भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को १५औं वार्षिक साधारणसभा सम्पन्न , संघको मोवाइल एप्स सेवा शुरु

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको १५ औं बार्षिक साधारणासभा भक्तपुर बैक्वेट, हाकुफोहीटी, भक्तपुरमा २०७६ मंसिर २८ गते शनिवार सम्पन्न भयो ।
उक्त साधारणसभा तथा सोही संघको मोबाइल एप्स सेवाको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले उद्घाटन गर्नुभयो । त्यस अवसरमा प्रमुख अतिथि रोहितले “सहकारी संस्थाले लेनदेको कार्य सँगै उत्पादकमूलक उद्योग धन्दा, पर्यटन, कुटिर व्यवसाय लगायतमा लगानी गर्नुपर्छ । यसको लागि प्रभावकारी सहकारी नीति ल्याई संस्थामा संकलित पूँजीको सदुपयोग गर्नुपर्छ” भन्नुभयो । उहाँले राष्ट्रिय सहकारी बैक लि.को भूमिका सहकारीमा नेपाल राष्ट्र बैंक जस्तै रहनु पर्ने हो तर यो बैंक त्यस्तो भूमिकामा गौण रहेको विचार व्यक्त गर्नुभयो । त्यस अवसरमा नेफ्स्कूनका महासचिव चन्द्रप्रसाद ढकालले संघीय, प्रदेश र स्थानीय सरकारले सहकारीलाई सहज हुने नीति तर्जुमा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले यदि ऐन कानुनमा जटिलता रहेमा सामुहिक रुपमा दबाब दिनुपर्ने बताउनुभयो । त्यसैगरी जिल्ला सहकारी संघ लिमिटेड , भक्तपुरका उपाध्यक्ष कृष्णबहादुर घजुले सहकारी विभागबाट सहकारीमा सन्दर्भ व्याजदर , सेवा शुल्क १ प्रतिशत र नविकरण शुल्क ०.२५ प्रतिशत मात्र लिन पाउने गरी सीमा तोक्नु सकारात्मक रहेको बताउनुभयो । उक्त सभामा भक्तपुर जिल्ला कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष सनिश लागेजुले सहकारी क्षेत्रमा आएका समस्याहरुसँग जुध्न संघहरु बीच समन्वय र एकाता हुनुपर्नेमा जोड दिनुभयो । सोही संघका नि:वर्तमान अध्यक्ष राधेश्याम सुवालले संघीय, प्रदेश र स्थानीय तहको ऐन बीच एकरुपता नहुदा सहकारी संस्था सञ्चालनमा कठिनाई भएकोले यस संघले सोको प्रभावकारी पहलकदमी गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । सो संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले विशिष्टिकृत सहकारी संघ गठन गरी संस्थाको तरलता उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकिने प्रावधान भएकोले सो बारेमा यस संघले पहलकदमी गर्नुपर्ने बताउनुभयो ।
उक्त साधारणसभाको अध्यक्षता गर्दै सो संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले स्थानीय तहबाट सहकारीलाई कर असुल गर्ने निकायको रुपमा मात्र हेरेको कुरा बताउदै सदस्य संस्थाहरुलाई संस्थाको खाता मौज्दात, खाता विवरण र सूचना तथा जानकारी एप्स मार्फत दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको कुरा बताउनुभयो । त्यस सभामा सोही संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै समुदायमा आधारित सहकारी संस्थाको सम्बर्द्धन र प्रबर्द्धन हुने स्थानीय ऐन हुनु पर्नेमा त्यस विपरीत सहकारीलाई कुण्ठित पार्ने खालका ऐन/ कानुन शंसोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यस सभामा संघका सचिव जगनाथ प्रजापतीले उक्त संघको आर्थिक वर्ष २०७५।०७६ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १५ प्रतिशत लाभांष प्रस्ताव र संरक्षित पुजी फिर्ता दिने प्रस्ताव पेश गर्नुभयो भने सोही संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आर्थिक वर्ष २०७५।०७६ को वित्तीय प्रगति प्रतिवेदन पेश गर्नुभयो । सो सभाबाट आर्थिक वर्ष २०७५।००७६ मा त्यस संघको रु. ५७ करोड २८ लाखको वासलात र रु. १ करोड ३३ हजार नाफा सहितको लेखापरीक्षण प्रतिवेदन पारित भयो भने आर्थिक वर्ष २०७६।०७७ मा उक्त संघको रु.६३ करोड १२ लाख ३२ हजारको अनुमानित बजेट पारित गरेको छ । यसैगरी सो सभाबाट त्यस संघको आफ्नै भवन निमार्णको लागि रु. १ करोड बजेट र रु. २४ लाख २४ हजार ५ सय प्रस्तावित कार्यक्रम तथा तालिम प्रस्ताव पारित गरियो । संघका लेखा सुपरीवेक्षण समितिका संयोजक बामुकुण्द उपाध्यायले आर्थिक वर्ष २०७५।०७६ को लेखा सुपरीवेक्षण समितिको बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।
उक्त सभामा संरक्षित पूँजी फिर्ता कोष , बचत र ऋणको आधारमा अधिकतम योगदान गर्ने बचत तर्फ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि., सिमल बचत तथा ऋण सहकारी संस्था लि. र उपकार बचत तथा ऋण सहकारी संस्था लि. र ऋणतर्फ सञ्चित बचत तथा ऋण सहकारी संस्था लि., लोहकिल्थली माता बचत तथा ऋण सहकारी संघ लि. र बंगलामुखी बचत तथा ऋण सहकारी संस्था लि.लाई प्रशंसा-पत्र प्रदान गरियो । सो संघका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु ,कर्मचारीहरु तथा सो संघका सदस्य संस्थाहरुका प्रतिनिधि र पर्यवेक्षक गरी १६३ जनाको सहभागिता रहेको सोही सभामा हाम्रो टेक्नोलोजी प्रा.लि.का कार्यकारी प्रमुख विष्णु महर्जनले मोबाइल एप्सको सञ्चालनबारे बताउनुभयो ।