सहकारी सन्दर्भ व्याजदरले सहकारीको वास्तविक अर्थ र सिद्धान्त ओझेलमा पारेको छ

– वीरेन्द्रकुमार श्रेष्ठ , अध्यक्ष , सारा विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड , सरस्वतीनगर , काठमाडौं
काठमाडौं महानगरपालिका -६ , सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । सो संस्थाको गतिविधि लगायतका समसामयिक विषयमा केन्द्रित रहेर सोही संस्थाका अध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. यस बेला सारा विकास साकोस के गर्दैछ ?
~ हाम्रो यस संस्थाले आफ्नो ९औँ वार्षिक साधारणसभाले तय गरेका नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यससँगै यसले आफ्नो १०औँ वार्षिक साधारणसभाको तयारी गर्दैछ ।
२. यस संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप र कर्जा लगानी कति छ ?
~ हाम्रो यस संस्थामा २०७६ मंसीर २७ गतेसम्म शेयर सदस्य १,२०५ , शेयर पूँजी रु.१,१३,५७,०४१ , निक्षेप संकलन रु.२,९० ,००,००० , कर्जा लगानी रु.२,६०,००,००० र कूल कारोवार रु.४,४८,००,००० रहेको छ । चालु आर्थिक वर्षमा शेयर पूँजी रु.१,५०,००,००० , निक्षेप रु.३,४०,००,००० र कर्जा लगानी रु.३ करोड माथि पु-याउने लक्ष्यका साथ काम गरिरहेको छ ।
३. यो संस्थाले सामाजिक कार्य पनि गरेको छ कि ?
~ हाम्रो यस संस्थाले विभिन्न सामाजिक संघ/संस्थाहरुसँगको सहकार्यमा रक्तदान , स्वास्थ्य शिविर , फुटसल प्रतियोगिता जस्ता रचनात्मक क्रियाकलाप गरिरहेको छ । यसका साथै यसले आफ्ना शेयर सदस्यहरुका लागि वनभोज कार्यक्रम आयोजना गर्ने गरेको छ । यसलाई निरन्तरता दिइने छ । स्थानीय समुदायले आयोजना गर्ने गरेका सामाजिक कार्यक्रममा यस संस्थाले सहयोग पु-याउदै आएको छ ।
४. सहकारी सन्दर्भ व्याजदर बारेमा तपाईको भनाई के छ ?
~ सरकारले सहकारी सन्दर्भ व्याजदर लागू गर्ने भन्दा पनि औसत व्याजदर निर्धारण गरी लागू गर्नु चाहिँ सहकारीको हितमा देखिन्छ । राज्यले लागू गरेको सहकारी सन्दर्भ व्याजदरले सहकारीको वास्तविक अर्थ र सिद्धान्तलाई ओझेलमा पारेको छ । सरकारले देशभरी सञ्चालनमा रहेका सानाठूला सबैखाले सहकारी संघ/संस्थाहरुको राम्रोसँग अनुगमन गरी तिनमा सुशासन कायम गर्न ध्यान दिनु आवश्यक छ ।
५. सहकारी मर्जरबारे तपाईको भनाई के छ ?
~ सहकारी समुदायमा उद्देश्य मिल्ने व्यक्तिहरुले मिलेर निश्चित सामूदायिक उद्देश्य पूर्तिका लागि स्थापना गरी सञ्चालन गरिरहेका छन् । सरकारले बाध्यकारी ढंगबाट नभई सहकारी संस्थाहरुमा स्वेच्छिक हिसावले एकीकरण हुने वातावरण बनाउनु पर्दछ ।
६. यो संस्था प्रदेश नं. ३ अन्तर्गत रहेर सञ्चालन भइरहदा तपाईहरुलाई काम गर्न कत्तिको सजिलो भएको छ ?
~ काठमाडौं तथा आसपासका सहकारी संस्थाहरुलाई हेटौडासम्म जानु पर्ने अवस्था बनेको र दुरी हिसावले यो टाढा परेकाले पहिला डिभिजन सहकारी कार्यालय अन्तर्गत रहदाको भन्दा यतिबेला प्रदेश नं. ३ अन्तर्गत हाम्रो यो संस्था रहदा काम गर्न निकै अफ्ठ्यारो भइरेको छ । काठमाडौं तथा आसपासका सहकारी संस्थाहरुलाई काम गर्न सहज बनाउन काठमाडौं उपत्यकामा प्रदेश नं. ३ को सहकारी शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नु आवश्यक छ ।
राज्यले समूदायमा आधारित रहेर सञ्चालन भइरहेका र अन्य खालका सहकारी संस्थाहरु वीच तिनीहरुले आफ्ना सदस्यहरुलाई पु-याइरहेको सेवा र सुविधाको आधारमा वर्गीकरण गरी समूदायमा आधारित सहकारी संस्थाको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने वातावरण बनाउनु पर्दछ ।
७. नेपाल संविधान , २०७२ मा सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको तेस्रो खम्बा भनी उल्लेख गरिएको छ तर यो अरु २ खम्बाको तुलनामा कमजोर देखिएको छ । तपाईको विचारमा यसलाई मजबुत बनाउन के गर्नुपर्ला ?
~ सहकारी राष्ट्रिय अर्थतन्त्रको ३ खम्बामध्येको १ खम्बा भएपनि व्यवहारमा भने त्यस्तो देखिदैन । यस विषयमा राज्यले सहकारीलाई यसको सिद्धान्त अनुरुप राम्रोसँग सुशासन प्रदान गर्न सहयोग पु-याई यसको विकास र प्रवर्द्धन गर्न तथा आफ्ना सदस्यहरुलाई सहकारी संस्थाले अझ राम्रोसँग सेवा प्रदान गर्ने गरी नीति , ऐन र नियमावली बनाएर लागू गरोस् ।
८. अन्तमा केही भन्नु छ कि ?
~ राज्यले सहकारीको सिद्धान्त र अस्तित्व मेटाउने गरी नभई सहकारीको विकास र प्रवर्द्धन गर्ने ढंगबाट सञ्चालन हुने नीति , कार्यक्रम आदि बनाई लागू गरोस् । सहकारीको संख्या घटाउने भन्दापनि सहकारीको सिद्धान्त अनुसार सहकारीहरु सदस्यमुखी भई धेरैभन्दा धेरै सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक विकास हुने ढंगबाट राज्यले काम गर्नु आवश्यक छ ।