मध्यपुर थिमि , साकोसले पेन्सन बचत योजनामा सहभागी सदस्यलाई प्रत्येक महिना रु.५ हजारका दरले आजीवन पेन्सन भुक्तानी गर्ने छ

0 Shares

-कृष्णकाजी मानन्धर , अध्यक्ष , मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि., शंखधरचोक , भक्तपुर

भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ४ , शंखधरचोकमा रहेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि. ले मोवाइल बैङ्किङ्ग सेवा तथा पेन्सन बचत तथा उच्च शिक्षा बचत जस्ता बचत योजना अगाडि बढाएको बताइरहेको छ । यी सहितका समसामयिक विषयमा सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले सोही संस्थाका अध्यक्ष कृष्णकाजी मानन्धरसँग कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

१. यसबेला मध्यपुर थिमि साकोस के गर्दैछ ?
~ यो वर्षको हाम्रो कार्य योजना भनेको आफ्ना शेयर सदस्यहरुलाई सहज र सुलभ तरिकाले सुविधा दिदै कारोवार गर्ने वातावरण बनाउने ढंगबाट काम भइरहेको छ ।
२. तपाईले भनेको सहज र सुलभ तरिकाले सुविधा दिने भनेको के हो ?
~ हामीले यस संस्थाका शेयर सदस्यहरुलाई मोवाइल बैङ्किङ्ग सेवा शुरु गरेका छौँ । यसलाई सदस्यहरुले लागू गरेपछि यसै मार्फत विजुली , खानेपानी , टेलिफोन , मोवाइल , डिस्होम , सिमटिभी र इन्टरनेटको विल भुक्तानी गर्न सकिने छ ।
३. यो सेवा लिने चाहिँ कसरी हो नि ?

~ यो सेवा शुरु गर्न यस संस्थामा एउटा निवेदन दिई सकेपछि संस्थाले तय गरेको न्युनतम शुल्क तिरेर आ-आफ्नो एन्ड्रोइड मोवाइलमा संस्थाको एप्लिकेशन इन्स्टल गरेर चलाउन सकिने छ । यो सिष्टमको प्रयोग शुरु भइसकेपछि यसको सहायताले सदस्यहरुद्वारा यस संस्थामा भएको आफ्नो खाताभित्रको वित्तीय विवरणको जानकारी लिनेदेखि लिएर अन्य सदस्यलाई यसै सिष्टमद्वारा मोवाइल मार्फत पैसा भुक्तानी गर्न सकिने छ ।

४. यो सुविधा तपाईहरुले किन र कसरी लागू गर्नु भयो ?
~ जमाना आधुनिक भएकोले पुरानो प्रविधिमा बसेर कारोवार गर्नुभन्दा आधुनिक प्रविधिलाई आत्मसाथ गरी काम गर्न पर्ने आजको समयको माग हो । यसलाई बुझेर हाम्रो यस संस्थाको सञ्चालक समितिले यो संस्थाको १२औँ वार्षिक साधारणसभाबाट यो शुरु गर्ने घोषणा गरे बमोजिम २०७६ मंसीर १ गतेदेखि यो सेवा शुरु भएको छ । यसमा यस संस्थाकग शेयर सदस्यहरुको आकर्षण बढ्दो छ ।
५. यो संस्थाको अरु योजना चाहिँ के छ नि ?
~ यो संस्थामा आफै पनि बचत तथा ऋण सहकारी संस्था भएकोले बचत तथा ऋण कारोवार गर्ने बाहेक अन्य उद्देश्य राख्ने त कुरै भएन । बचतमा पनि नयाँ-नयाँ योजना लागू गर्दैछौँ । यसमा (१) आजीवन पेनसन बचत (२) उच्च शिक्षा बचत (३) नियमित विशेष बचत (४) लखपती बचत (५) खुत्रुके बचत र (६) जेष्ठ बचत छन् । यसमा आजीवन पेन्सन बचत र उच्च शिक्षा बचत नयाँ बचत योजनाको रुपमा रहेका लागू गरेका छौँ । यसैगरी ऋणमा पनि सुविधा ऋण , व्यवसायिक ऋण , कृषि ऋण , हायर पर्चेज ऋण , शिक्षा ऋण लगायत छन् । यसमध्ये व्यवसायिक ऋण योजना प्रभावकारी ढंगबाट अगाडि बढिरहेको छ ।

