प्रदेश ३ नं. को सहकारी सम्पर्क कार्यालय काठमाडौं उपत्यकाभित्र स्थापना हुनु आवश्यक छ !

–किरण श्रेष्ठ , प्रवन्धक , छहारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड , गोकर्णेश्वर नगरपालिका -८ , बेसींगाउँ , काठमाडौं
काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ८ बेसुंगाउँमा रहेको छहारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थानीय समुदाय आधारित भएर सञ्चालन भइरहेको छ । सोही संस्थाका प्रवन्धक किरण श्रेष्ठसँग उक्त संस्थाले गरिरहेको गतिविधि लगायतका विषयमा सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो निम्नानुसार छ ।
१. यतिबेला छहारी बहुउद्देश्यीय सहकारी संस्था लि. को गतिविधि के छ ?
~ स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस ‘छहारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ले केही समय अगाडि सम्पन्न आफ्नो २१औं वार्षिक साधारणसभाबाट तय भएका नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी ऐन/नियमावलीले तोके अनुसारको लाभांश प्रदान गरिरहेको छ ।
२. यो संस्थाको शेयर सदस्य , शेयर पूँजी , बचत संकलन , कर्जा लगानी र कूल कारोवार कति छ नि ?
~ २०७६ मंसीर २२ गतेसम्म हाम्रो यस संस्थामा शेयर सदस्य २९३ जना , शेयर पूँजी रु.८६,४९,००० , निक्षेप संकलन रु.७,२५,९६,०८३/८४ , ऋण लगानी रु.७,१०,१०,८८१ र कूल कारोवार रु.९,१०,८४,०१८ रहेको छ ।
३. यो संस्थाले बहुउद्देश्यीय कारोवार पनि गरेको छ कि ?
~ यसबेलासम्म हाम्रो यस संस्थाले बचत तथा ऋण कारोवार नै गरिरहेको छ । आगामी दिनमा बहुउद्देश्यीय कार्य गर्ने बारेमा छलफल चलिरहेको छ ।
४. यस संस्थाले सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि गरेको छ कि ?
~ सामाजिक संघ/संस्थाहरुसँग सहकार्य गरी यस संस्थाले स्वास्थ्य शिवीर , सरसफाई , रक्तदान जस्ता कार्यक्रम गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्ने योजना छ ।
५. कार्यक्षेत्रको आधारमा प्रदेश नं. ३ अन्तर्गत रहँदा यो संस्थालाई काम गर्न सजिलो या अफ्ठ्यारो के छ ?
– पहिला डिभिजन सहकारी कार्यालय , काठमाडौं अन्तर्गत रहँदाको तुलनामा भन्दा यतिबेला प्रदेश नं. ३ अन्तर्गत हाम्रो यो संस्था रहिरहदा हामीलाई काम गर्न धेरै अफ्ठ्यारो भइरहेको छ । यहाँबाट दुरीको हिसावले हेटौंडा टाढा हुनु , आवश्यक भौतिक पूर्वाधारको अभाव , पर्याप्त कर्माचारी नहुनु र सहकारीका लागि त्यहाँ आवश्यक प्रविधि नभइदिदा हामीलाई काम गर्न कठिनाई महसुस भइरहेको छ । प्रदेश नं. ३ को सहकारी सम्पर्क कार्यालय काठमाडौं उपत्यकामित्र स्थापना हुनु आवश्यक छ ।
५. सहकारी मर्जरबारे तपाईको धारणा के छ नि ?
~ उद्देश्य , योजना तथा कार्यक्रम मिल्ने सहकारी संस्थाहरु वीच एकीकरण हुनु राम्रो हो तर राज्यले विशेष कार्यक्रम नबनाई त्यत्तिकै जब्बरजस्ती सहकारी एकीकरण गर्नु हुदैन ।
६. कोपोमिसबारे तपाईको भनाई के छ नि ?
~ राज्यको सम्बन्धित निकायले कोपोमिस बारेमा आवश्यक तालिम प्रदान नगरेकाले हामी त्यसबारेमा केही भन्न सक्ने अवस्थामा छैनौँ । कोपोमिस बारेमा सहकारी संस्थाहरुलाई राज्यका सम्बन्धित निकायले आवश्यक तालिम प्रदान गर्नु जरुरी छ ।
७. राज्यले बहुउद्देश्यीय सहकारी संस्थाको लागि कस्तो नीति तथा कार्यक्रम अगाडि बढाउनु पर्ला ?
~ राज्यले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई बहुउद्देश्यीय कार्य गर्नलाई आवश्यक पूर्वाधारको विकास र उचित वातावरण बनाउनु आवश्यक छ । सरकारले यो दिशामा केन्द्रित रहेर सहकारीमैत्री नीति , कार्यक्रम , ऐन र नियमावली बनाएर राम्रोसँग कार्यान्वयन गरोस् ।
८. अन्तमा केही भन्नु छ कि ?
~ राज्यले सहकारीको विकास र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम अगाडि बढाओस् र त्यसको कार्यान्वयन ठिक ढंगबाट गरोस् । राम्रो काम गर्ने सहकारीलाई सम्मान गर्ने र सहकारीको आवरणमा खराब काम गर्नेलाई दण्डित गर्ने परिपाटीको विकास होस् ।