ललितपुर महानगरपालिका र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संयुक्त आयोजनामा सहकारी एकीकरण सम्बन्धी अन्तर्क्रिया सम्पन्न

0 Shares

ललितपुर महानगरपालिका र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको संयुक्त आयोजनामा सहकारी एकीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आज डिलाइट पार्टी प्यालेस , महालक्ष्मीस्थान , ललितपुरमा सम्पन्न भयो । सो अन्तर्क्रिया कार्यक्रमको सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले

उद्घाटन गर्दै सहकारी एकीकरण सहकारीको विकास र प्रवर्द्धनका लागि आवश्यक रहेको बताउनुभयो । सहकारीको एकीकरण गर्ने विषय अगाडि बढिरहेको बेलामा नयाँ सहकारी दर्ता रोक्नु पर्ने आवश्यकता औल्याउदै उहाँले


सहकारी एकीकरण गर्दा के कस्ता सेवा सुविधा प्रदान गर्ने भन्ने विषयका लागि भने आर्थिक विधेयक कुर्नुको विकल्प छैन भन्नुभयो । त्यस अवसरमा आधारपत्र पेश गर्दै सहकारी विभागका उप-रजिष्टार सुरेन्द्रराज पौडेलले

कुनै वडामा एउटा मात्रै महिला सहकारी संस्था रहेछ र ऊ कसैसँग मिल्दिन भन्छ भने त्यसलाई जसरी भए नि मिल्नु पर्दछ भन्न सकिदैन भन्नुभयो । उहाँले सहकारी एकीकरणको आधार जनसंख्यालाई बनाइएकोले गाउँपालिकामा ५०० , नगरपालिकामा २,००० र महानगरपालिकामा ५,००० सदस्य बराबर एक सहकारी रहने बताउनुभयो । वडा भित्रका मात्रै कार्यक्षेत्र रहेका सहकारी संस्थाहरु पहिलो क्याटगोरी ,स्थानीय तह कार्यक्षेत्र रहेका सहकारी संस्था दोस्रो क्याटगोरी , एउटा स्थानीय तहभन्दा माथि तर एउटा प्रदेशभित्र मात्रै कार्यक्षेत्र भएका सहकारी संस्था तेस्रो क्याटगोरी र २ वा सो भन्दा बढीमा प्रदेशमा कार्यक्षेत्र भएको सहकारी संस्थालाई चौथो क्याटगोरीमा विभाजन गरी एकीकरण गरिने र त्यसरी जनसंख्याको आधारमा एकीकरण गर्दा

