करुणा साकोसको ११औं वार्षिक साधारणसभा सम्पन्न , कूल कारोवार रु.२२,३८,७३,९११

0 Shares

ललितपुर महानगरपालिका -१४ , पीप्पलबोट , ताल्चिखेल , सातदोवाटोमा रहेको करुणा बचत तथा ऋण सहकारी संस्था लि. को ११औं  वार्षिक साधारणसभा राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यता , सोही बैंकका सञ्चालक सदस्य तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईको विशेष आतिथ्यता र उक्त संस्थाका अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा हिजो किसमिस पार्टी प्यालेस , महालक्ष्मीस्थान , ललितपुरमा सम्पन्न भयो । त्यस साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि उप्रेतीले यस करुणा बचत तथा ऋण सहकारी संस्था लि. को सबै सुचाङ्क हेर्दा यो संस्था राम्रोसँग अगाडि बढिरहेकोले यो संस्थाका सदस्यलाई ढुक्क भएर यस संस्थामा सबै वित्तीय कारोवार गर्न आग्रह गर्नुभयो ।

उहाँले सहकारी संस्थाहरुको सञ्चालक टिमले राम्रो कार्यक्रम बनाउने , त्यसलाई व्यवस्थापन पक्षले राम्रोसँग कार्यान्वयन गरी सञ्चालन गरेका तथा नीति , ऐन र नियमावली मित्र रहेर ८० प्रतिशतभन्दा माथि आर्थिक सूचाङ्क पूरा गरेका सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंक लि. ले विना धितो न्यूनतम व्याजदरमा ऋण प्रवाह गर्ने नीति लिएको  बताउनुभयो । त्यस अवसरमा विशेष अथिति बजगाईले सबै सुचाङ्कहरुले यो संस्था राम्रोसँग प्रगतिपथमा अगाडि बढिरहेको देख्ता खुशी लागेको छ भन्दै यस संस्थाका सदस्यहरु अन्यत्र पनि सदस्य रहेको भए सहकारी ऐन , २०७४ मा व्यवस्था भए अनुरुप एउटा स्थानीय तहभित्र एक जना व्यक्ति एउटा मात्रै सहकारी संस्थाको सदस्य बन्न पाउने प्रावधान अनुसार अन्यत्रको सहकारी संस्थाको सदस्यता त्यागेर यस संस्थामा ढुक्क भएर सबै कारोवार गर्न आग्रह गर्दछु भन्नुभयो ।

उहाँले यस संस्थाले आफ्ना संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला अक्षय कोष , २०७६ बनाएकोप्रति प्रशन्नता व्यक्त गर्दै आफू रहेको प्राम्भिक सहकारी संस्थामा पनि आफूले संस्थापक अध्यक्ष रामहरि बजगाई अक्षय कोष निर्माण गरेको बताउनुभयो । ललितपुरमा लहैलहै र देखाशिखीमा खुलेका , राम्रो आम्दानी गर्न र देश विदेश घुम्न पाइने व्यापारिक उद्देश्यले खुलेका र करुणा साकोस जस्तै समुदायमा आधारित रही सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गरी सदस्यहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले सञ्चालन भइरहेको देखिएको छ तर समुदायमा आधारित रही सहकारीको मूल्य र मान्यता अनुरुप सञ्चालनमा रहेका सहकारी संस्थाहरु अरु प्रबृत्तिका सहकारी संस्थाहरुबाट ओजेल परेको देखिएको उहाँको भनाई छ । उहाँले  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफै , राष्ट्रिय सहकारी बैक तथा नेफ्स्कूनसँग मिलेर ललितपुरका साकोसहरुको स्थायित्व र दिगो विकासका लागि योजनाबद्ध ढंगबाट कार्य अगाडि बढाउने बताउनुभयो । त्यस अवसरमा महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधि

लगायतले उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो ।

सो संस्थाका उपाध्यक्ष दिलबहादुर श्रेष्ठले स्वागत मन्तव्य र कर्माचारी शान्ती सिञ्जाली मगरले सञ्चालन गर्नु भएको उक्त सभामा सोही संस्थाका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले त्यस संस्थाको वार्षिक प्रतिवेदन गर्दै “सहकारी पद्दती अपनाऔँ , गरिवी र बेरोजगारी हटाऔँ” भन्ने मूल नारालाई आत्मसाथ गर्दै ६० जना शेयर सदस्यहरुबाट स्थापना भएको यस करुणा बचत तथा ऋण सहकारी संस्था लि.ले प्रत्येक वर्ष शेयर सदस्य विस्तार गर्ने लक्ष्य बमोजिम आजसम्म १,३२१ जना शेयर सदस्य पुगेको र यसलाई अझ बृद्धि गरी २०८० सम्ममा ५,००० पु-याउने लक्ष्य लिइएको बताउनुभयो ।

