नाय: साकोस , जोरपाटीको कूल कारोवार रु.५,५१,९७,४७९
काठमाडौंको गोकर्णेश्वर नगरपालिका -६ , जोरपाटीमा रहेको नाय: बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रामकृष्ण खड्गीले सो संस्थाको २०७६ मंसीर २५ गतेसम्म शेयर सदस्य संख्या १,५२३ , शेयर पूँजी रु.५१,१४,१०० , निक्षेप संकलन रु.३,७४,६१,१३३ र कूल कारोवार रु.५,५१,९७,७४९ रहेको बताउनु भएको छ । सहकारी सञ्जलसँग कुरा गर्दै उहाँले आर्थिक वर्ष २०७६/०७७ सम्ममा यस संस्थाको शेयर पूँजी रु.१ करोड , बचत संकलन रु.५ करोड र कर्जा लगानी रु.करोड पु-याउने लक्ष्यका साथ कार्य सम्पादन भइरहेको छ भन्नुभयो । उक्त संस्थाको ९औं वार्षिक साधारणसभा २०७६ मंसीर १४ गते याङ्ग्रिमा हिलसिटी होटल , जोरपाटीमा खड्गी सेवा समाजका भूतपूर्व अध्यक्ष देवनारायण खड्गीको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष रामकृष्ण खड्गीको अध्यक्षतामा सम्पन्न भयो ।
त्यस साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि खड्गीले स्थापना भएको छोटो समयमा यस नाय: साकोसले बचत र ऋण कारोवारको साथै सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गरिरहेको देखिएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । त्यस साधारणसभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष रामकृष्ण खड्गीले यस नाय: बचत तथा ऋण सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवारका साथै आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गर्दै आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पु-याई निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । त्यस संस्थाका सचिव सुरेन्द्र खड्गीले स्वागत मन्तव्य र कर्मचारी प्रकाश धितालले सञ्चालन गर्नु भएको उक्त साधारणसभामा सोही संस्थाका कोषाध्यक्ष पृथ्वीनारायण खड्गीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सूर्यबहादुर खड्गीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । छलफलपछि त्यस साधारणसभाबाट पारित प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु. न४९,३७,५०० , जगेडा तथा अन्य कोष रु.२७,६०,४५१ , निक्षेप संकलन रु.३,५२,०३,०५५ र कर्जा तथा सापटी रु. ३,६८,४८,६९९ उल्लेख छ । त्यस्तै सदस्यहरुलाई नियमित बचत गर्न अभिप्रेरित गरिने छ , शेयर पूँजी बृद्धिका लागि पहल गरिने छ , दैनिक बचत अभियानलाई सशक्त र व्यापक बनाइने छ , बचतकर्ता सदस्यहरुलाई सहकारी शिक्षा तालिम उपलब्ध गराइने छ र वाल सदस्यहरुलाई शैक्षिक भ्रमण व्यवस्था गरिने आदि उल्लेख गरिएको छ । त्यस अवसरमा सो संस्थाका शेयर सदस्यहरु मध्ये उत्कृष्ट बचतकर्ता दिलकृष्ण खड्गी र असल ऋणी अमित श्रेष्ठलाई सम्मान गरिएको थियो । 






