राष्ट्रिय सहकारी महासंघ लि. को २७औँ वार्षिक साधारणसभा शुरु , नेतृत्व भोलि चयन हुने ,

0 Shares

राष्ट्रिय सहकारी महासंघ लिमिटेड ,नेपालको २७औँ वार्षिक साधारणसभा सोही महासंघका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षतामा आजबाट शुरु भएको छ । सो साधारणसभाको भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले ललितपुरको पुल्चोकस्थित सोही महासंघको कार्यालयमा आज विहान उद्घाटन गर्नुभयो । साथै उहाँले सहकारीका लागि दिगो विकास लक्ष्य कार्यान्वयन मार्गदर्शनको सार्वजनिक गर्नु भएको थियो ।
त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि मन्त्री अर्यालले राष्ट्रको विकासको बाधक बनिरहेका कानून यस वर्ष सहकारी मैत्री बनाई सक्ने र त्यसका लागि मन्त्रालय र विभागले कार्य गरिरहेको छन् भन्नुभयो । उहाँले आफ्नो विकासले आफै असुरक्षित हुने अवस्थाको अन्त्यका लागि अब सहकारीले उद्यमशीलता र व्यवसायिकतातर्फ अग्रसर हुँदै फरक ढंगबाट विकासको अवधारणालाई अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो । ‘एक घर -एक सदस्य , एक सहकारी- एक रोजगारी’ अभियान सञ्चालन गरी सहकारी रोजगारी सिर्जना गर्न सक्ने थलो बनी वैदेशिक रोजगारीमा जानेहरुलाई रोक्न सक्नु पर्ने उहाँको भनाई छ । उहाँले नेपालको गरिवी सन् २०३० भित्र सुन्यमा झार्ने उद्देश्य लिएर मन्त्रालयले गरिवी निवारणको स्रोत भूमि र माध्यम सहकारीलाई बनएर गरिवी निवारण गर्ने लक्ष्य लिएको छ भन्नुभयो । सहकारीलाई प्रविधियुक्त बनाउने , अन्तर सहकारी समन्वय बलियो बनाउने र ब्याज घटाउने विषयलाई महत्व दिइएको र अन्तर सहकारी चेक सटहीको कार्यलाई समेत छिटो निश्कर्षमा पु-याइने छ भन्दै उहाँले सहकारी तथा वित्तीय क्षेत्रलाई हाक्न सक्षम नेतृत्व आवश्यक रहने भएकोले सहकारीमा नयाँ नेतृत्वको विकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो ।
सो साधारणसभामा राष्ट्रिय सहकारी महासंघ लि., नेपालकाका अध्यक्ष केशबप्रसाद बडालले उक्त महासंघको आर्थिक बर्ष २०७५/०७६ को वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सहकारी सामाजिक व्यवसाय भएकाले यसबाट अन्य निजी व्यवसायमा जस्तो नाफा खोज्न नहुने र सहकारीको केन्द्रविन्दु शेयर सदस्यलाई बनाई समृद्धीमा योगदान दिनु पर्ने खाँचो औल्याउनुभयो । त्यसै अवसरमा उहाँले सहकारी अभियानको व्याज सार्वजनिक गर्नुभयो । उक्त सभामा सोही महासंघका लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
सो सभामा नेपाली काँग्रेसका नेता तथा भूतपूर्व मन्त्री बालकृष्ण खाँड,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा प्रदेश नं.३ का प्रदेशसभा सदस्य पशुपति चौलागाई , राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल,राष्ट्रिय सहकारी महासंघ लि.का सल्लाहकार तथा भूतपूर्व मन्त्री गणेश शाह , वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघ ग्लोबल बोर्ड सदस्य तथा विघटित संविधानसभा सदस्य ओमदेवी मल्ल, संस्थापक अध्यक्ष तथा भूतपूर्व मन्त्री दीपकप्रकाश बाँस्कोटा, भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डे लगायतका वक्ताले उक्त साधारणसभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
उक्त साधारणसभाले आगामी चार बर्षे कार्यकल रहने गरी त्यस महासंघको २२ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको चयन गर्ने र जसको निर्वाचन कार्यक्रम भोलि हुने निर्वाचन समितिले जनाएको छ ।
सोही साधारणसभामा भाग लिन काठमाडौंको गोंगबुबाट ललितपुरको पुल्चोक स्थित उक्त महासंघको कार्यालय जाने क्रममा प्रतिनिधि तथा जिल्ला सहकारी संघ लि., पर्वतका अध्यक्ष महेन्द्रजङ्ग लामिछानेको आज विहान अकस्मात हृदयघात भएकाले अस्पताल लादै गर्दा बाटो मै असामायीक निधन भएकोमा सो सभाले शोक प्रकट गरी श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

Leave a Reply