नवदुर्गा साकोस , ठेचोको १०औं वार्षिक साधारणसभा सम्पन्न , १० वर्ष सेवा अवधी पूरा गरेका कर्मचारीहरु सम्मानित
ललितपुरको गोदावारी नगरपालिका १२ , ठेचोमा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि.को १०औं वार्षिक साथारण सभा प्रदेश नं. ३ का प्रदेश सभासद राजकाजी महर्जनको प्रमुख आतिथ्यता , गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको विशेष आतिथ्यता र सोही स़ंस्थाका अध्यक्ष न्हुछेराम महर्जनको अध्यक्षतामा २०७६ मंसीर ७ गते डी.जी पार्टी प्यालेस , ठेचोमा सम्पन्न भयो ।
उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि महर्जनले स्थानीय समुदायमा आधारित यस नवदुर्गा साकोसले गरिरहेको वित्तीय प्रगति तथा आर्थिक , सामाजिक तथा सास्कृतिक क्षेत्रमा पु-याइरहेको योगदान देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले सहकारीलाई वित्तीय कारोवारका साथै उत्पादनमूलक क्षेत्रमा लाग्ने वातावरण बनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो । त्यस अवसरमा गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यस नवदुर्गा साकोसले बचत र ऋण कारोवारसँगै स्थानीय कला र संस्कृतिको जगेर्ना तथा आफ्ना सदस्यहरूको जीवनस्तर माथि उठाउन गरिरहेको प्रयास प्रशंसनीय रहेको बताउदै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । उक्त अवसरमा प्रदेश नं. ३ सहकारी संघ लि. तथा जिल्ला सहकारी संघ लि. ललितपुरकी सदस्य अम्बिका थापा , ललितपुर जिल्ला बचत तथा ऋण सहकारघ संघ लि. का सचिव श्यामकृष्ण महर्जन लगायतले सो संस्थाले सामाजिक तथा आर्थिक क्षेत्रमा गरिरहेको योगदानको प्रशंसा गर्दै त्यस संस्थाको प्रगतिको कामना व्यक्त गर्नु भएको थियो । 
सोही संस्थाका उपाध्यक्ष अजय मालीले स्वागत मन्तव्य र सचिव वसन्त मालीले सञ्चालन गर्नु भएको त्यस सभामा उक्त संस्थाका अध्यक्ष न्हुछेराम महर्जनले सो संस्थाको वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष राजु मालीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक बैकुण्ठ मालीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । त्यस साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा शेयर पूँजी रु.१,५१,९१,००० , निक्षेप संकलन रु.८,१७,८६,८०५/२१ , आर्थिक लगानी रु.६,०८,५५,३२४/३६ , शेयर सदस्य संख्या ७६६ र खुद नाफा रु.३१,४९,८२३/९० रहेको उल्लेख गरिएको छ ।
आसपासका सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको त्यस सभामा उत्कृष्ट शेयर सदस्य रामदेवी माली , उत्कृष्ट विशेष बचतकर्ता सदस्य हंशमान डंगोल , उत्कृष्ट आवधिक बचतकर्ता सदस्य धर्मराज महर्जन , उत्कृष्ट नियमित बचतकर्ता सदस्य विणा माली , असल धितो कर्जा ऋणी सदस्य पार्वती नेपाल , उत्कृष्ट सामुहिक जमानी ऋणी सदस्य सविना सिल्पकार तथा १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरु क्रमश: लेखा अधिकृत कल्पना माली र कार्यालय सहयोगी विणा मालीलाई सम्मान गरिएको थियो ।