उहाँले गत आर्थिक वर्षबाट शुरु गरिएको यस संस्थामा आवद्ध शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये  जेहेन्दार , मेहनती र अनुशासित तथा ग्रेडका आधारमा एस.ई.ई. परीक्षा मा A+ ल्याई उत्तीर्ण २ जना विद्यार्थीहरुलाई जनही रु.१०,००० नगद पुरस्कार प्रदान गर्ने गरी यस संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला अक्षय कोष , २०७६ स्थापना गर्ने बताउनुभयो । यस आर्थिक वर्षमा नेपाल सरकार अन्तर्गतको युवा तथा साना व्यसायी स्वरोजगार कोषद्वारा लगानी गरिने स्वरोजगार कर्जा माग गरी उत्पादित कृषि तथा पशुपालन व्यवसायमा तोकिएको मापदण्ड अनुसार लगानी गरिने , यस संस्थामा आबद्ध महिला शेयर सदस्यहरुका लागि अन्य शुल्क नलाग्ने गरी १४ प्रतिशत व्यादरमा ६ महिनासम्मको समय अवधि रहने गरी नारी बचत खाता अन्तर्गत गृहिणी कर्जा बापत रु. २०,०००  लगानी गरिने  , यस संस्थासँग समन्ववयमा रहेका विभिन्न प्रतिष्ठित सहकारी संस्थाहरुसँग अन्तर्क्रिया गरी एकीकरणको नीति लिइने , सहकारी ऐन , २०७४ अनुसार कुनै पनि शेयर सदस्य तथा बचतकर्ताहरु दोहोरो सदस्यता नदिइने , यस संस्थाले सञ्चालनमा ल्याएको जेष्ठ नागरिक बचत खाता सञ्चालन गर्नु हुने जेष्ठ सदस्यहरुलाई तीर्थाटन गराइने , शेयर सदस्य तथा बचतकर्ताहरुको सुविधालाई ध्यानमा राखी सदस्यहरुको माग बमोजिम सुविधा काउण्टर राखिने , यस संस्थाबाट लागू गरिएको KYM फाराम अनिवार्य रुपमा भरी शेयर सदस्य तथा बचतकर्ताहरुमा लागू गरिएको SMS ,प्रणालीलाई सहज बनाइने आदि कार्यक्रम लागू गरिने उहाँको भनाई छ । उक्त सभामा कोषाध्यक्ष कमला बरालले

सोही संस्थाको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक जसबहादुर राईले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । आवश्यक छलफल गरी सो सभाबाट पारित प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ त्यस संस्थामा शेयर सदस्य संख्या १,३२१ , शेयर पूँजी रु.१,४२.,५८,२०० , बचत संकलन रु.१७,४७,२३,२४० , कर्जा लगानी तथा साटी रु.१८,५३,३७,६६९ र कूल कारोवार रु.२२,३८,७३,९११ रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.१,७५,००० , सदस्यहरुबाट प्राप्त हुने बचत रु.३१,००,००,००० र खुद नाफा रु.३०,००,००० पु-याउने लक्ष्य रहेको उल्लेख छ ।

ललितपुर जिल्लामा सञ्चालनमा रहेका विभिन्न सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधीहरु एवं समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको त्यस सभामा त्यसै संस्थाका जेष्ठ सदस्यहरु पद्मराज राजभण्डारी , इन्द्रबहादुर सुनुवार , अर्जुनबहादुर खड्का , बच्चु सुवेदी , सीता खत्री र रामजीप्रसाद चापागाई , उत्कृष्ट कर्मचारीहरु उर्मिला थापा र रमेशकुमार थापालाई सम्मान गरिएको थियो । त्यसै गरी त्यस संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई. परीक्षा उत्कृष्ट जी.पी.ए. ल्याई उत्तीर्ण हुने  मनिषा कटुवाल ( शेयर सदस्य उर्मिलादेवी बसानेतकी छोरी) लाई सम्मान-पत्र तथा पुरस्कार प्रदान गरी सम्मानित गरियो । उक्त साधारणसभाको संयोजन त्यस संस्थाका सह-सचिव तथा व्यवस्थापक शिवबहादुर श्रेष्ठ लगायतले गर्नु भएको थियो । ससो सभाका अध्यक्ष बास्तोलाले प्रमुख अतिथि उप्रेतीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply