स्वनिग: बहुउद्देश्यीय सहकारी संस्था लि. को २०औँ साधारणसभा सम्पन्न , अमृतलाल श्रेष्ठ पुन: अध्यक्षमा चयन ,

काठमाडौं महानगरपालिका -२६ , ठमेल , गल्कोपाखामा रहेको स्वनिग: बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा प्रदेश नं.३ का प्रदेशसभा सदस्य तथा काठमाडौं महानगरपालिकाका भूतपूर्व मेयर केशव स्थापितको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षतामा आज नयाँ बजार मल्टीभेन्यू , काठमाडौंमा सम्पन्न भयो । सो साधारणसभाले ४ वर्षे कार्यकाल रहने गरी अमृतलाल श्रेष्ठको अध्यक्षतामा सो संस्थाको सञ्चालक समिति चयन गरेको छ । निर्विरोध चयन भएको उक्त सञ्चालक समितिको उपाध्यक्षमा श्याम महर्जन र सदस्यहरुमा राजु महर्जन , अर्विन्द्र मानान्धर र राजेश मानान्धर रहनु भएको छ भने लेखा सुपरीवेक्षण समितिको समितिको संयोजकमा ध्रुव श्रेष्ठ तथा सदस्यहरुमा रत्नावती चित्रकार र रामकाजी श्रेष्ठ रहनु भएको छ ।
उक्त साधारणसभाको प्रमुख अतिथि स्थापितले उद्घाटन गर्दै सहकारीको माध्यमबाट आफ्नो परिवार तथा समाजको जीवन समृद्ध भएको दृष्टान्त प्रस्तुत गर्दै एक सहकारी एक सम्पदाको नीति आवश्यक रहेको बताउनुभयो ।
उहाँले मुलुकमा गाजा खेतीमा प्रतिबन्ध नलाउदासम्म डलरको भाउ नेपाली रुपैया ६/१५ रहेकोमा गाजामा प्रतिबन्ध लगाएपछि डलरको भाउ नेपाली रुपैया ११५ रहेको बताउदै नेपालीको समृद्धीको लागि देशभरी गाजा खेती आवश्यक रहेको तर लागू पद्धार्थ विक्री वितरण गर्नेलाई भने गोली ठोक्नु पर्ने बताउनुभयो । उखु नगदे बाली त भनो नि तर के गर्नु- किसानको उखु मिल मालिकहरुले खाइदिएर किसान अलपत्र रहेको उहाँको भनाई छ । उहाँले अहिले नेपाल भ्रमण वर्षको नाममा भइरहेको तामझाम वाइयात रहेको बताउदै प्रदेश नं.३ को राजधानी हेटौडालाई कुनै पनि हालतमा मानिदैन भन्नुभयो । त्यस सभामा आशिर्वाद कलेजका संस्थापक प्राचार्य ध्रुवनारायण मानान्धरले
यस स्वनिग: बहुउद्देश्यीय सहकारी संस्था लि.ले आजभन्दा १९ वर्ष अगाडि दु:खको समयमा आशिर्वाद कलेजलाई बिना धितो रु.६ लाख ऋण प्रदान गरी सहयोग गरेको बताउदै यो स्वनिग: बहुउद्देश्यीय सहकारी संस्था लि.ले सिफारिस गरेका आर्थिक विपन्न विद्यार्थीहरुलाई आशिर्वाद कलेजमा नि:शुल्क अध्ययन गर्ने व्यवस्था मिलाउने बताउनुभयो । उहाँले शेयर सदस्यहरुलाई कमाएको पैसा सो संस्थामा जम्मा गर्न आग्रह गर्नुभयो । बर्तमान ओली सरकारको अनुदारवादी नीतिका कारण सहकारी क्षेत्र र शेयर बजार चेपुवामा परेको उहाँको भनाई थियो । त्यस सभामा त्यसै संस्थाका सल्लाहकार सुरेन्द्र श्रेष्ठले कविता वाचन गर्नुभएको थियो । त्यसैगरी सोही संस्थाका सल्लाहकार गंगा शर्माले यस स्वनिग: बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गरिरहेको बताउदै यस संस्थाले फराकिलो उद्धेश्यका साथ योजना बनाएर अगाडि बढ्नु पर्ने आवश्यकता औल्यउनुभयो । सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै उक्त सभाका अध्यक्ष अमृतलाल श्रेष्ठले यस स्वनिग: बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुको स-साना पूँजी तथा सीपलाई एकत्रित गरी सहकारिताको माध्यमबाट आफ्नो आवश्यकता आफै पूरा गर्ने प्रकारका व्यवसाय पहिल्याई स्थानीय स्रोत र साधनको अभिबृद्धि गरी सहकारी मूल्य , मान्यता र सिद्धान्त अनुरुप सबै सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक बृद्धि विकास गर्ने उद्देश्यमा क्रियाशील रही राष्ट्रिय अर्थतन्त्रमा सानो भएपनि टेवा पु-याउने उद्धेश्यका साथ सेवा गरिरहेको बताउनुभयो । यस संस्थाले आफ्नो विगत २० वर्षे कार्यकालमा धेरै अफ्ठ्याराहरुको सामना गरेतापनि सधै आफ्ना सदस्यहरुको हक हितको लागि चिन्तनशील भई अगाडि बढ्दै जाँदा सदस्यहरुको विश्वास र सहयोगले हाम्रो यस संस्था आज यो अवस्थामा आइपुग्न सफल भएको छ भन्नुभयो । सो संस्थाका प्रवन्धक धनबाबु महर्जनले स्वागत मन्तव्य र सञ्चालक राजेश मानान्धर र सह-लेखापाल सुनिता मानान्धरले सञ्चालन गर्नु भएको त्यस सभामा उक्त संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक ध्रुव श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाबाट पारित भएका प्रतिवेदन आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा शेयर पूँजी रु.१,९०,३५,४०० ,निक्षेप संकलन रु.१८,१५,२८,४८७/३७ , कर्जा लगानी रु.१५,१२,३४,९९५/८९ ,कूल आम्दानी रु.२,६९,१५,१४२/२० कूल खर्च रु.२,२१,८५,८४७/०७ , सम्पति र दायित्व रु.२१,९२,९७,८०८/६५ र खुद नाफा रु.४७,२९,२९५ रहेको र उद्देश्य मिल्न सक्ने बहुउद्देश्यीय सहकारी संस्थाहरुसँग एकीकरणका लागि पहल गर्ने उल्लेख छ ।
त्यस अवसरमा सोही संस्थाका उत्कृष्ठ बचतकर्ता सानु महर्जन
, उत्कृष्ठ ऋणी एरिला डंगोल तथा त्यसै संस्थामा २० वर्षसम्म सञ्चालक भएर कार्यरत हालका अध्यक्ष अमृतलाल श्रेष्ठ , उपाध्यक्ष श्याम महर्जन , लेखा सुपरीवेक्षण समिति संयोजक ध्रुव श्रेष्ठलाई प्रमुख अतिथि स्थापितले सम्मान गर्नुभयो । त्यसैगरी सोही संस्थामा निरन्तर २० वर्षसम्म कार्यरत कर्मचारीहरु : प्रवन्धक धनबाबु महर्जन , लेखा आधिकृत सुविलाल श्रेष्ठ , वरिष्ठ क्यासियर केशवबहादुर महर्जन र वरिष्ठ बजार प्रतिनिधि सीताराम रिजाललाई पनि प्रमुख अतिथि स्थापितले सम्मान गर्नुभयो भने सो संस्थाकी उत्कृष्ट कर्मचारी : सह-लेखापाल सुनिता महर्जनलाई रु.१० हजार नगद पुरस्कार सहित प्रशंसा-पत्र प्रदान गरी सम्मानित गर्नु भएको थियो ।