जुनसुकै क्याटागोरीका सहकारी संस्थाहरु वीच हुन सक्ने तथा कुनै सहकारी फुटेर फरक -फरक सहकारी संस्थासँग एकीकरण गर्न चाहेमा त्यो मान्य हुने उहाँको भनाई छ । उहाँले मन्त्रालयमा सहकारी एकीकरण लगायतका सन्दर्भमा सहकारी अभियानसँग छलफल चलेको बताउनुभयो । प्रदेश नं.३ सहकारी संघ लि.की सञ्चालक सदस्य अम्बिका थापाको समेत आतिथ्यता रहेको त्यस कार्यक्रममा जिल्ला सहकारी संघ लि., ललितपुरका सञ्चालक सदस्य शशिधर पोखरेल , ललितपुर जिल्ला पर्यटन सहकारी संघ लि.का अध्यक्ष शिव कट्टेल र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संस्थापक अध्यक्ष रोहिणी जोशीले सरकारले अगाडि सारेको सहकारी एकीकरणले सहकारी क्षेत्रमा अन्यौलता बढाएकोले यस बारेमा सरकार र सहकारी अभियान वीच राम्रोसँग छलफल गर्नु पर्ने बताउनुभयो । त्यस अवसरमा सो अन्तरक्रिया कार्यक्रमको ओचित्यताबारे प्रकाश पार्दै ललितपुर महानगरपालिका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलले सहकारी गरिवी निवारण र समृद्धीको आधारको रुपमा रहेपनि सहकारी क्षेत्रमा विभिन्न खाले समस्याहरु रहेकोले सहकारी क्षेत्रका समस्या समाधान गर्दै जाने उद्देश्यले यो कार्यक्रम गरिएको बताउनुभयो । त्यस अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईले सहकारी एकीकरण गर्ने कुराले धेरै प्रश्न उठाएकोले यसबारे सरकार र सहकारी अभियान वीच राम्रोसँग छलफल हुनु पर्नेमा जोड दिदै ललिपुर महानगरपालिकाले सहकारी एकीकरण हुँदा कर छुट जस्ता के सुविधा दिने हो- प्रष्ट हुनु पर्ने बताउनुभयो । उक्त कार्यक्रमका अध्यक्ष ललितपुर महानगरपालिकाका आर्थिक समिति संयोजक तथा सोही महानगरपालिकाका २१ नं. वडाका वडा अध्यक्ष रविन्द्र महर्जनले सहकारी एकीकरणका विषयमा नेपाल सरकारले बनाएको कार्यविधिलाई आत्मसाथ गरी ललितपुर महानगरपालिका अगाडि बढ्ने बताउनुभयो । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव श्यामकृष्ण महर्जनको सञ्चालनमा भएको सो अन्तर्क्रिया कार्यक्रममा सोही संघका सल्लाहकार तथा पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.,न:बहालका अध्यक्ष नेमवीर शाक्यले सहकारी ऐन , २०७४ र सहकारी नियमावली ,२०७५ लागू भएपछि सहकारी एकीकरण , सहकारी सन्दर्भ व्याजदर , सम्पति शुद्धिकरण र डुब्लिकेशन जस्ता प्रावधानले सहकारीलाई अफ्ठ्यारो बनाएको बताउदै हचुवाको भरमा त्यत्तिकै सहकारी एकीकरण हुन नहुनेमा जोड दिनु भयो । उहाँले सहकारी सन्दर्भ व्याजदर लागू भएपछि काम गर्न अफ्ठ्यारो भइरहेको बताउनुभयो ।, सुप्रीम बचत तथा ऋण सहकारी संस्था लि., महालक्ष्मीस्थानकी वरिष्ठ अधिकृत समिना खनालले सहकारी एकीकरण गर्दा सहकारीमा कार्यरत कर्मचारीको अवस्था के हुने र र ठूला सहकारीले साना सहकारीलाई खाने अवस्था आउछ कि आउदैन भन्न प्रश्नको समाधान गर्नु पर्नेमा जोड दिनुभयो । त्यसैगरी आयाम बचत तथा ऋण सहकारी संस्था लि., ताल्छिखेलका व्यवस्थापक गणेशप्रसाद नेपालले सहकारी एकीकरण हुँदा पेशा व्यवसाय गरी अस्थायी रुपमा बसोबास गरिरहेका सदस्यहरुको अवस्था के हुने भन्ने अन्यौल रहेको बताउनुभयो । त्यस्तै पर्यटन सहकारी संस्था लि. सानेपाका मणिराज सापकोटा सहकारी एकीकरणको आधार जनसंख्या मात्रै बनाई एकीकरण बलपूर्वक हुन नहुने बताउदे पी.भी. रेसियो , ऋण लगायतलाई पनि हेरिनु पर्छ भन्नुभयो । यसैगरी ज्वेल्स बचत तथा ऋण सहकारी संस्था लि.का सुदीप शाक्यले सहकारी मर्जरको उद्देश्य के हो र सहकारी मर्जरले देशलाई राम्रो गर्छ कि तपाईहरुलाई भनी प्रश्न गर्नुभयो । उहाँले सामाजिक कार्य गरिरहेका सहकारीलाई एकीकरण गरी खुम्चायाउने गर्ने तर माइक्रो फाइनान्स खुलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । त्यस्तै सिञ्चाहिटी साकोसका पुरुषोत्तम मानन्धरले झोले सहकारी बन्द गर्नुस् र समुदायमा आधारित सहकारीलाई प्रोत्साहन गर्नुहोस भन्नुभयो । यस्तै सिञ्चित साकोसका सिरीराज ढुङ्गानाले बढी भए भनेर सहकारी एकीकरणको कुरा गरिएपनि सहकारीको गुणात्मक विकासको कुरा आएन भन्नुभयो । त्यस कार्यक्रममा सहभागीहरुले मौखिक तथा लिखित विभिन्न प्रश्न तथा जिज्ञाशा सोध्नु भएको थियो । सहभागीहरुका प्रश्न तथा जिज्ञाशा संग्रह गरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईले सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेलाई हस्तान्तरण गर्नु भएको थियो । त्यसैगरी प्रमुख अतिथि डा.पाण्डेलाई त्यसै सभाका अध्यक्ष महर्जनले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply