इलाम जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १७औँ वार्षिक साधारणसभा सम्पन्न , अध्यक्षमा लीला थापा चयन

इलाम जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको १७औँ वार्षिक साधारणसभा जिल्ला सहकारी संघ लिमिटेड , इलामकी अध्यक्ष विष्णु दाहालको प्रमुख आतिथ्यता र सोही संघका अध्यक्ष कमल श्रेष्ठको अध्यक्षतामा २०७६ पुस १२ गते इलाम बजारमा सम्पन्न भएको समाचार प्राप्त भएको छ । उक्त साधारणसभाले ४ वर्षे कार्यकाल रहने गरी लीला थापाको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्ष , सचिव ,कोषाध्यक्ष र सह-सचिवमा क्रमश: मन न्यौपाने , कृष्ण बस्नेत , धनसिंह राई र अरुण महत तथा सदस्यहरुमा दमन्ता घिमिरे , विमला राई ,दिनेश श्रेष्ठ , निर्मल घिमिरे ,मदन बानिया र विष्णुप्रसाद आचार्य रहनु भएको छ । त्यसैगरी सोही संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा ईश्वर सुवेदी तथा सदस्यहरुमा पूर्णप्रसाद गौतम र लता पौडेल चयन हुनु भएको छ । प्रमुख अतिथि दाहालले उक्त साधारणसभाको उद्घाटन गर्दै मुलुकको समृद्धीक सहकारी क्षेत्रबाट सम्भव रहेकोले सरकारले सहकारीको विकास र प्रवर्द्धन गर्ने गरी नीति , ऐन , नियम तथा कार्यक्रम निर्माण गरी लागू गर्नु पर्ने बताउनुभयो । राष्ट्रिय सहकारी बैंक लिमिटेड , इलामका प्रवन्धक अर्जुन कार्की लगायतले उक्त सो साधारणसभाको सफलताको कामना व्यक्त गर्नु भएको प्राप्त खबरमा जनाइएको छ । त्यस साधारणसभामा प्रस्तुत गरिएका प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संघमा रु.४१,६८,६७५ आय/व्यय रहेको उल्लेख छ । सो साधारणसभाबाट नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन भएसँगै उक्त नव निर्वाचित टीमलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलता कामना व्यक्त गर्नुका साथै सहकारी अभियन्ता कमल श्रेष्ठलाई खादा ओडाई अबीर लगाएर प्रमाण-पत्र प्रदान गरी सम्मान गरिएको थियो ।