अष्टमातृका साकोस आफ्नो ११औं वार्षिक साधारणसभाले तय गरेका नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको छ

0 Shares

-गोपाल थापा मगर , प्रवन्धक , अष्टमातृका बचत तथा ऋण सहकारी संस्था लि. , धोबिघाट रिड्गरोड , ललितपुर

 

ललितपुरको धोबिघाट रिङरोडमा सञ्चालन भइरेको अष्टमातृका बचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारणसभा २०७६ असोज ११ गते सम्पन्न भइसकेको छ । सो संस्थाले गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सहकारी सञ्जालले उक्त संस्थाका प्रवन्धक गोपाल थापा मगरसँग कुराकानी गरेको छ । जो यस प्रकार छ ।

१.यतिबेला अष्टमातृका साकोसको गतिविधि के छ ?

~ यस संस्थाको ११औं वार्षिक साधारणसभा समयमा सम्पन्न भई सकेको छ । यतिबेला हामी सो साधारणसभाले तय गरेका नियमित कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।

हाम्रो यस संस्थाले नेफ्स्कूनको कप्स ब्राण्डक़ो सदस्यता  लिएकोले नेफ्स्कूनको नीति /नियम अनुसार यो अगाडि बढिरहेको छ । यस संस्थाको संयोजकत्वमा कप्स ब्राण्ड सम्बन्धी तालिम एवम् शिक्षा आदान प्रदान गर्न विभिन्न सहकारी संस्थाहरुलाई समेत आवद्ध गराई २०७६ पौष ११ गते कार्यक्रम सञ्चालन गर्ने  यस संस्थाको सञ्चालक समितिले निर्णय गरेकाले त्यसको तयारी हुदैछ ।

२. यस संस्थाको शेयर पूँजी , शेयर सदस्य , निक्षेप संकलन र कर्जा प्रवाह कति छ ?

~ २०७६ कार्तिक मसान्तसम्म यस संस्थाको शेयर सदस्य ६८८ जना , शेयर पूँजी रु.१ करोड २४ लाख , निक्षेप संकलन रु.२३ करोड र कर्जा लगानी (वित्तीय लगानी सहित) रु.१८ करोड , जगेडा तथा अन्य कोष रु. १ करोड ४० लाख र आम्दानी रु.८ लाख रहेको छ ।

३. यस संस्थाले सामाजिक क्षेत्रमा के कस्तो योगदान पु-याइरहेको छ नि ?

~ विगतदेखि नै यस संस्थाले आफ्ना सदस्यहरु बीचमा वित्तीय कारोवार सञ्चालन गर्नुका साथै आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गरिरहेको छ । यसले विगतमा स्वास्थ्यका क्षेत्रमा अष्टमातृका पोलिक्लिनिकको माध्यमबाट विभिन्न प्रकारका रोग निवारणको लागि नि:शुल्क उपचार गर्ने कार्यक्रमहरु पनि गरेको थियो । त्यसैगरी यसले सरसफाई लगायतका कार्यक्रमहरु गर्नुका साथै  ट्राफिक (यातायात) व्यवस्थापनका लागि पनि सहयोग गरी सेवा प्रदान गरेको थियो । त्यस्तै शिक्षा क्षेत्रमा पनि यसले  विगत १० वर्षदेखि निरन्तर रुपमा ललितपुर जिल्लाको श्री पञ्चकुमारी प्राथमिक विद्यालय अफडोल ,सुन्दरीघाट र श्री सञ्चेतना प्राथमिक विद्यालय धोबिघाट , ढुङ्गेधाराका कक्षा १ देखि ५ सम्मका प्रथम , द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारको व्यवस्था गर्दै आइरहेको छ । त्यसैगरी यस संस्थाले विगत ८ वर्षदेखि  एस.ई.ई.परीक्षामा उत्कृष्ट जी.पी.ए.  ल्याई उत्तीर्ण हुने विद्यार्थीहरुलाई नगद तथा सम्मान-पत्र प्रदान गर्दै आइरहेको छ । यसले विगत ७ वर्षदेखि ७५ वर्ष उमेर माथिका जेष्ठ जेष्ठ सदस्यहरुलाई दोसल्ला ओढाई नगद प्रदान गरी सम्मान गर्दै आएको छ  । यसै संस्थाका उत्कृष्ट कर्मचारी ,, उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य तथा समाजमा विशेष योगदान गरेका व्यक्तित्वहरुलाई पनि विशेष सम्मान गर्दै आइरहेको छ ।

४. यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरी कुनै कार्यक्रम पनि सञ्चालन गरेको छ कि ?

