हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. ले काठमाडौंको तीनकुनेमा हरित कृषि सहकारी संस्थ लि. सँगको सहकार्यमा सञ्चालनमा रहेको ‘कृषि बजार’लाई थप व्यस्थित गर्दै आधुनिक को-अपरेटिभ मार्ट सञ्चालनको तयारी गरिरहेको छ

– सुमन थापा , प्रवन्ध सञ्चालक , हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड , तीनकुने , काठमाडौं
काठमाडौंको तीनकुनेमा मुख्य कार्यालय र जोरपाटीमा सदस्य सेवा केन्द्र सञ्चालन गरिरहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. बचत तथा ऋण कारोवारसँगै कृषि बजार र एकीकृत कृषि परियोजना सञ्चालनमा लागेको छ । यिनै विषयको सेरोफेरो लगायतमा केन्द्रित रहेर सो संस्थाका प्रवन्ध सञ्चालक सुमन थापासँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. यसबेला हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. को गतिविधि के छ ?
~ हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवारलाई सहकारी ऐन , २०७४ तथा नियमावली , २०७५ अनुसार नियन्त्रण गर्दै उत्पादन तथा बजारीकरणका क्षेत्रमा लगानी बढाउदै आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा अगाडि बढ्दै छ । चालु आर्थिक वर्ष भित्रै यस संस्थाले सिञ्धुली , रामेछाप र काभ्रेपलाञ्चोक जिल्ला भित्र रहेका कृषकहरुलाई संगठित गर्दै व्यवसायिक कृषि उत्पादनमा लाग्नलाई प्रेरित गर्दैछ भने त्यस्ता कृषकहरुले उत्पादन गरेका फलफूल , तरकारी , दुग्धजन्य बस्तु र मासुजन्य बस्तुको विक्री वितरणको लागि काठमाडौंको तीनकुनेमा ‘कृषि बजार’को व्यवस्था गर्दैछ । यसैगरी यस संस्थाले सिञ्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नं. ५ , हिर्दिङ र खनियाखर्कमा बोयर जातको बाख्रा तथा स्थानीय जातको कुखुरा सहित एकीकृत आधुनिक कृषि फार्म सञ्चालन गर्दैछ ।
२. काठमाडौंको तीनकुनेमा सञ्चालनमा आएको ‘कृषि बजार’ यस संस्थाको’ आफ्नै एकल प्रयासमा हो या अरु कसैसँगको सहकार्यमा ?
~ सहकारी क्षेत्रमा सहकारी ऐन तथा नियमावलीले परिकल्पना गरेको तर हालसम्म व्यवहारिक अभ्यासमा नआइरहेको अन्तर सहकारी सहयोगलाई यस संस्थाले व्यवहारमा लागू गर्दैछ । हाल बजारीकरणको क्षेत्रमा मात्र काम गरिरहेको “हरित कृषि सहकारी संस्था लिमिटेड” सँग साझेदारी गर्दै कृषि उत्पादनहरुको बजारीकरणका लागि यस संस्थाद्वारा बिगत ६ महिनादेखि यो बजार सञ्चालनमा ल्याइएको हो । हाल सञ्चालनमा रहेको ‘कृषि बजार’ लाई यस वर्ष थप व्यवस्थित र आधुनिकीकरण गर्दै संस्थाले कृषकहरुका उत्पादनहरुको प्रशोधन , प्याकेजिङ र लेवलिङ गर्दै आफ्नै ब्राण्डमा विक्री वितरण गर्ने गरी को-आपरेटिभ मार्ट सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
३. यो ‘कृषि बजार’ सञ्चालनको लागि आर्थिक स्रोतको व्यवस्थापन कसरी गरिरहनु भएको छ नि ?
~ हालसम्म यस संस्थाले आफ्ना सदस्यहरुबाट जम्मा भएको शेयर रकमलाई नै परिचालन गर्दै आएको छ । भविष्यमा ठूलो लगानी आवश्यक परेको खण्डमा राज्यका विभिन्न निकायसँग सहुलियत दरको कर्जा र अनुदान सहयोग माग गर्ने योजना रहेको छ ।
४. यो बजार सञ्चालन गरिरहदा कुनै सजिला या अफ्ठ्यारा पक्ष केही छन् कि ?
