श्रीकृष्ण प्रणामी साकोसको कूल कारोवार रु.१७,३६,२०,२६३

0 Shares


ललितपुरको महालक्ष्मी नगरपालिका -१ , इमाडोलमा रहेको श्रीकृष्ण प्रणामी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक बशन्तबहादुर श्रेष्ठले उक्त संस्थामा अघिल्लो वर्षको तुलनामा यस वर्ष शेयर सदस्य र शेयर पूँजी १०/६९ प्रतिशतले बृद्धि भएको बताउनु भएको छ । सहकारी सञ्जाल सँग कुरा गर्दै उहाँले यसै महिनाको दोस्रो साता सम्पन्न यस संस्थाको १३औँ वार्षिक साधारणसभाले पारित गरेका कार्यक्रम कार्यन्वयन गर्ने कार्य भइरहेको बताउनुभयो । सोही संस्थाकी लेखा अधिकृत मीरा के.सी. ले उक्त संस्थाको २०७६ पुष २५ गतेसम्म कूल कारोवार रु.१७,३६,२०,२६३ , शेयर सदस्य संख्या ७५६ , शेयर पूँजी रु.१,६२,६६,४०० , बचत संकलन रु.१३,९७,८०,६३२ र कर्जा लगानी रु.१० ,९१, ७७ ,२१४ रहेको सहकारी सञ्जाललाई जानकारी दिनुभयो ।
त्यस संसथाको २०७६ पुस १२ गते सम्पन्न १३औँ वार्षिक साधारणसभा सो संस्थाका अध्यक्ष नुरप्रकाश प्रधानको अध्यक्षता र महालक्ष्मी नगरपालिकाकी उप-मेयर निर्मला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

प्रमुख अतिथि थापाले उक्त साधारणसभा उद्घाटन गर्दै महालक्ष्मी नगरपालिकाले आफू अन्तर्गतका सहकारीहरुलाई ऐन र नियमावलीको पालना गराई तिनीहरुको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ काम गरिरहेको बताउनुभयो । त्यस सभामा कृष्णप्रणामी सेवा समाज नेपालका श्याम के.सी. , बौद्धिक उ.सं. का चिरञ्जीवी न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै त्यस संस्थाले गरिरहेको प्रगति र सामाजिक कार्यको प्रशंसा गर्दै उत्तरोतर प्रगतिको कामना गर्नुभएको थियो ।
त्यस साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही सभाका अध्यक्ष नुरप्रकाश प्रधानले समाजमा छरिएरहेको स-साना पूँजी संकलन गरी सदस्यहरुको आर्थिक , सामाजिक तथा संस्कृतिक रुपमा जीवन स्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यका साथ सञ्चालन भइरहेको हाम्रो यस श्रीकृष्ण प्रणामी बचत तथा ऋण सहकारी संस्था लि. आफ्ना सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको र यसको वित्तीय अवस्था सन्तोषजनक रहेको बताउनुभयो । उहाँले गत वर्षदेखि १५० देखि ५०० कित्ता सम्म शेयर खरीद गर्ने सदस्यहरुको रु.३ लाख र ५०१ कित्ता देखि माथि आफ्नो शेयर खरीद गर्ने शेयर सदसायहरुको रु.५ लाख वीमा गर्ने कार्यवाई निरन्तरता दिइने छ भन्नुभयो । सोही संस्थाका उपाध्यक्ष खिलप्रसाद घिमिरेले स्वागत मन्तव्य र सचिव हर्षबहादुर थापाले सञ्चालन गर्नु भएको त्यस सभामा कोषाध्यक्ष बालकृष्ण शर्माले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक श्यामबहादुर कार्कीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भयो । उक्त सभाले शेयर सदस्यहरु वीच छलफल गरी ती प्रतिवेदनहरु पारित गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ उक्त संस्थामा बचत संकलन रु.१२,६४,४९,२४३ , कर्जा लगानी रु.१२,१६,६४,३४५ , खुद नाफा रु.३२,२६,७६४ रहेको छ ।
त्यस अवसरमा संस्थाका उत्कृष्ट नियमित बचतकर्ता विष्णु गिरी के.सी. , असल ऋणी रणदीप घिमिरे र असल साना ऋणी सजनी थरुनीलाई सम्मान गरियो भने शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए.का साथ उत्तीर्ण हुने कुमार तिमल्सिना , आयुष के.सी. र दिप्सन थापालाई पुरस्कार सहित सम्मानित गरिएको थियो ।

Leave a Reply