य भइरहेको बताउदै उहाँले देशको स्वाधीनता र अखण्डताको रक्षाको निम्ति क्रान्तिकारी तथा देशभक्तहरुको एकता अनिवार्य बनिरहेको बताउनुभयो । ‘कम्युनिष्ट पार्टी नामको बर्तमान ओली नेतृत्वको सरकार व्यवहारमा कम्युनिष्ट सरकार बन्ने कुरा त टाढाको विषय भयो , यसको व्यवहार र चरित्र हेर्दा यो देशभक्त सरकार पनि नरहेको’ उहाँको भनाई थियो । मार्क्सवाद , लेनिनवाद र माओविचारधारालाई मार्गदर्शक सिद्धान्त मान्दै र नेपालको वाम आन्दोलनभित्रको उग्र वामपन्थी भड्काव र दक्षिणपन्तताको विरोध गर्दै अगाडि बढिरहेको सो दलमा विभिन्न वाम समूह लगायतको विलय र प्रवेश गर्ने क्रम चलिरहेको देखिएको छ ।
उक्त सम्मिलन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदी , सोही दलका नेताहरु भीम सेढाई , रामदुलार महतो तथा सम्मिलन भएको मानव दलका नेता डा. मिश्री मण्डलले आ-आफ्नो धारणा व्यक्त गर्नु भएको जनकपुरधामबाट प्राप्त समाचारमा जनाइएको छ । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष कट्टेलले नेपाल कम्युनिष्ट पार्टीमा सम्मिलन भएको मानव दलका नेता – कार्यकर्ताहरुलाई स्वागत गर्नु भएको थियो । नेपाल कम्युनिष्ट पार्टीमा सम्मिलन भएपछि विघटित मानव दलका नेता – कार्यकर्ताहरुले खुशी व्यक्त गर्नु भएको बताइएको छ ।
सो कार्यक्रममा सम्मिलन भएका उक्त पार्टीका धनुषका नेताहरु बिपद मण्डल , अरुण झा तथा महोत्तरीका नेता शंकरदास लगायतले पनि कम्युनिष्ट पार्टीको झण्डामुनि एकजुट हुनुको बिकल्प छैन भन्नु भयो ।
त्यस सम्मिलन समारोह मै विघटित मानव दलका डा. मिश्री मण्डललाई नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सचिवालय , बिपद मण्डल र अरुण झालाई केन्द्रीय आयोजक समिति सदस्य र परमेश्वर मण्डललाई धनुषा जिल्लाका अध्यक्षको जिम्मेवारी प्रदान गरिएको घोषणा गरिएको थियो ।