स्वागतम साकोस ,सुनाकोठीको १०औं वार्षिक साधारणसभा सम्पन्न
ललितपुर महानगरपालिकाको सुनाकोठीमा रहेको स्वागतम बचत तथा ऋण सहकारी संस्था लि.ले सुनाकोठीमा स्वागतम पार्क निर्माण गर्ने योजना अगाडि सारेको सोही संस्थाका अध्यक्ष जगतलाल महर्जनले सहकारी संञ्जाललाई बताउनु भएको छ । यस अघि सो संस्थाले सुनाकोठी चिवाहालमा स्वागतम गेट निर्माण गरेको थियो ।
सो संस्थाको १०औं वार्षिक साधारणसभा २०७६ मंसीर ७ गते ललितपुर महानगरपालिका -२७ , बालकुमारी चौर , सुनाकोठीमा सोही संस्थाका अध्यक्ष जगतलाल महर्जनको अध्यक्षतामा सम्पन्न भयो ।

सुनाकोठी थकाली आजु अर्जुन महर्जन र सुनाकोठीका जेष्ठ नागरिक तुई श्री महर्जनले उक्त साधारणसभाको उद्घाटन गर्दै त्यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यस अवसरमा विघटित संविधानसभा सदस्य तथा नेपाली काँग्रेस ललितपुर जिल्ला कार्य समिति सभापति मदनबहादुर अमात्यले शुभकामना मन्तव्य व्यक्त गर्दै यस स्वागतम साकोसले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा गरिरहेको योगदान र निरन्तर रुपमा यो संस्था प्रगतिपथमा अगाडि बढिरहेको देख्ता खुशी लागेको छ भन्दै आर्थिक समृद्धि र सामाजिक न्यायको निम्ति सहकारीले गरेको योगदान अविस्मरणीय छ भन्नुभयो ।सोही अवसरमा प्रदेश नं. ३ प्रदेश सहकारी संघ लि. का अध्यक्ष रामशरण शर्मा घिमिरे सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्दै सहकारीबाट नेतृत्व विकासको लहर र देशमा दिगो विकासको निम्ति सहकारीले गरेको योगदान अविस्मरणीय रहेको बताउनुभयो । त्यसैगरी नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का सञ्चालक सदस्य तथा बहुउद्देश्यीय सहकारी संघ लि. , ललितपुरका अध्यक्ष शरदकुमार महर्जन , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक सदस्य नरेन्द्र महर्जन लगायतले उक्त संस्थाको प्रगतिको कामना व्यक्त गर्नु भएको थियो । सोही संस्थाका सञ्चालक सदस्य उर्मिला नेपाल के.सी. ले स्वागत मन्तव्य र शेयर सदस्य राकेश महर्जनले सञ्चालन गर्नु भएको त्यस सभामा उक्त संस्थाका अध्यक्ष जगतलाल महर्जनले त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो । सोही साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा शेयर सदस्य १,१८७ , शेयर पूँजी रु.१,२७,००,५०० , निक्षेप संकलन रु.९,५६,००,२२७ , कर्जा लगानी रु.८,२१,२६,७५८ र कूल कारोवार रु.१३,११,००,००० रहेको र संस्थाले शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गरेको उल्लेख छ । त्यसै गरी उक्त प्रतिवेदनमा वचत तथा ऋण कारोवारसँगै सामाजिक , आर्थिक तथा सांस्कृतिक विकासको लागि भावी योजनाका विभिन्न कार्यक्रम तय भएका र तिनै कार्यक्रम अन्तर्गत सुनाकोठीमा सो संस्थाले स्वागतम पार्क निर्माण गर्ने योजना पनि रहेको छ ।
त्यस अवसरमा वाल बचतकर्ता कृष्ण महर्जन , यशोदा तामाङ र सिद्धार्थ लामा , उत्कृष्ट बचतकर्ता हिराकुमारी महर्जन , असल ऋणी सुरज मानान्धर , उत्कृष्ट कर्मचारीहरु अर्विना महर्जन र ललिता मल्ल , जेष्ठ शेयर सदस्यहरु र सुनाकोठीको धिमेबाजा भजन मण्डलीलाई सम्मान गरियो भने कनाथ मङ्का खल: बलुङ्गाचालाई रु.१५,००० नगद सहित सम्मान गरिएको थियो । उक्त अवसरमा लाखे नाच प्रदर्शन गरिएको थियो ।




