ओली सरकारका नवनियु्क्त मन्त्रीहरुद्वारा पदभार ग्रहण , ५ वर्षसम्मै ओली सरकार रहने सहमती

0 Shares

खड्गप्रसाद शर्मा ओली नेतृत्वको वर्तमान सरकारका हिजो नियुक्त भएका  नवनियुकत मन्त्रीहरुद्वारा आज पदभार ग्रहण गर्नु भएको छ । आजै मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय , शितलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुषाल , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी , उद्योग , वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट , श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव , भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ  र महिला , वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङका साथै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर , उद्योग , वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । त्यस अवसरमा उप-राष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री ओली , राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको बताइएको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीलै हिजो मन्त्रीहरुको जिम्मेवारी हेरफेर , पदमुक्त तथा नया मन्त्री नियुक्त गर्नु भएको थियो ।

उप-प्रधानमन्त्री  एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई कानुन , न्याय तथा संसदीय व्यवस्था र कानून , न्याय तथा संसदीय  व्यवस्था मन्त्री भानुभक्त ढकाललाई  स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी प्रदान गरिएको छ ।

यस अघि श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट , महिला , वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा , उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव , संघीय मामिला , स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित , भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ , कृषि तथा पशुपञ्छी विकास मन्त्री चक्रपाणि खनाल , कृषि तथा, पशुपञ्छी विकास राज्यमन्त्री रामकुमारी चौधरी , स्वस्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादव र संस्कृति , पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा पद मुक्त हुनुभयो । २१ महिनापछि पुनर्गठन भएको  मन्त्रीपरिषदप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि देखिएको छ । उप-प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारत भ्रमण रहेका बेला मन्त्रीपरिषद पुनर्गठन भएको भन्दै समाजवादी पार्टीका नेताहरचले असन्तुष्टि जनाएको देखिएको छ ।

यता राष्ट्रपति विद्यादेवी भण्डारीको रोहवरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल वीच सरकार र पार्टी सञ्चालनबारे सहमती भएको जानकारी प्राप्त भएको छ । जस अनुसार प्रधानमन्त्री ओली ५ वर्ष नै प्रधानमन्त्री रहनु हुनेछ भने दाहाल कार्यकारी अध्यक्ष भएर पार्टीको कार्य सञ्चालन गर्नु हुनेछ तर दुई अध्यक्षको पार्टीभित्र मर्यदाक्रम भने यथावत नै रहने बताइएको छ ।

Leave a Reply