तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. नैकापको अध्यक्षमा पुन: मनोज थापा मगर चयन

काठमाडौंको नैकापमा प्रधान कार्यालय र कलंकीमा सदस्य सेवा केन्द्र सञ्चालनमा रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा २०७६ पुस २६ गते पुन: मनोज थापा मगरको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै सम्पन्न भयो । ४ वर्षे कार्यकाल रहने गरी चयन भएको सो सञ्चालक समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमश:गंगाराम दुलाल , बुद्ध तण्डुकार र मनु खनाल क्षेत्री तथा सदस्यहरुमा प्रेमबहादुर महर्जन , रोशनी तण्डुकार ,माधवप्रसाद लम्साल ,सञ्जयचन्द्र श्रेष्ठ र रजतकुमार श्रेष्ठ हुनुहुन्छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामप्रसाद श्रेष्ठ , कस्तुरी भुजेल र प्रतीक न्यौपाने चयन हुनुभएको छ ।
सो संस्थाका अध्यक्ष मनोज थापाको मगरको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको संघीय संसदको प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गर्नुभयो । उहाँले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्दै सहकारी संस्थाहरुले उत्पादनमूलक कार्यमा जोड दिई मुलुकको समृद्धिमा सहयोग गर्नु पर्ने खाँचो औल्याउनुभयो । त्यस सभामा राष्ट्रिय सहकारी महासंघ लि.का लेखा सुपरीवेक्षण समिति संयोजक धर्मदत्त देवकोटा , राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक सदस्य पार्वती थापा लगायतले उक्त संस्थाको प्रगतिको कामना गर्नुभयो । सो सभामा उक्त संस्थाको सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै उक्त सभाका अध्यक्ष थापाले यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने बताउदै हाम्रो यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेकोले शेयर सदस्यहरुले निर्धक्क भएर यस संस्थामा आफ्नो सबै वित्तीय कारोवार गर्न आग्रह गर्नुभयो । सो सभामा उक्त संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश भएको थियो । सोही साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ उक्त संस्थाका शेयर सदस्य संख्या ४,८११ , शेयर पूँजी रु.५,००,१४,००० ,निक्षेप संकलन रु.४१,४१,००,००० , कर्जा लगानी ४२,७१,००,००० , मुनाफा ८६,३२,००० र संस्थाको सम्पति रु.५१,६७,८५,००० रहेको तथा काठमाडौंको चन्द्रगिरि नगरपालिका -१३ , पुरानो नैकापमा कृषि फार्म सञ्चालन गरिरहेको त्यस संस्थाले २०७६ आसार २० गतेबाट लचुवित्त कार्यक्रम सञ्चालन भइरहेको उल्लेख छ ।
सो सभामा उक्त संस्थाका उत्कृष्ट बचतकर्ता, असल ऋणी, तथा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।