शान्ति बहुउद्देश्यीय सहकारी संस्था लि. , कुलेश्वर , काठमाडौंको १४औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कर्जा लगानी रु.३९,३४,२५,१७७/५५

0 Shares

– ईश्वर ढुङ्गेल
काठमाडौं महानगरपालिका -१४ , कुलेश्वरमा रहेको शान्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा सांसद कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठको अध्यक्षतामा २०७६ पुस १९ गते सासा व्याङ्क्वेट ,टेकुमा सम्पन्न भयो । प्रमुख अतिथि श्रेष्ठले उक्त साधारणसभाको भव्य समारोहका वीच उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा उहाँले यस शान्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रगति पथमा अगाडि बढिरहेको देख्दा खुशी लागेको बताउदै सहकारीले छरिएर रहेको स-सानो पूँजीलाई संकलन गरी उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरेर लगानी गरी मुलुकको समृद्धिमा योगदान गर्नु पर्ने खाँचो औल्याउनुभयो । मुलुकको राष्ट्रिय अर्थतन्त्रको ३ वटा खम्बाहरु मध्येको एक खम्बा सहकारीले आफ्ना सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपमा जीवनस्तर माथि उठाउन सहयोग गर्ने ढंगबाट कार्य गर्नु पर्नेमा जोड दिदै सहकारी संस्थालाई ओरेण्टल को-अपरेटिभ लिमिटेडको जस्तो डुब्ने अवस्था आउन नदिन सहकारीकर्मीहरुले सदैव चनाखो भएर काम गर्नु पर्ने बताउनुभयो । त्यस अवसरमा सांसद विना श्रेष्ठ , शिक्षाविद डा. मनप्रसाद वाग्ले , डा.दुर्गालाल श्रेष्ठ , वरिष्ठ चार्टर एकाउण्टेन गोपालप्रसाद राजवाहक , शान्ति खल:का सुभद्रा श्रेष्ठ ,सोही संस्थाका सल्लाहकार गोपालकृष्ण श्रेष्ठ , कानुनी सल्लाहकार अधिवक्ता शिवराम श्रेष्ठ लगायतले सो संस्थाले गरिरहेको प्रगतिप्रति प्रशन्नता व्यक्त गर्दै उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यसै अवसरमा उक्त सभाका अध्यक्ष श्रेष्ठले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै भक्तपुरको थिमिबाट बसाइँ सरेर यस क्षेत्रमा आएकाहरुले गठन गरेको शान्ति खल:ले २०६२ सालमा स्थापना गरेको हाम्रो यस शान्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालन गरेर निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले यस संस्थामा रु.५ लाखसम्म शेयर भएका शेयर सदस्यलाई यो संस्थाले रु.१ लाखसम्म नि:शुल्क वीमा गरिदिने लगायतका विशेष सुविधा प्रदान गर्ने छ भन्नुभयो ।
सोही संस्थाक कोषाध्यक्ष प्रेमबहादुर श्रेष्ठले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा लेखा सुपरीवेक्षण समिति संयोजक शान्तबहादुर श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो ।
त्यस अवसरमा सोही संस्थामा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु पूर्णभक्त प्रधानाङ्ग र गोपालकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त अवसरमा सो सभाका अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि र विशेष अतिथिलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
उक्त साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर सदस्य संख्या १,४७४ , शेयर पूँजी रु.६,५१,३८,५०० , निक्षेप संकलन रु.३२,०५,९६,५३९/६३ र कर्जा लगानी रु.३९,३४,२५,१७७/५५ रहेको उल्लेख छ ।

Leave a Reply