~ आफ्ना शेयर सदस्यरुको हितलाई ध्यान दिएर उहाँहरुलाई सामाजिक , आर्थिक तथा सांस्कृतिक रुपमा समृद्ध बनाउन बेला बेलामा सहकारी सम्बन्धी शिक्षा तथा अभिमुखीकरण कार्यक्रम र तालिम जस्ता कार्यक्रम गर्दै आएको छ । त्यसैगरी यस संस्थाले आफ्ना सदस्यहरुको विभिन्न क्रियाकलापहरुको  अनुभवहरु आदान प्रदान गर्न बनभोज जस्ता कार्यक्रम पनि गर्ने गरेको छ ।

५. सहकारी सन्दर्भ व्याजदर बारे तपाईको भनाई के छ ?

~ सहकारी सन्दर्भ व्याजदर सहकारीको सिद्धान्त विपरीत छ तर संस्थाका सदस्यहरुलाई कर्जा लिदा सजिलो र सस्तो पर्ने भएकोले यसलाई हाम्रो संस्थाले सकारात्मक रुपमा लिएको छ ।

६. सहकारी मर्जरबारे तपाईको धारणा के छ ?

~ उद्देश्य मिल्ने सहकारी संस्थाहरु मिल्नु राम्रो देखिन्छ । त्यसका लागि दवावले भन्दा पनि बैंक मर्जरको घटनाबाट पाठ सिकेर नेपाल राष्ट्र बैंक स्वयंले पछिल्लो समय बैंकहरु मर्जरको लागि विशेष सुविधा सहितको प्याकेज ल्याएर तिनीहरुलाई आफै मर्जर हुन प्रोत्साहन गरे जस्तै गरी सहकारी मर्जरका लागि सरकारले विशेष प्याकैज ल्याई तिनीहरुलाई मर्जर हुन प्रोत्साहन गर्नु आवश्यक छ ।

७. साकोसहरुका लागि सरकारले के गर्नु पर्ला नि ?

~ सरकारले साकोहहरुको लागि लगानीका क्षेत्रहरुमा उत्पादन सहित विभिधीकरण गरी लगानी गर्ने वातावरण निर्माण गर्नु पर्ने देखिन्छ । हाइड्रो , उर्जा , पर्यटन , कृषि , सम्भावित उद्योग आदिमा राज्यले सहकारीलाई पनि सहभागी गराई देशका लागि योगदान गर्ने वातावरण बनाउनु पर्ने देखिन्छ ।

८. कोपोमिस बारे तपाई के भन्नुहुन्छ नि ?

~ कोपोमिस आवश्यक देखेर हाम्रो यो संस्था यसमा आवद्ध भइसकेको छ । सहकारीका माध्यमले गलत फाइदा उठाउन खोज्नेहरुलाई कोपोमिसले नियन्त्रण गर्न खोजेको देखिएको छ । यो आवश्यक छ तर यसले सहकारी संघ/संस्थाहरुको गोपनीयता कायम राख्नु अति जरुरी छ ।

९. सहकारीको विकासका लागि राज्यले के  गर्नु पर्ला ?

~ राज्यले विभिन्न किसिमका सुविधा सहितको कार्यक्रम ल्याएर सही ढंगले  कार्यान्वयन गरेमा सहकारीको विकास हुने र यसले देशको समग्र विकासमा टेवा पु-याउन सक्ने देखिन्छ । यसका लागि कुनै पनि उद्योगमा लगानी लगानी गर्दा सहकारीलाई सजिलै दर्ता गर्न सक्ने र उत्पादनका काम गर्दा त्यसलाई ५ देखि १० वर्ष कर सम्बन्धी सुविधा दिनु पर्ने देखिन्छ र सहकारी संस्थाहरुले गरेका उत्पादनहरुको खपत गर्ने जिम्मेवारी बहन गर्ने ज्ञारेण्टी सबै तहका सरकारले लिनु आवश्यक छ ।

१०. अन्तमा केही भन्नु छ कि ?

~ सहकारीका लागि विभिन्न किसिमका ऐन/नियमावली आइरहेको छन् । यी सहकारी मैत्री हुनु आवश्यक छ । सहकारीको मूल्य र मान्यता अनुसार सञ्चालन भइरहेका सहकारीहरुको विकास र प्रवर्द्धनका लागि राज्यले कार्यक्रम अगाडि बढाओस् ।

 

Leave a Reply