६. आजीवन पेन्सन बचत , उच्च शिक्षा बचत र लखपति बचत योजना भनेको हो ?
~ हाम्रो यस संस्थाको आफ्नो कार्यक्षेत्र भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिका हो । यो नगरमा अधिकांश नेवार समुदायको बसोबास छ । नेवार समुदायका अधिकांशले जागीर नखाई व्यापार व्यवसाय गर्ने भएर उनीहरुको राज्यबाट पेन्सन आउने अवस्था नरहने भएकोले यो पेन्सन बचत योजना लागू गरेका छौँ । यसको लागि मासिक रु.५ हजारका दरले ५ वर्षसमाम नियमित रुपमा बचत गर्नु पर्ने हुन्छ । यो योजनामा सहभागी भएर नियमित रुपमा प्रति महिना रु.५ हजारका दरले ५ वर्षसम्म बचत गर्ने बचतकर्ताले ७ वर्षपछिआजीवन रुपमा मासिक रु.५ हजार कै दरले यस संस्थाबाट भुक्तानी पाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी उच्च शिक्षाको लागि नर्सरीदेखि कक्षा ८ सम्म अध्ययन गर्ने भाइबहिनीहरुले रु.७६० देखि रु.८,१३० सम्म मासिक रुपमा यस संस्थामा जम्मा गर्ने र सो जम्मा गरेको रकमबाट यस संस्थाले सम्बन्धित विद्यार्थीलाई कक्षा ११ देखि माथिको तहको अध्ययन गर्न ६ वर्षसम्म प्रत्येक महिना रु.३,५०० का दरले नगद भुक्तानी गर्ने व्यवस्था गरेको छ । यस योजनामा जम्मा गर्ने रकमको दर भने यस योजनामा सहभागिताको समयको आधारमा कक्षा पिच्छे फरक हुनेछ । जस्तै कक्षा ८ मा अध्ययन गर्नेले २ वर्ष र नर्सरीमा अध्ययन गर्ने विद्यार्थीले १० वर्षसम्म बचत गर्नु पर्ने भएकोले बचत गर्ने समयको आधारमा बचत दर फरक रहने हो ।
यसैगरी प्रति महिना रु.१ हजारका दरले नियमित रुपमा ७० महिनासम्म बचत गर्ने बचतकर्ताले ७१औँ महिनामा रु.१ लाख एकमुष्ट प्राप्त गर्ने गरी यस संस्थाले लखपति बचत योजना अगाडि बढाएको छ ।
यस संस्थाको सबै शीर्षकका बचतहरुको लागि भुक्तानी घरमै बसेर मोवाइल बैङ्किङ्गको सुविधा मार्फत गर्न सकिने व्यवस्था गरिएको छ । यी लगायतका कार्यक्रम सञ्चालन गर्दै संस्थाको समग्र आर्थिक कारोवार बढाइने छ । चालु आर्थिक वर्षमा रु.१२ करोडसम्म कारोवार पु-याउने लक्ष्मका साथ काम भइरहेको छ । यस वीचमा कर्मचारीहरुको क्षमता अभिबृद्धि , सदस्यहरुलाई सम्बन्धित समस्याको उपचार र मनोवैज्ञानिक परामर्श दिइने छ ।

७. यस संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन , कर्जा लगानी र कूल कारोवार कति छ नि ?
~२०७६ मंसीर २४ गतेसम्म यस संस्थामा शेयर संख्या १,१८८ , शेयर पूँजी रु.१ करोड २० लाख , निक्षेप संकलन रु.८ करोड ८३ लाख ३२ हजार र कर्जा लगानी रु.७ करोड ६ लाख रहेको छ ।
सहकारी सन्दर्भ व्याजदर बारे तपाई के भन्नुहुन्छ ?
~ सहकारी सन्दर्भ व्याजदरले हाम्रो यस संस्थिता ई त्यति धेरै प्रभाव पर्दैन । यसले अधिकतम १६ प्रतिशतसम्म व्याज लिन पाउने व्यवस्था गरेको छ । त्यसमध्ये। हाम्रो एउटै मात्रै व्यवसियिक ऋण शीर्षकमा १७ प्रतिशत व्याजदरमा दिई रहेका छौँ । त्यसलाई १ प्रतिशत घटाउनलाई हामीलाई आपत्ती छैन । सन्दर्भ व्याजदर हामी जस्तो मझौला प्रकृतीका सहकारी संस्थालाई खासै फरक पर्दैन ।

