नेपाल इन्भेष्टमेण्ट बैंक लि.द्वारा श्री भीमसेन मन्दिर पुनर्निर्माणका लागि रु.५० लाखको चेक हस्तान्तरण

श्री भिमसेन मन्दिर पुनर्निर्माणका लागि श्री भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिलाई नेपाल इन्भेष्टमेण्ट बैंक लि. ले माघ १ गते एक समारोह वीच सो मन्दिर पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई रु.५० लाखको चेक हस्तान्तरण ग-यो ।
२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित व्यापारीवर्गहरुको आराध्य देवताको रुपमा रहेको श्री भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्ला स्थित विभिन्न जातीय समाज , व्यापारिक वर्ग, संघ /संस्था तथा मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा श्री भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति मार्फत स्थानीय तवरबाट नै आर्थिक श्रोत जुटाउने गरी सो मन्दिरको पुनर्निर्माणको कार्य द्रुतगतिमा भईरहेको छ ।
“हाम्रो सम्पदा हामी आफै बनाउन” भन्ने नाराका साथ काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपन बाहेक रु ४,९३,००,०००।– (चार करोड त्रियानव्वे लाख) को अनुमानित लागतमा शुरु गरिएको श्री भिमसेन मन्दिरको पुनर्निर्माणका लागि विभिन्न संघ, संस्था, व्यक्ति, व्यापारीवर्ग, वित्तीय संस्था, स्थानीय सरकार, प्रदेश सरकार, सांसदहरुबाट समेत आर्थिक सहयोग प्राप्त भइरहेको छ ।
यसै क्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लि. बाट उक्त मन्दिर पुनर्निर्माणका लागि सो बैंकका अध्यक्ष एवं सम्पदा प्रेमी पुथ्वीबहादुर पाँडेले आफ्नो प्रतिवद्धता अनुरुप हाललाई रु. ५० लाखको आर्थिक सहयोग त्यसै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाँण्डे मार्फत हस्तान्तरण गर्नु भएको बताइएको छ । सो आर्थिक सहयोग ग्रहण गर्दै त्यस समितिका अध्यक्ष कृष्णलाल महर्जनले नेपाल इन्भेष्टमेण्ट बैंक लि.को उदारताका लागि हार्दिक धन्यबाद ज्ञापन गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताउनु भयो ।
समितिका सदस्य सचिव मनोजबहादुर न्याछ्योंद्धारा ललितपुर उद्योग वाणिज्य संघको सभाकक्षमा सञ्चालित उक्त कार्यक्रममा उपाध्यक्ष किरणमान प्रधानले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।