स्वनिग: साकोस, दुपाटको ११औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल आर्थिक कारोवार रु.३७,४४,५६,३८३/८८
ललितपुर महानगरपालिका – ७ , दुपाटमा स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको स्वनिग: बचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारणसभा ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलको प्रमुख आतिथ्यता र सोही संस्थाका कार्यवाहक अध्यक्ष हरिगोविन्द महर्जनको अध्यक्षतामा हिजो मण्डला पार्टी प्यालेस , बालकुमारी खरिबोटमा सम्पन्न भयो ।


उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि डंगोलले ललितपुर महानगरपालिका अन्तर्गतका सहकारी संस्थाहरु नीति , ऐन तथा नियमावली भित्र रहेर राम्रोसँग सञ्चालन हुनुपरो र सहकारी नीति , ऐन तथा नियमावली अनुसार सञ्चालन हुने सहकारी संस्थाहरुलाई ललितपुर महानगरपालिकाले सहयोग गर्ने बताउनु भयो । त्यस अवसरमा ललितपुर महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कुलबहादुर महर्जन लगायतले आफ्ना शेयर सदस्यहरुप्रति उत्तरदायी भई सञ्चालन भइरहेको यस स्वनिग: साकोसले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउदै यसले निरन्तर प्रगति गरिरहेको यसको आर्थिक सुचाङ्कबाट देखिएकोले यस संस्थाका सदस्यहरुले यो संस्थामा ढुक्क भएर कारोवार गर्न आग्रह गर्दै सो संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो ।
सो संस्थाका सचिव गोपालकृष्ण महर्जनले सञ्चालन र सञ्चालक सदस्य राम महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन सोही संस्थाका कार्यवाहक अध्यक्ष हरिगोविन्द महर्जनले , आर्थिक प्रतिवेदन कोषाध्यक्ष सञ्जिव महर्जनले र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सोही समितिका संयोजक हिराकाजी महर्जनले प्रस्तुत गर्नुभयो । उक्त सभाले छलफल गरी पारित गरेको प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा ६६० जना पुरुष , ७९५ जना महिला र १७ संस्थागत गरी सदस्य संख्या १,४७२ , शेयर पूँजी संकलन रु.२.१९,९८,३०० , बचत संकलन रु.३३,४१,३९,५१५/१०, ऋण लगानी रु.२९,३४,८९,९४४ , कुल आर्थिक कारोवार रु.३७,४४,५६,३८३/८८ र खुद नाफा रु.६९,६९,०७२/९६ रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.३,००,००,००० पु-याउने लक्ष्य रहेको उल्लेख छ । त्यसैगरी उक्त प्रतिवेदनमा सो संस्थाले आफ्ना सदस्यहरुलाई इ-सेवा मार्फत टेलिफोन , धारा , विजुलीको भुक्तानी सेवा उपलब्ध गराउदै आएको र अन्य सेवालाई आधुनिकीकरण गरी संस्थाको वेबसाइट मार्फत विभिन्न गतिविधि तथा सूचना उपलब्ध गराउने , संस्थाको स्थापना दिवसको उपलक्ष्यमा रक्तदान लगायतका विभिध कार्यक्रम गर्ने , यस संस्थाका महिला सदस्यहरुलाई अझ सवल र आत्मनिर्भर बनाउन ज्ञान , सीपमूलक तथा आयमूलक तालिमहरु सञ्चालन गर्दै जाने र साना व्यवसाय गर्नको निमित्त सर्वसुलभ रुपमा ऋण समेत उपलब्ध गराउदै जाने , सदस्यहरुलाई सहकारी सम्बन्धी प्रारम्भिक शिक्षा प्रदान गर्ने , संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा विभिन्न उपसमितिहरुलाई विषयगत शिक्षा तथा तालिम प्रदान गर्ने र सहकारी क्षेत्रमा उत्कृष्ट सहकारीको भ्रमण तथा अवलोकन गराउने साथै संस्थाको स्वावलम्वन र क्षमताको लागि विभिन्न कार्यशाला गोष्टि सञ्चालन गर्ने र गोष्ठी तथा तालिममा सहभागी गराउने , संस्थामा आवद्ध सदस्यहरुको महिनाको २ पटक स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण गराउने र स्वास्थ्य वीमा सम्बन्धी नीति तयार गरी अभिमुखीकरण तालीम सञ्चालन गर्दै जाने आदि भावी कार्यक्रम उल्लेख गरिएको छ ।
त्यस अवसरमा पहिलो जङ्कु { ७७ वर्ष ७ महिना ७ दिन ७ घण्टा ७ पला कटेकाको जेष्ठ नागरिक) गरेका त्यसै संस्थाका जेष्ठ सदस्यहरु रामकुमारी महर्जन , राममाया महर्जन , चिरीकाजी महर्जन , बेखमान महर्जन , ज्ञानमाया महर्जन , रत्नकुमारी महर्जन र विष्णुमाया महर्जनलाई सम्मान गरियो । त्यसैगरी सो संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. प्राप्त गर्ने न्हीला महर्जन (3.90 GPA), विगिना महर्जन (3.85 GPA) , बज्रेश महर्जन (3.80GPA) , शुभा महर्जन (3.80 GPA) , सुप्रिया महर्जन (3.80 GPA) र दीनेश गणेश(3.80 GPA) लाई पुरस्कार सहित सम्मान गरियो । यसैगरी उक्त संस्थाका कार्यवाहक अध्यक्ष हरिगोविन्द महर्जनले प्रमुख अतिथि डंगोल , आडिटर रामगोपाल महर्जन तथा सुमेरु अस्पताल , धापाखेल ,ललितपुरलाई डा.रीमा महर्जन मल्ल मार्फत मायाको चिनो प्रदान गर्नुभयो ।