~ यस संस्थाको आफ्नै जग्गा नहुनु र केही गर्न चाहने संस्थाहरुलाई सरकारी तवरबाट जग्गा उपलब्ध गराउने व्यवस्था नहुनुले यस खाले काम गर्न चुनौति भएको छ । व्यक्तिको निजी स्वामित्वमा रहेको जग्गा भाडामा लिदा व्यक्तिले धेरै भाडा दावी गर्ने र भाडा सम्बन्धी करार गर्दा कानून कडा नभएका कारणले जुनसुकै बखत पनि जग्गाधनीले व्यवसायमा अफ्ठ्यारो अवस्था श्रृजना गर्न सक्ने देखिएको छ । तथापि , यस संस्थामा करिव २,२०० सदस्यहरु आवद्ध भएकोमा नियमित रोजगार नभएका वेरोजगार व्यक्तिहरुमध्ये १५४ जनालाई ‘कृषि बजार’ मा व्यवसायी बनाउन सकिएको छ । धेरै कृषकहरुले कृषि पेशामा आबद्ध भई आफूले उत्पादन गरेका बस्तुहरु यो बजारमा ल्याई विक्री वितरण गर्न सक्नु भएको छ ।
५. यो बजार सञ्चालन गरिरहदा यसका सञ्चालकलाई राज्यको तर्फबाट कुनै सहयोग पनि प्राप्त भएको छ कि ?
~ यसका लागि हालसम्म यस संस्थाले राज्यबाट सहयोगको लागि कुनै पहल गरेको छैन ।
६. यो बजारमा नाफा या घाटाको अवस्था के छ ?
~ यो बजार सञ्चालनको प्रारम्भिक चरणमा नै रहेको अवस्था र व्यवसायको प्रकृति अनुसार लामो अवधिको लगानी भएका कारण तत्कालै मुनाफामा जाने व्यवसाय होइन यो । कम्तीमा ३ वर्षमा यसको लगानी उठाई त्यस पश्चात मात्र यस बजारले सदस्यहरुलाई लाभ दिने देखिन्छ ।
७. यो बजारमा रहेर व्यवसाय गरिरहेका व्यवसायीहरु यस संस्थाका सदस्य हुन् या अरु नै ?
~ यो बजारका अधिकांश व्यवसायीहरु यस संस्थाका सदस्यहरु नै हुनुहुन्छ ।
८. यो ‘कृषि बजार’को नाम त अर्कैको देखिन्छ नि ! त्यहाँ त यस संस्थाको नाम देखिदैन त ?
~ शुरुमा हरित कृषि सहकारी संस्था लि. सञ्चालक र हाम्रो यस हिलटप जुनार बहुउद्देश्यीय संस्था लि. वित्तीय सहयोगीको रुपमा रहेकोमा हाल ५०/५० प्रतिशत दुबै संस्थाको लगानी रहने गरी साझेदारी व्यवसायको रुपमा यसलाई विकास गरिदैछ भने निकट भविष्यमा नै दुबै संस्थाहरु एकीकृत हुने लक्ष्यका साथ अगाडि बढिरहेका छन् ।
९. कृषकहरुले उत्पादन गरेका बस्तुहरु यो बजारसम्म कसरी आइपुग्ने गरेका छन् नि ?
~ यसका लागि उत्पादनमा नलागी बजारीकरणमा मात्र लागेका सदस्यहरुमध्ये केही सदस्यहरुले आफ्नै निजी ढुवानीका साधन व्यवस्था गरेका छन् । तिनै सदस्यहरुले आफ्नो साधन प्रयोग गरेर उत्पादन स्थलमा नै गई सामान भुवानी गरी विक्री स्थलसम्म ल्याउने व्यवस्था मिलाएका छन् ।
१०. उत्पादन तथा बजारीकरणमा लाग्न यो संस्थालाई के ले प्रेरणा दियो र उत्पादन तथा बजारीकरणमा काम गर्न चाहने सहकारी संस्थालाई तपाईको सुझाव के छ ?
