राष्ट्रिय सहकारी बैंक लि. को १६औँ वार्षिक साधारणसभा सम्पन्न
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६औँ वार्षिक साधारणसभा २०७६ पौष ३ गते काठमाडौंको भृकुटीमण्डप परिसर , प्रदर्शनीमार्गमा सम्पन्न भयो ।





सोही बैंकका अध्यक्ष के.वी. उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको सो साधारणसभाको उद्घाटन नेपाल सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले गर्नुभयो । मन्त्री डा.खतिवडाले उद्घाटन मन्तव्य व्यक्त गर्दै आफूले सहकारीलाई सामाजिक परिवर्तनको आधारको रुपमा लिएको बताउदै कम्पनी ऐनमा सहकारीलाई लाने आफ्नो मनसाय रहेको छैन भन्नुभयो । सो सभामा उक्त बैंकको वार्षिक प्रतिवेदन पेश गर्दै सो बैंकका अध्यक्ष के.वी. उप्रेतीले सहकारी क्षेत्रको विकास र प्रवर्द्धनका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले काम गरिरहेको छ भन्नुभयो । उहाँले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहितको उक्त बैंकको वार्षिक प्रतिवेदन त्यस सभामा पेश गर्नु भएको थियो । त्यस बैंकका सञ्चालक सदस्य ज्ञानबहादुर तामाङले सञ्चालन गर्नु भएको सोही साधारणसभामा त्यसै बैंकका लेखा सुपरीवेक्षण समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
त्यस अवसरमा सो बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले स्वागत मन्तव्य व्यक्त गर्दै सो बैंकको वित्तीय प्रगति विवरण पेश गर्दै राष्ट्रिय सहकरी बैंक लिमिटेड निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । त्यस साधारणसभाको बन्द-सत्रमा सो बैंकको प्रतिवेदन छलफल गरी पारित गरिएको थियो । उक्त प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस बैंकमा शेयर सदस्य संख्या ११,१२५ , शेयर पूँजी रु.१,५७,८०,८०,००० ,निक्षेप संकलन रु.२७,९७,८१,००,००० , कर्जा लगानी रु.१९,५४,०८,४०,१४२ र मुनाफा रु.६८,६४,५५,२१२/५७ रहनुका साथै यो बैंक अन्तर्राष्ट्रिय सहकारी महसंच (ICA) , नेड्याक (NEDAC), एसियाली ऋण महासंघ (ACCU) , आप्रका (APRACA) र सिक्ट्याब (CICTAB)को सदस्य रहेको उल्लेख छ ।
त्यस अवसरमा उत्कृष्ट कारोवार गर्ने सीवाईसी साकोस बागलुङ लगायतलाई सम्मान गरिएको थियो ।
