दीपावती साकोस , गुईटोलको कूल कारोवार रु.११,७४,३३,५७५
ललितपुर महानगरपालिका -८ , गुईटोलमा रहेको दीपावती बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ मंसीर मसान्तसम्म शेयर सदस्य संख्या ६०५ , शेयर पूँजी रु.९५,००,००० र कूल कारोवार रु.११,७४,३३,५७५ रहेको सोही संस्थाका अध्यक्ष राम शाक्यले सहकारी सञ्जाललाई बताउनुभयो ।

सो संस्थाको २०७६ पुस १२ गते गुईटोलमा २१औँ वार्षिक साधारणसभा उक्त संस्थाका अध्यक्ष राम शाक्यको अध्यक्षतामा सम्पन्न भयो । त्यस साधारणसभाको राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी.(कृष्णबहादुर)उप्रेतीले उद्घाटन गर्दै समुदायमा आधारित यस सहकारी संस्थाको अवस्था राम्रो देखिएको बताउनुभयो । उहाँले ८५ प्रतिशतभन्दा बढी सूचाङ्क कटाउने सहकारी संस्थालाई राष्ट्रिय सहकारी बैंक लि.ले आवश्यक परेमा विना धितो कर्जा उपलब्ध गर्ने बताउनुभयो । त्यस सभामा ललितपुर महानगरपालिका वडा नं.-८ का वडा अध्यक्ष हेम महर्जन ,ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष करुणारत्ने बज्राचार्य , अन्तर सहकारी सुरक्षण कोषका अध्यक्ष अनिलवीर बज्राचार्य , नेफ्स्कूनका भूतपूर्व सञ्चालक सदस्य तथा ललितपुर बौद्ध विहार संघका अध्यक्ष एवं सोही संस्थाका नि:बर्तमान अध्यक्ष नानीकाजी शाक्य लगायतका वक्ताहरुले उक्त संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
अन्तर सहकारी सुरक्षण कोष अन्तर्गतका सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको सो साधारणसभामा त्यसै सभाका अध्यक्ष राम शाक्यले सो संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै हाम्रो यस संस्थाका शेयर सदस्यहरु लगायतको साथ र सहयोगले यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढ्न सफल भएको बताउदै नेपाल सरकारले पछिल्लो समयमा कार्यान्वयनमा ल्याएको ऐन तथा नियमले यस संस्थामा चुनौतीहरु थपिए पनि ती तिनको सामना गर्दै सफलता हासिल गर्न यस संस्थालाई सबै पक्षबाट साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही संस्थाका उपाध्यक्ष सानुकाजी महर्जनले धन्यवाद ज्ञापन र सचिव हरि महर्जनले सञ्चालन गर्नु भएको त्यस सभामा उक्त संस्थाका कोषाध्यक्ष राजमान यहर्जनले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुरज शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त साधारणसभाले छलफल गरी ती प्रतिवेदनहरु पारित गरेको थियो ।
त्यस सभामा सोही संस्था शेयर सदस्य समेत रहेका डाक्टर शैलेन्द्र शाक्य , नेपाल कपडा व्यवसायी महासंघका महासचिव पूर्ण महर्जन लगायतलाई सम्मान गरिएको थियो ।