~ हामी जन्मजात कृषकका सन्तानहरु हौँ । हाम्रा परिवारका सदस्यहरुले गरेको उत्पादनले बजार नपाउँदा हामी कृषि पेशाबाट पलायन हुँदै गइरहेका छौँ ।
सिञ्धुली र रामेछापमा उत्पादन हुने जुनार समेत केही वर्ष अगाडिसम्म कुहिएर नष्ट हुने अवस्था थियो । एकातिर हामी कृषकहरु निर्वाहमुखी कार्य प्रणालीबाट माथि उठ्न नसकी खान नपुग्ने भएर रोजगार कै लागि अधिकांश मानिसहरु परदेशिनु पर्ने , अर्कातिर कृषियोग्य भूमिहरु बाँझैं बसी विदेशबाट आयातित बस्तु उपभोग गर्नु पर्ने बिडम्वनाका वीच मौलाएको बिचौलिया प्रवृत्तिले गर्दा उत्पादनमा लागेका सिमित कृषकहरुले समेत आफ्नो उत्पादित बस्तुको उचित मुल्य प्राप्त गर्न नसक्नु जस्तो बेथीतिको उचित व्यवस्थापन सहकारीको माध्यमबाट मात्र सम्भव हुने देखेर यस क्षेत्रमा यो संस्था लागेको हो ।
यस क्षेत्रमा क्रियाशील र आउन चाहने सहकारी संस्थाहरुलाई दीर्घकालीन रणनीतिक योजना , कार्यनीति र दक्ष व्यवस्थापनका साथ सदस्यहरुको प्रत्यक्ष सहभागितामा योजना बनाएर लाग्न सके मात्र सफलता प्राप्त गर्न सकिन्छ । हाम्रो आफ्नो आवश्कता समृद्धि नै हो र समृद्धि उत्पादनबाट मात्र सम्भव छ ।
११. यो बजारप्रति उपभोक्ताको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ नि ?
~ यस बजारमा सामान खरीद गर्न यस संस्थाका सदस्यहरु मात्रै नभएर सबै खाले उपभोक्ताहरु आउने गरेका छन् । यो बजार सञ्चालनको छोटो अवधिमा र यो पूर्ण रुपमा व्यवस्थित बजार भई नसकेको अवस्थामा पनि यस बजारमा रहेका व्यवसायीहरुले दैनिक रु. १०,००० देखि रु.१५,००० सम्म व्यापार गरिरहेको अवस्था छ । यसबाट नै बुझ्न सकिन्छ कि यो बजारप्रति उपभोक्ताको आकर्षण बढ्दै गइरहेको छ ।
१३. यस बजारमा आउने उपभोक्ताहरुलाई तपाईको कुनै सुझाव छ कि ?
~ आजको आवश्यकता भनेको स्वदेशी उत्पादनको उपभोग र प्रवर्द्धन नै मुख्य कुरा हो । स्वदेशी उत्पादनले पर्याप्त बजार पाउन सकेको अवस्थामा युवाहरू आफ्नै माटोमा श्रम गर्न तयार हुन्छन् । हाम्रै देशको आफ्नै माटोमा उब्जिएका बस्तुहरु हामीले खोजी-खोजी उपभोग गर्ने हो भने स्वदेशभित्रै रोजगारीका अवसरहरु सिर्जना हुन्छन् । कालान्तरमा राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन र स्वाबलम्बी राष्ट्रको रुपमा अघि बढ्न समेत स्वदेशी उत्पादन मै जोड दिनु र सहकारी संस्थाहरुद्वारा विस्तारित बजारहरुमा उपलब्ध बस्तुहरु प्रयोग गरेमा गुणस्तरीय सामान सुलभ मुल्यमा पाउन सकिन्छ । यसो हुनाले सहकारीको उत्पादन उपभोग गर्न आदरणीय उपभोक्ताहरुलाई अनुरोध गर्दछु ।
१४. सहकारी संस्थाले यस खाले बजार सञ्चालन गर्न राज्यको के कस्तो सहयोग आवश्यक हुने महसूस गरिरहनु भएको छ नि ?
