नेफ्स्कूनको अध्यक्षमा परितोष पौड्याल निर्वाचित

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजोबाट चलिरहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को २८औँ वार्षिक साधारणसभा परितोष पौड्यालको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै आज सकिएको छ । उक्त सञ्चालक समितिको वरिष्ठ उपाध्यक्ष , महिला उपाध्यक्ष , महासचिव र कोषाध्यक्ष पदमा क्रमश: चन्द्रप्रसाद ढकाल , शान्ति अधिकारी , दामोदर अधिकारी र दीपक पनेरु चयन हुनुभएको छ भने महिला सदस्यहरुमा मन्दरा मिश्र , रीना आचार्य र विद्या कोइराला , खुल्ला सदस्यहरुमा घनश्याम अधिकारी , न्हुक्षेनारायण श्रेष्ठ , जनक खत्री र चण्डीप्रसाद शर्मा पौडेल र प्रदेश सदस्यहरुमा : प्रदेश नं.१ बाट गोमा नेपाल , प्रदेश नं.२ बाट हरेराम प्रसाद पट्टेल , प्रदेश नं.३ बाट जीवसराज खड्का , गण्डकी प्रदेशबाट कमलादेवी गिरी , प्रदेश नं.५ बाट सन्दीप सापकोटा , कर्णाली प्रदेशबाट यज्ञप्रसाद ढकाल र सुदूर पश्चिम प्रदेशबाट माधवप्रसाद जोशी चयन हुनु भएको छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा नवराज सापकोटा तथा खुल्ला सदस्यमा सुशीलकुमार बस्नेत र महिला सदस्यमा सुभद्रादेवी महतो चयन हुनु भएको छ
। अध्यक्ष र ४ खुला सदस्य बाहेकका पदका उम्मेद्वारहरु निर्विरोध चयन हुनु भएको थियो । अध्यक्ष पदमा २ जना र ४ खुल्ला सदस्य पदमा ६ जनाको उम्मेद्वारी परेपछि ती पदहरुमा आज निर्वाचन भएको थियो । सो निर्वाचनमा अध्यक्ष पदका उम्मेद्वार परितोष पौड्यालले १,१५६ मत र दीपक थापाले २६५ मत तथा खुल्ला सदस्य पदका उम्मेद्वारहरु घनश्याम अधिकारीले १,२७९ मत , न्हुक्षेनारायण श्रेष्ठले १,२१५ मत , जनक खत्रीले १,२१३ मत , चण्डीप्रसाद शर्मा पौडेलले १,२८० मत , मनमोहन शर्माले ३१८ मत र जगन्नाथ प्रजापतीले २७५ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ । नेफ्स्कूनको नवनिर्वाचित सञ्चलक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले आजै प्रमाण-पत्र प्रदान गरेको छ तर उहाँहरुलाई पद तथा गोपनीयताको सफथग्रहण भने भोलि गराइने बताइएको छ । निर्वाचन परिणाम घोषणा तथा प्रमाण-पत्र वितरण सभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपालका अध्यक्ष केशवप्रसाद बडाल तथा लेखा सुपरीवेक्षण समिति संयोजक धर्मदत्त देवकोटा , नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण र नेफ्स्कूनका नि:वर्तमान अध्यक्ष डी.बी.बस्नेतले नेफस्कूनको नवनिर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै उहाँहरुको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो भने नवनिर्वाचित सञ्चालक समितिका अध्यक्ष परितोष पौड्यालले प्रतिबद्धता मन्तव्य
व्यक्त गर्नु भएको थियो । त्यसैगरी नेपाल माहुरीपालन केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष अर्जुन पोखरेलले नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष पौड्याललाई मह उपहार प्रदान गरी बधाई दिनुभयो ।
नेफ्स्कूनको उक्त साधारणसभामा सो संघका अध्यक्ष डी.बी. बस्नेतले सोही संघको वार्षिक प्रतिवेदन , महासचिव चन्द्रप्रसाद ढकालले आर्थिक वर्ष २०७५/०७६ प्रतिवेदन तथा आर्थिक वर्ष २०७६/०७७ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष केशवप्रसाद गौतमले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक दामोदर अधिकारीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त साधारणसभाबाट शेयर सदस्यहरु वीच छलफल गरी पारित भएको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा नेफ्स्कूनको शेयर पूँजी रु.४९,६०,०२,००० , कूल बचत निक्षेप रु.८,७४,१५,०३,८२२/७४ , ऋण लगानी रु.४,८६,७५,५८,२५७/६६ , जगेडा कोष रु.८,७९,५६,०२४ र अन्य कोष रु.७,७३,०३,१९४ गरी कूल कोष रु.१६,५२,५९,२१८ , कूल सम्पति रु.९,७३,५८,७६,९४९ , खुद नाफा रु.८,२१,७०,१२९ र सदस्य संघ/संस्थाहरु ३,६०८ तथा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ८८ संस्था थप भई ३,६९६ संघ/संस्था प्रत्यक्ष र आवद्ध जिल्ला संघ मार्फत थप ५,००० साकोसहरु सञ्जालमा आवद्ध रहेको उल्लेख छ ।