दर्शन दिवशमा प्रज्ञा प्रतिष्ठानले ग-यो बुद्ध दर्शनबारे विचार गोष्ठि , प्रज्ञा प्रतिष्ठानमा जारी पुस्तक प्रर्दशर्नीमा पुस्तक विक्री राम्रोसँग हुँदै

अन्तर्राष्ट्रिय दर्शन दिवसको अवसरमा हिजो विभिन्न संघ/ संगठनको आयोजनामा विभिन्न साहित्यिक तथा दर्शनशास्त्र सम्बन्धी कार्यक्रम सम्पन्न भए । यसैक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव विषयक विचार गोष्ठि सोही प्रतिष्ठानको आफ्नै भवनको सेमिनार हलमा हिजो सम्पन्न भयो । प्रा.डा. शिवहरि मरहट्ठाको प्रमुख आतिथ्यतामा अध्यक्षतामा सम्पन्न सो गोष्ठिमा वरिष्ठ संस्कृति विद तथा शताव्दी वाङ्मय पुरुष सत्यमोहन जोशी , भूतपूर्व शिक्षा मन्त्री मोदनाथ प्रश्रित , नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती , सदस्य सचिव जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ लगायतले गौतम बुद्धले दर्शनको क्षेत्रमा गरेको योगदान तथा उहाँको बहुआयामिक व्यक्तित्वको विषयमा चर्चा गर्नु भएको थियो । त्यस अवसरमा विद्वान व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा विद्वान वीरेन्द्र मिश्रले कार्यपत्र पेश गर्नु भएको थियो भने सो कार्यपत्र माथि विभिन्न टिप्पणीकर्ताहरुले टिप्पणी गर्नु भएको थियो ।
यसै वीच २०७६ मंसिर १ गतेबाट नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आफ्नै भवनमा सञ्चालन भइरहेको पुस्तक प्रदर्शनीमा विक्रीका लागि राखिएका पुस्तकहरुको विक्री राम्रोसँग भइरहेको बताइएको छ । प्रदर्शनी कक्षमा नेपाल प्रज्ञा प्रतिष्ठानले समय समयमा प्रकाशन गरेका पुस्तक तथा पत्रिकाहरु विक्रीका लागि राखिएका छन् । २०७६ मसिर महिना भर चल्ने उक्त प्रदर्शनीमा विक्री लागि राखिएका पुस्तकहरुमध्ये २०६७ सालसम्म प्रकाशन भएका पुस्तकहरुमा ६० प्रतिशत र २०६८ सालदेखि यता प्रकाशन भएका पुस्तक तथा पत्रिकाको विक्रीमा ४० प्रतिशत छुट दिएको आयोजकको भनाई छ ।