~ बजारलाई आधुनिकीकरण र व्यवस्थित गर्ने सन्दर्भमा हामीसँग ढुवानी साधनको अभाव , बजारमा तापक्रम नियन्त्रण गर्ने प्रविधि र साधनको अभाव तथा कृषकहरुका मागको मात्राभन्दा बढी भएका उत्पादनहरुको प्रशोधन , स्टक राख्ने ठाउ र प्रविधिको अभाव देखिएको छ । सरकारबाट भविष्यमा सहयोग लिनु पर्दा यी र यस खाले समस्याहरुमा केन्द्रित रहेर राज्यका निकायहरुले सहयोग गर्न सके राम्रो हुने थियो ।
१५. सिञ्धुलीमा सञ्चालन हुने एकीकृत कृषि फार्मको अवस्था कस्तो छ ? त्यसप्रति स्थानीयबासीहरुको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
~ यस संस्थाले सिञ्धुलीमा सञ्चालन गर्ने कृषि फार्मको जग्गा छनौट कार्य सर्किड व्यवसायिक योजना निर्माणको चरणमा छ । करिव २ महिनामा यो योजना तयार भई कार्यान्वयनको चरणमा हामी प्रवेश गर्ने छौँ ।
यो योजना सञ्चालन हुन सकेमा स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना हुने र संस्थाले प्रयोग गर्ने प्रविधि समेत हस्तान्तरण हुने हुँदा यसप्रति स्थानीयबासीको प्रतिक्रिया सकारात्मक रहेको पाएका छौँ ।
१६. यस संस्थाको हालको वित्तीय अवस्था कस्तो छ नि ?
~ हाम्रो यस संस्थामा २,२०० शेयर सदस्यहरुले रु.३ करोड २५ लाख शेयर पूँजीको रुपमा जम्मा गर्नु भएको छ । उहाँहरुले नै बचतको रुपमा रु.१४ करोड जम्मा गर्नु भएको छ । संस्थाको जगेडा कोष र अन्य कोषहरु समेत गरी यस संस्थामा सम्पति तथा दायित्व रु.२९ करोड जति रहेको छ ।
१७. तपाईहरुलाई काम गर्न सहकारी ऐन तथा नियमावलीले कत्तिको सजिलो बनाएको छ नि ?
~ हालको सहकारी ऐन सहकारीमैत्री छैन । अझ उत्पादन र वितरणमा केन्द्रित सहकारीहरुलाई विभिन्न बहानामा अफ्ठ्यारोमा पार्ने गरी ऐन/ नियमावली व्यवस्था गरिएको छ । बहुउद्देश्यीय सहकारी संस्थामा ७०/३० प्रतिशतको मापदण्डले कैयन सहकारी संस्थाहरुलाई बन्द गर्नु पर्ने अवस्थामा पु-याएको छ भने हालको सहकारी ऐनले सहकारी संस्थाहरुको स्वायत्तता माथि अंकुश लगाएको छ ।
१८. सहकारी मर्जरबारे तपाई के भन्नुहुन्छ ?
~ सहकारी मर्जरमा जानु पर्दछ । धेरै सहकारी संस्थाहरु भएर सदस्यहरुलाई राम्रोसँग सेवा सुविधा दिन नसक्नु भन्दा प्रतिस्पर्धात्मक युगमा एकीकृत भएर सदस्य सेवामुखी हुनु आजको आवश्यकता हो ।
१९. सहकारी सन्दर्भ व्याजदरबारे तपाईको भनाई के छ ?
~ सहकारी सन्दर्भ व्याजदरका सवालमा ऐनमा भएको व्यवस्थालाई सहकारी विभागबाट अपव्याख्या गर्दै व्याजमा क्याप लगाउनु गलत हो । आधार दर तोकेर सोको सीमाभित्र रहेर काम गरे/नगरेको अनुगमन गरी कानून बमोजिम कारवाही हुने परिपाटी बसाउनु उपयुक्त हुन्छ ।