चन्द्रागिरी साकोस, थानकोटको १८ औं वार्षिक साधारणसभा सम्पन्न : १४ प्रतिशत लाभांस र संरक्षित पूँजी फिर्ता कोष पारित
चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लि. , चन्द्रागिरी नगरपालिका – ७ , थानकोट महादेवस्थान , काठमाडौंको १८ औं वार्षिक साधारण २०७६ मंसिर २१ गते शनिवार सम्पन्न भएको छ । सो संस्थाका कूल ११,४४१ जना सदस्यहरुमध्ये ७८ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको उक्त साधारणसभाले १४ प्रतिशत लाभांस र संरक्षित पूंजी फिर्ता कोष वितरणका साथै विभिन्न प्रस्तावहरु पारित गरेको छ । २०७६ असार मसान्तसम्म उक्त संस्थामा रु. १ अर्ब ७२ करोड कूल सम्पत्ति रहेकोमा सो संस्थाले रु ४ करोड २५ लाख सञ्चालन मुनाफा हासिल गर्न सफल भएको थियो भने २०७६ कार्तिक मसान्त सम्ममा संस्थाको कूल सम्पत्ति रु. १ अर्ब ९३ करोड पुग्न सफल भएको छ । आर्थिक वर्ष २०७५/०७६ को कारोवारबाट सो संस्थाले अग्रिम आयकर , बचतको ब्याजकर कट्टी , सामाजिक सुरक्षा कर लगायत विभिन्न स्रोतमा करकट्टी गरी रु १ करोड ६२ लाख रकम कर दाखिला गरी नेपाल सरकारलाई राजश्वमा योगदान गरेको छ ।
प्रमुख अतिथिको रुपमा रहनु भएका राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले चन्द्रागिरि साकोस काठमाडौं जिल्ला भित्रको नमुना सहकारी संस्था भएको हुनाले सदस्यहरुको वित्त परिचालनलाई उत्पादन र मूल्य श्रृङ्खलासँग जोडी सदस्यहरुको आर्थिक स्थितिमा सुधार ल्याउनको लागि चन्द्रागिरी साकोसलाई राष्ट्रिय सहकारी बैंक लि. को तर्फबाट कुनै पनि सहयोग गर्न तत्पर रहेको विचार व्यक्त गर्नुभयो । उहाँले सहकारी व्यवसायको अनुपम विशेषताको रुपमा संरक्षित पूँजी फिर्ता कोष अन्य कुनै पनि व्यवसायमा प्राप्त नहुने भएकोले सहकारीमा आवद्ध सदस्यहरुलाई सम्पूर्ण वित्तीय कारोवार सहकारी मार्फत नै गर्न सुझाव दिनुका साथै राष्ट्रिय सहकारी बैंकले पनि कारोवारको आधारमा संरक्षित पूँजी फिर्ता कोष प्रदान गर्ने हुँदा सहकारी संस्थाहरुले पनि सहकारी बैंकसँग ढुक्कसंग कारोवार गर्न अनुरोध गर्नुभयो । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जनताहरुका रेमिटान्स मार्फत भित्रिएका र सहकारीमा जम्मा भएको सदस्यहरुको रकमलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुनका) सञ्चालक सदस्य तथा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि.(कास्कून) का अध्यक्ष दीपक पनेरुले सहकारीहरु अब एकीकरणमा जुट्नु पर्ने धारणा राख्नु भयो । त्यस्तै चन्द्रागिरी नगरपालिका सहकारी समन्वय समितिका संयोजक केशवराज शर्माले सहकारीहरुको लक्ष्य स्मार्ट हुनु पर्ने कुरामाथि जोड दिनुभएको थियो ।
आर्थिक वर्ष २०७६/०७७ मा ब्त्ः मेशिन सञ्चालनमा ल्याउनुको साथै बैंकमा रहेका सदस्यहरुको खातामा रकम ट्रान्सफर गर्ने सुविधा थप गर्ने , अनलाईन सदस्यता र ऋण प्रदान गर्ने , चन्द्रागिरी साकोसमा मात्र सदस्य बन्ने सदस्यहरुलाई बचत र ऋणको ब्याजदरमा सुविधा र सहुलियत प्रदान गर्ने, वस्त्र संग्रह तथा वितरण केन्द्र सञ्चालन गर्ने, सदस्यहरुको स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन गर्ने , साना उद्योग तथा व्यवसाय स्थापना गरी स्वरोजगारी सृजना गर्न सहुलियत ऋणहरु प्रदान गर्ने तथा सहकारी एकीकरण र सेवा केन्द्र स्थापना गर्ने जस्ता लक्ष्यहरु राखिएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी गराउनुभयो । आर्थिक वर्ष २०७६/०७७ मा संस्थाको कुल कारोवार २ अरब २० करोड र सदस्य संख्या १३ हजार पु-याउने समेत लक्ष्य लिएको छ ।
संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले प्रस्तुत गर्नुभएको आ.व.२०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक गोविन्दप्रसाद मिश्रले प्रस्तुत गर्नुभएको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदनको साथमा विभिन्न ११ वटा प्रस्तावहरुमा सदस्यहरुका वीच छलफलका साथ पारित गरिएको छ ।
