सहकारी संघ/ संस्थाहरुको वार्षिक साधारणसभा बारे पुनर्विचार गर्नु आवश्यक छ !
नयाँ आर्थिक वर्षको शुभारम्भ सँगै बैंक , बितीय क्षेत्र तथा सहकारी संघ/संस्थाहरुको वार्षिक साधारणसभा हुने गर्दछ । जो यतिबेला चलिरहेको छ ।
विशेष गरी सहकारी संघ/संस्थाहरु शेयर सदस्यहरुमा आधारित र शेयर सदस्यहरुबाट नियन्त्रित भएर सञ्चालन हुने भएकोले यिनको साधारणसभाका बारेमा बहस चलिरहेको देखिएको छ । प्राय: अधिकांश सहकारी संघ/ संस्थाहरुका साधारणसभा धेरै अतिथिहरुलाई निम्ता गरी तिनको मन्तव्यले लामो समय लिई दिने तथा त्यस्ता साधारणसभामा निम्त्याइएका कतिपय अतिथि वक्ताहरुले सहकारीको विषयभन्दा फरक सन्दर्भमा बोलेर समय खर्च गरिदिदा धेरैजसो सहभागीहरु वीच मै उठेर सभाबाट हिडिदिने गरेकाले धेरैजसो साधारणसभा औपचारिकता मै सकिने गरेको देखिएको छ । वार्षिक साधारणसभाको महत्वको बारेमा धेरै सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुलाई राम्रोसँग बुझाउन नसक्ता उनीहरु साधारणसभा स्थलमा आएर यातायात शीषर्कको भत्ता बुझ्ने र खाना /खाजा खाएर साधारणसभाको उद्देश्यमा सहभागी नै नभई त्यत्तिकै घर फर्किने गरेको पनि पाइन्छ । अधिकांश सहकारी संघ/संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा पार्टी प्यालेसहरुमा आयोजना गरी भोज भतेर गर्ने र त्यसो गर्नुको उद्देश्य बाटो खर्च र भोज भतेरको प्रलोभन देखाएर कम्तीमा ५१ प्रतिशत शेयर सदस्यहरु साधारणसभामा उपस्थित गर्नु रहेको सहकारीकर्मी बताउछन् तर त्यसो गर्दा पनि कतिपय सहकारी संस्थाका वार्षिक साधारणसभामा ५० प्रतिशत शेयर सदस्यहरु उपस्थित भएको पाइदैन ।
कतिपय सहकारी संस्थाहरुले भव्य ढंगले साधारणसभा गर्नुको उद्देश्य भने आफ्नो वित्तीय अवस्थाको प्रचार गरी आफ्नो संस्थामा शेयर सदस्य तथा कारोवार बृद्धि गर्ने लक्ष्य रहेको पनि देखिन्छ ।
उता कतिपय सहकारी संस्थाहरुले सामान्य ढंगबाट आफ्नो वार्षिक साधारणसभा सम्पन्न गर्न थालेको पनि देखिन थालेको छ ।
सहकारी संघ/ संस्थाहरुका साधारणसभाबारे सहकारी क्षेत्रका विज्ञ तथा अभियानकर्मीहरुले आ- आफ्नै मत प्रकट गरिरहेको देखिन्छ ।
सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेल भने सहकारी संघ/ संस्थाहरुको वार्षिक साधारणसभालाई शेयर सदस्यहरुको साधारणसभा बनाउनु पर्ने , साधारणसभामा अतिथि कम बोलाई सदस्यहरु वीच सम्बन्धित सहकारी संघ/संस्थाको गतिविधि र कार्यक्रमबारे राम्रोसँग छलफल गर्ने वातावरण बनाउनु पर्ने र अतिथि बोलाउदा पनि सहकारी बुझेका र सदस्यहरुलाई सहकारीका वारेमा राम्रोसँग प्रशिक्षित गर्न सक्ने व्यक्तित्वहरुलाई बोलाउनु पर्ने खाँचो औल्याउनु हुन्छ । सहकारी संघ/ संस्थाहरुको स्थापना दिवस वा वार्षिक उत्सवमा भने अतिथि बोलाएर भाषण गर्ने कार्यक्रम गर्ने कुरालाई नकार्न नसकिने उहाँको भनाई छ । सहकारीको साधारणसभामा नियमन गर्ने सरकारी निकायका व्यक्तिहरु नआउदा नै राम्रो हुने उहाँ बताउनुहुन्छ ।
त्यस्तै कतिपय सहकारीकर्मीहरु पनि सहकारी संघ/संस्थाको वार्षिक साधारणसभामा भोज भतेर लगायतमा अनावश्यक खर्च गर्न नहुने बताइरहेको देखिन्छ ।
सहकारी संघ/ संस्थाहरुको बारे चलिरहेको छलफललाई सकारात्मक ढंगबाट अगाडि बढाई परिणाममुखी बनाउनुको विकल्प देखिदैन । यस बारेमा सरोकारवाला पक्षले पुनर्विचार गर्नु आवश्यक छ ।
(सहकारी सञ्जाल मासिकको २०७६ मंसीर अंकबाट साभार)