८. सहकारी मर्जरबारे तपाई के भन्नुहुन्छ ?
~ सहकारी मर्जरको नीति बैंक कै हिसावले आएको हाम्रो बुझाई छ । वित्तीय कारोवार गर्नेहरु मध्ये सहकारी समुदाय केन्द्रित र सहकार्य गरेर अगाडि बढ्नु पर्ने भएर यसलाई यही अवस्थामा सरोकारवालाहरुले प्रत्यक्ष निगरानी गर्ने र यसलाई स्वायत्त बनाई दिदा अझ यसमा समुदायको अपनत्व बढ्छ । सहकारी संस्था धेरै ठूलो भएपछि बैंक र सहकारीमा खासै भिन्नता हुदैन । त्यसैले गर्दा बैंक र सहकारी वीचको भिन्नता रहदैन । त्यसो भइसकेपछि सहकारीमा समुदायको आफनत्व रहदैन । त्यसैले यही अवस्थामा राज्यको सहकारीहरु वीच मर्जर गर्ने नीति आवश्यक छैन । बरु सहकारीलाई चुस्त , दुरुस्त र पारदर्शी बनाउन राज्यको नियमनकारी निकायको अनुगमन , निरीक्षण र नियमन चाहिँ आवश्यक रहन्छ । सहकारी संस्थाको लागि मर्जरभन्दा पनि कार्यक्षेत्र बढाई दिनु उपयुक्त हुन्छ । यसले गर्दाखेरी स्थानीय समुदाय वीचको आर्थिक जीवनस्तर सुधार गर्नमा अझ तुलनात्मक रुपमा प्रभावकारी हुन सक्छ ।
९. एक व्यक्ति एक सहकारी भन्ने नीति सहकारी ऐन ,२०७४ मा व्यवस्था गरिएको छ । त्यसबारेमा तपाईको धारणा के छ ?
~ राज्यको नियमनकारी निकायमा आवश्यक जनशक्ति नपुगेर नै यो प्रावधान ल्याइएको जस्तो मलाई लागेको छ तर व्यवहारिक रुपमा एक व्यक्ति – एक सहकारी भन्ने नीति नै अव्यवहारिक छ ‌। यो संशोधन हुनुपर्दछ । एउटै व्यक्ति २/३ वटा सहकारी संस्थाहरुको सञ्चालक समितिमा बस्न नपाउने नीति चाहिँ ठिक हो तर संस्थाको सदस्य नै हुन नपाउने भन्ने कुरा अव्यवहारिक छ । अनुगमन र निरीक्षणलाई कडा बनाउन र सहकारी संस्थालाई स्वायत्त बनाउनु जरुरी छ । ‌
१०. सम्पति शुद्धिकरणबारे तपाई के भन्नुहुन्छ ?
~ छोटोमा भन्नुपर्दा यो ठीक छ । यसले अझैं कतिपयले कालो धन जम्मा गरेका संस्था र व्यक्तिलाई निरुत्साहित गर्न मद्धत पुग्छ । त्यसैले यसलाई कडाईका साथ लागू गर्नु पर्दछ ।
११. कोपोमिसबारे तपाईको मनाई के छ ?
~ हामी कोपोमिसको प्रक्रियामा छौँ । वित्तीय सेवालाई व्यवस्थित बनाउनको लागि pearl system गत वर्षदेखि लागू गरेका छौँ ।
१२. तपाईहरुको यो संस्था स्थानीय तह अन्तर्गत रहदा तपाईहरुलाई काम गर्न कतिको सजिलो भा’छ ?
~ धेरै सजिलो भा’छ ।
१३. अन्तमा केही भन्नु छ की ?
~कुरा राख्ने मौका दिएकोमा । सहकारी सञ्जाललाई धन्यवाद । यसले सहकारीको विकास र प्रवर्द्धनको लागि काम गर्न सकोस् ।

Leave a Reply