२०७६ मंसीर २० गते नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. को ७औं वार्षिक साधारणसभा हुँदैछ

0 Shares

-नारायण भक्त श्रेष्ठ , उपाध्यक्ष , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.

 

नेपालको सहकारी अभियानका विभिन्न विषयहरुमा छलफल र बहस चलिरहेको देखिन्छ । यसै विषयमा केन्द्रित रहेर नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का उपाध्यक्ष नारायण भक्त श्रेष्ठसँग  सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

१.  नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सहकारी संघ लि. यतिबेला के गर्दै छ ?

~ नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. आफ्ना नियमित गर्नु पर्ने कार्य गरिरहेको छ । यसैक्रममा  यस संघको २०७६ मंसीर २० गते काठमाडौंमा ७ औं वार्षिक साधारणसभा सम्पन्न हुदैछ ।

२.  नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.ले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई कसरी संयोजन गर्दै छ नि ?

~ यस संघले प्रारम्भिक संस्थाहरुलाई आवश्यक पर्ने सबै खाले तालिमहरु सञ्चालन गरिरहेको छ । यस संघबाट सबै प्रदेशमा सम्पति शुद्धिकरण , एकीकृत सूचना व्यवस्थापन प्रणाली  (कोपोमिस) , ऐन तथा नियममा व्यवस्था भएका कुराहरु  सबै प्रारम्भिक संस्थाहरुलाई प्रशिक्षण गर्ने कार्य भइरहेको छ ।

३. बचत तथा ऋण कारोवार मुख्य उद्देश्य रहेका बाहेक बहुउद्देश्यीय तथा विषयगत सहकारी संस्थाले सहकारी ऐन , २०७४ मा व्यवस्था भएको मुख्य उद्देश्यमा ७० प्रतिशत र बचत तथा ऋण कारोवार ३० प्रतिशतको व्यवस्था सो ऐन जारी भएको ३ वर्षभित्रमा लागू गर्नु पर्ने भन्ने व्यवस्था गरिएकोबारे तपाईको भनाई के छ ?

~ सहकारी ऐन , २०७४ बाट ७० र ३० को विषय लगायतका कुरा संशोधन गर्ने प्रयोजनका लागि सो ऐन संशोधन मस्यौदा  समिति बनेको छ ।  त्यस समितिमा सहकारी अभियानको तर्फबाट नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारीले प्रतिनिधित्व गरिरहनु भएको छ । त्यो समितिले आफ्नो काम गरिरहेको छ । सहकारी ऐन , २०७४ मा व्यवस्था भएको ७० र ३०  को प्रावधान संशोधन हुन्छ । बहुउद्देश्यीय  सहकारी संस्थाहरुले  ढुक्क भएर आफ्नो काम गर्नु भए हुन्छ ।

४ . सरकारले  सहकारी मर्ज गर्ने कुरा गरिरहेको छ । सहकारी मर्जरबारे तपाईको के  भनाई छ ?

~सहकारी मर्जरबारे कुरा मात्रै सुनिन्छ । मर्जरमा जाने सहकारीहरुलाई सुविधा सहितका कार्यक्रम ल्याउनु परो नि ! अनि त्यस पछि मात्र सहकारी मर्जरको सम्भावना हुन्छ ।

५. सरकारले एक व्यक्ति एक सहकारीमा मात्रै रहन सक्ने भनिरहेको सुनिन्छ । के यो सम्भव छ त ?

~ ऐन/नियममा आएपछि त्यसलाई पालना गर्नु हामी सहकारीकर्मीहरुको दायित्व  हो तर यसरी गर्दा सहकारी क्षेत्रमा जति विकास हुनु पर्ने हो , त्यति विकास हुने देखिदैन ।

६. सहकारी कर्जा सूचना केन्द्र स्थापना बारे तपाईको धारणा के छ ?

~ ऐनमा व्यवस्था भएको सहकारी कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधीकरणको स्थापना गर्ने प्रावधान कार्यान्वयनका लागि नेपाल बहुउद्देश्यीय  केन्द्रीय सहकारी संघ लि.ले पहल गरिरहेको छ । यस संघको आह्वानमा विशिष्टिकृत संघ गठन गरेर ठूला परियोजना सञ्चालनका लागि पहल भइरहेको छ ।

७. २०७६ साउन १९ गतेबाट लागू गरिएको सहकारी सन्दर्भ व्याजदर बारे तपाई के भन्नुहुन्छ ?

~  सहकारी सन्दर्भ व्याजदरको नाममा सरकारले व्याजमा लगाएको क्याप हो । यो अन्तर्राष्ट्रिय सहकारी सिद्धान्तको बुँदा नं. ४ को ‘स्वायत्तता र स्वतन्त्रता’  विपरीत छ ।

८. नेपालको संविधान , २०७२ मा राज्यको राष्ट्रिय अर्थतन्त्रको ३ खम्बा मध्ये सहकारीलाई तेस्रो खम्बाको रुपमा उल्लेख गरिएको त तर अरु २ खम्बाको तुलनामा सहकारी कमजोर देखिन्छ  नि ?

~ सहकारीलाई राज्यले राष्ट्रिय अर्थतन्त्रको ३ खम्बा मध्ये एउटा खम्बा मानेको छ तर सरकारले यसलाई अरु २ खम्बा जत्तिको महत्व दिएर सहयोग गरेको देखिदैन । सरकारले  यसरी नै लैजाने हो भने सहकारी खम्बा निकै कमजोर हुने देखिन्छ ।

९. अन्तमा केही भन्नु छ कि ?

~ ऐन /नियमावली तथा विभिन्न नीति/ नियम ल्याएर सहकारीलाई बाध्नुभन्दा सहकारी क्षेत्रलाई विकास गर्ने नीति /नियम ल्याएर कार्यान्वयन गरियो भने मात्रै सहकारीको विकास सम्भव हुने देखिन्छ ।

Leave a Reply