नेपाल मर्चेन्ट को-अपरेटिभ लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं महानगरपालिका -२२ , महाबौद्धमा रहेको अनेपाल मर्चेन्ट को-अपरेटिभ लिमिटेडको १९औँ वार्षिक साधारणसभा २०७६ पुस ५ गते होटल एलो प्यागोडा जमल , काठमाडौंमा सम्पन्न भयो । सो संस्थाका अध्यक्ष विश्वमोहन उझान्थाछेंको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको सोही संस्थाका प्रमुख सल्लाहकार तथा विघटित संविधानसभा सदस्य लक्ष्मण राजवंशीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले यस नेपाल मर्चेन्ट को-अपरेटिभ लिमिटेड आफ्नो उद्देश्य अनुरुप अगाडि गइरहेको र यसले वित्तीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखेकाले शेयर सदस्यहरुले यस संस्थामा ढुक्क भएर कारोवार गर्न आग्रह गर्नुभयो । उहाँले बर्तमान सरकारको अर्थनीतिको आलोचना गर्दै सरकारले सहकारी मैत्री नीति निर्माण गर्नु पर्ने खाँचो औँल्याउनुभयो । त्यसैगरी सहकारी अभियन्ता तथा नेपाल को-अपरेपर्स एलायन्स , नेपालका केन्द्रीय सह-अध्यक्ष गोविन्दप्रसाद शर्माले सरकारले सहकारी मैत्री हुने गरी सहकारी ऐन , २०७४ संशोधन गर्नु पर्ने र सहकारीलाई उत्पादनशील क्षेत्रमा जानको लागि भएका नीतिगत व्यबस्थालाई सहज बनाउनु पर्ने आवश्यकता औँल्याउनुभयो । त्यस अवसरमा नेपाल सरकारका भूतपूर्व सचिव श्रीमती जीवनप्रभा निरौलाले नेपाल मर्चेन्ट को-अपरेटिभ लिमिटेडले गरिरहेका कार्यहरुको प्रशंसा गर्दै सहकारी मार्फत नै नेपालको आर्थिक विकास सम्भव हुने बताउनुभयो । त्यस्तै गरी जिल्ला सहकारी संघ लिमिटेड , काठमाडौंका सञ्चालक सदस्य गणेशबहादुर के.सी.ले यस नेपाल मर्चेन्ट को-अपरेटिभ लिमिटेडलाई काठमाडौं कै सहकारी संस्थाको नेतृत्व गर्दै विशिष्टिकृत संघमा जानको लागि आग्रह गर्नुभयो । त्यस अवसरमा सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले
वित्तीय पहुँचको अवस्थाको विश्लेषण गर्दै सहकारीको अपरिहार्यताको बारेमा प्रकाश पार्नुभयो । उहाँले सहकारी संस्थाहरुले जोखिम व्यबस्थापनमा ध्यान दिनु पर्ने आवश्यकता औल्याउनुभयो । त्यसैगरी प्रा.डा. अशोक राजवंशी , सहकारीकर्मी किस्मतमणि श्रेष्ठ लगायतका बक्ताहरुले सो साधारणसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै त्यस साधारणसभाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।
त्यस सभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष विश्वमोहन उझान्थाछेंले सहकारी सदस्यहरु बीच बचत संकलन र ऋण लगानी गर्ने संस्था मात्रै नभई सदस्यहरुको सुख दु:खमा साथ दिने सारथी पनि हो भन्ने मर्मलाई आत्मसाथ गर्दै नेपाल मर्चेन्ट को-ओपरेटिभ लिमिटेडले आफूलाई एक सक्षम सहकारी संस्थाको रुपमा स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले यस संस्थाको शेयर सदस्यहरुको माया , ममता र स्नेह र कर्मचारीहरुको मिहेनत र परिश्रमका कारण हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउनुभयो । त्यस सभामा सोही संस्थाका सञ्चालक सदस्य अजयमान जोशीले वार्षिक बजेट र लेखा सुपरीवेक्षण समिति संयोजक डिल्लीराज पन्तले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।
उक्त सभामा सोही संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये उत्कृष्ट नतिजाका साथ कक्षा १२ उत्तीर्ण भएका आशिष पौडेल र स्वीकृति अमात्यलाई
सम्मान गरी पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरियो भने त्यस संस्थाका अपाङ्ग शेयर सदस्य कृष्ण पुन मगरलाई सम्मान गरिएको थियो । त्यसैगरी उक्त सभाका अध्यक्ष उझान्थाछेंले प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।