पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि.ले एकीकृत रुपमा कृषि तथा पशुपञ्छीपालन कार्यक्रम सञ्चालन गरिरहेको छ

0 Shares

दिनेश थापा , अध्यक्ष , पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड , मगरगाउँ पिपलबोट , ललितपुर

 

 

ललितपुर महानगरपालिका – १८ , मगरगाउँ पिपलबोटमा रहेको पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लि. ले बचत तथा ऋण कारोवार सँगै एकीकृत रुपमा कृषि तथा पशुपञ्छी पालन कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रम लगायतका विषयमा सोही संस्थाका अध्यक्ष दिनेश थापासँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको थियो । जो यस प्रकार छ ।

१.  यतिबेला पिपलबोट सहकारी संस्था लि. को गतिविधि के छ ?

~ स्थानीय समुदायमा आधारित पिपलबोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो नियमित कार्य सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा हाम्रो यो संस्था यतिबेला आफ्नो १२औं वार्षिक साधारणसभाको तयारीमा केन्द्रित छ ‌ ।

२.. बचत तथा ऋण कारोवार बाहेक यो संस्थाले अरु पनि कुनै कार्य गर्दैछ कि ?

~ ललितपुर महानगरपालिका वडा नं. १८ र २१ को खोकनाफाँटमा विगत १ वर्षदेखि यस संस्थाले  एकीकृत रुपमा कृषि तथा पशुपञ्छी पालन  सञ्चालन गरिरहेको छ ।

३.  यो कृषि तथा पशुपञ्छी पालनबाट कस्तो लाभ पाइरहनु भएको छ नि ?

~ हाम्रो यस संस्थाले सञ्चालन गरिरहेको कार्यक्रम वित्तीय नाफा / घाटालाई हेरेर नभई सदस्यहरुको सेवा र सुविधाको लागि गरेको हो । यतिबेला त्यसमा लगानी नै बढाउने कार्य भइरेको छ ।

४. यस कार्यक्रमप्रति स्थानीयबासीहरुको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ नि ?

~ यसप्रति उहाँहरुको सकारात्मक धारणा प्राप्त भइरहेको छ ।  त्यहाँ विषादीरहित तरकारी उत्पादन गरी विक्री वितरण भइरेको छ । यसका साथै गाई भैसीको शुद्ध दूध , अण्डा र खसी तथा कुखुराको मासु उत्पादन तथा विक्री वितरण संस्था कै सदस्य केन्द्रित भएर गरिदै छ ।

५. यो कार्यक्रम कत्रो आयातनमा सञ्चालन भइरहेको छ ?

~ यो कार्यक्रम १५ देखि २० रोपनी जग्गामा सञ्चालन भइरेको छ । यसले यस संस्थाका सदस्यहरुमा उत्साह प्रदान गरिरहेको छ ।

६. यो संस्था त्यो कार्यक्रममा कसरी प्रवेश ग-यो नि ?

~  कृषिजन्य परनिर्भतालाई केही हदसम्म  भए पनि कम गर्न र मिसावटरहित ताजा तथा शुद्ध खानेकुरा उत्पादन गरी आफ्ना सदस्य लगायतका सरोकारवालाहरुलाई विक्री गर्ने उद्देश्यले यस संस्थाले यो कार्यक्रम अगाडि बढाएको छ ‌।

७. यो कार्यक्रम गरिरहदा संस्थालाई परेको समस्या केही छ कि ?

~ यसमा परेको समस्या भनेको वित्तीय समस्या र जग्गा महङ्गो हुनु नै हो ।

८. यो कार्यक्रम सञ्चालन भइरहदा सरकारबाट पनि सहयोग प्राप्त भएको छ कि ?

~ यस कार्यक्रममा हालसम्म  कसैबाट पनि सहयोग प्राप्त भएको छैन । सरकारले उत्पादनमूलक कार्य गर्ने सहकारी संस्थालाई प्राविधिक तथा उन्नत जातका बीऊ विजन सहित आवश्यक सहयोग गरी दिए हुन्थ्यो ।

९. कृषि लगायतका उत्पादन मूलक कार्य गरिरहेका र गर्न चाहने सहकारी संस्थाहरुलाई तपाईको के सुझाव छ नि ?

~ उहाँहरु उत्पादनमा लाग्नु भएको छ या लाग्न खोज्दै हुनुहुन्छ भने विचौलिया नराखी प्रत्यक्ष सदस्यहरु तथा सरोकारवालाहरुलाई विक्री वितरण गर्नु उपयुक्त हुन्छ ।

१०. यो कार्यक्रम बाहेक यस संस्थाले  अरु पनि कुनै कार्यक्रम गर्दै छ कि ?

~ यस बाहेक विभिन्न रेमिट कम्पनीहरुसँग सहकार्य गरी यस संस्थाले आफ्ना सदस्यहरु लगायतका सेवाग्राहीहरुलाई रेमिट सेवा प्रदान गरिरहेको छ ।

यसैगरी यसले  किसानहरुलाई लक्षित गरी पशुपालनको लागि आवश्यक पर्ने खाद्य सामाग्री भुसा विक्री गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

११. यो संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप र कर्जा लगानु कति छ नि ?

~ यस संस्थामा शेयर सदस्य ३०० जना , शेयर पूँजी रु. ७० लाख , निक्षेप संकलन रु.५ करोड र कर्जा लगानी रु.४ करोड रहेको छ ।

१२. सहकारी सन्दर्भ व्याजदर बारे तपाई के भन्नुहुन्छ नि ?

~ खासमा सहकारी संस्थाहरुले कम व्याजदरमा ऋण प्रवाह गर्नु पर्ने देखिन्छ । हामी पनि त्यही चाहन्छौ तर निक्षेपमा सहकारीका सदस्यहरु बैंक तथा वित्तीय संस्थाको भन्दा बढी व्याज खोज्नु हुन्छ । जसले सहकारीलाई अफ्ठ्यारो बनाएको छ । यत्ति नै भनेर सहकारी सन्दर्भ व्याजदर तोक्नु भन्दा बचत र ऋणको अन्तरलाई आधार बनाउदा उपयुक्त हुन्छ ।

१३. सहकारी मर्जरबारे तपाईको भनाई के छ ?

~ सहकारी मर्जर आवश्यक छ । सबै तहका सरकारले यसका लागि उचित वातावरण तयारी गरी सहकारी संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गर्नु पर्दछ ।

१४. कोपोमिस बारे तपाई के भन्नुहुन्छ ?

~ कोपोमिस के हो भनेर सरोकारवाला पक्षलाई सरकारी निकायले राम्रोसँग बुझाउन सक्नु परो र त्यसको प्राविधिक सहितको आवश्यक ज्ञान प्रदान गर्नु पर्दछ । सँग सँगै यसले सहकारी संस्थाहरु र तिनका सदस्यहरुको गोपनीयता कायम राख्नु पर्दछ ।

१५. कर्जा सूचना केन्द्र बारे तपाईको धारणा के छ ?

~ कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण जति सक्दो चाडो सञ्चालनमा आउनु पर्दछ ।

१६.  सरकारले सहकारीको विकास र प्रवर्द्धनका लागि के गर्नु पर्ला जस्तो लाग्छ तपाईलाई ?

~ सरकारले सहकारी मैत्री ऐन, नियमिवली र निर्देशिका जारी गरी सहकारीको विकास हुने वातावरण बनाउनु पर्दछ ।

 

Leave a Reply