हातेमालो महिला साकोस , त्यागल/पिलाछेँ को १०औं वार्षिक साधारणसभा समपन्न , संस्थाको शेयर सदस्य ६३१ जना

ललितपुर महानगरपालिका -७ , त्यागल/पिलाछेँमा रहेको हातेमालो महिला बचत तथा ऋण सहकारी संस्था लि.को १० औं वार्षिक साधारणसभा उक्त संस्थाकी अध्यक्ष विना महर्जनको अध्यक्षतामा आज सोही संस्थाको आफ्नै कार्यालयमा सम्पन्न भयो । त्यस सभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उक्त संस्थाकी अध्यक्ष महर्जनले यस संस्थाका सदस्यहरुको सुझाव अनुसार बाहिरबाट अतिथि नबोलाई सामान्य ढंगबाट हाम्रो यो संस्थाको १०औं वार्षिक साधारणसभा गरिएदै छ र हाम्रो यस कार्यबाट अरुले पनि पाठ सिक्ता राम्रै हुन्छ भन्नुभयो । “नेपाल राष्ट्र बैंकले २०६८ सालमा बैंक तथा वित्तीय संस्थाहरु गाभ्नको लागि प्रेरित ग-यो । बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिन , एकीकरण गर्नको लागि अग्रसर भए तर सहकारी एकीकरण त्यति सहज छैन । सहकारी एकीकरणका लागि प्रभारकारी सञ्चार महत्वपूर्ण मानिन्छ । मुख्यतया नेतृत्व व्यवस्थापनमा चुनौति छ । एकीकरण पछि सहकारीको नाम राख्ने सवालमा समेत कठिनाई छ । एकीकरण गरिने सहकारीहरुको हिसाव कितावलाई एकीकृत गर्न विभिन्न प्राविधिक पक्षहरुलाई समेत ध्यान दिनु पर्ने देखिन्छ । तथापि , वित्तीय बजारमा साकोसको बलियो र प्रतिस्पर्धी उपस्थितिको लागि एकीकरण अपरिहार्य जस्तै भैसकेको छ,” उहाँको भनाई छ। उहाँले यस संस्थाद्वारा आफ्नो सदस्य संख्या बृद्धि गरी बढी निक्षेप संकलन गरी सदस्यहरुलाई उचित व्याज दरमा ऋण प्रदान गरिने , सहकारीको अवलोकन भ्रमण गरिने , सदस्यहरुले कम्तिमा ५० कित्ता शेयर लिन अनिवार्य गरिने , सहकारी सम्बन्धी रणनीति कार्यशाला गोष्टि आयोजना गरिने , शेयर सदस्यहरुलाई उपयुक्त स्थानमा धार्मिक भ्रमण गराइने , सीपमूलक तालिम सञ्चालन गरिने र स्वास्थ्य सम्बन्धी विविध कार्यक्रम आयोजना गरिने बताउनुभयो । त्यस सभामा सो संस्थाकी कोषाध्यक्ष नविना श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुशीला श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । साधारणसभाबाट पारित ती प्रतिवेदनहरुमा सो संस्थाको आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य ६३१ जना , शेयर पूँजी रु.५१,१६,१०० , बचत निक्षेप संकलन रु.४,८८,७१,३०७ र कर्जा लगानी रु.४,६५,८५,३८२ रहेको उल्लेख छ ।