अग्निप्रसाद सापकोटा सभामुखमा निर्विरोध चयन

0 Shares

लामो रस्साकस्सी पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटा निर्विरोध सभामुख बन्ने निश्चित भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता तथा भूतपूर्व सभामुख सुवाषचन्द्र नेम्वाङ प्रस्तावक तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै प्रमुख सचेतक देवप्रसाद गुरुङ्ग ,सोही दलकी नेतृ तथा भूतपूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका नेता लक्ष्मणलाल कर्णको समर्थक भई सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं.१ बाट प्रतिनिधित्व गर्नै प्रतिनिधिसभा सदस्य सापकोटाको उम्मेद्वारी मनोनयन भएको थियो । सभामुख पदमा उम्मेद्वारी मनोनयन गर्ने हिजो विहान ११:०० बजेदेखि दिउसो २ बजेसम्मको समय तय भएपनि सो समयमा सापकोटाको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभयो तर यसको ओपचारिक घोषणा भने आउदो माघ १२ गते बस्ने प्रतिनिधिसभाको बैठकमा गरिने भएको छ । त्यसैदिन बस्ने प्रतिनिधिसभाको बैठकको समेत नवनिर्वाचित सभामुख सापकोटाले अध्यक्षता गर्ने बताइएको छ ।
यौन काण्डको आरोप लागेका कारण गत असोजमा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताको आधारमा राजिनामा दिएका कारण ४ महिनादेखि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख चयन आउदो १२ गते हुने भएको छ ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विगत १ महिनादेखि छलफल चलेपनि गत आइतबार मात्रै सभामुख पदमा सापकोटाको नाम टुङ्गो लागेको थियो । त्यससँगै उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले माघ ६ गते उपसभामुख पदबाट राजिनामा दिएपछि सभामुख चयनको बाटो खुलेको थियो । उपसभामुख डा.तुम्बाहाम्फेले पनि सभामुख बन्न कोसिस गर्नु भए पनि उहाँ सफल हुनु भएन । नेपालको संविधान , २०७२ मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दलको हुनु पर्ने व्यवस्था भएका कारण सापकोटा सभामुख बन्न डा.तुम्बाहाम्फेले उपसभामुख पदबाट राजिनाम दिनु परेको थियो । रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पद भने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले राजपालाई दिने निश्चित भएको छ ।
२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माके) बीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभामुख र उपसभामुख पदमा एक दलको व्यक्ति भएकोले ती दुई मध्ये एक पद छाढ्नु पर्ने भनी अडान लिदो आएको थियो तर सभामुख महरा र उपसभामुख डा. तुम्बाहाम्फेले आफूहरुहरु सभामुख र उपसभामुख बनेपछि कुनै पनि दलको सदस्य नभई स्वतन्त्र रुपमा कार्य गरी रहेकोले संविधानमा उल्लेख भएको सभामुख र उपसभामुख पदमा फरक दलको व्यक्ति हुनु पर्ने भन्ने व्यवस्था लागू नहुने भन्दै आउनु भएको थियो । सापकोटालाई सभामुख बनाउन डा.तुम्बाहाम्फेले उपसभामुख पद त्याग्नु परेसँगै राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमा एकै दलका व्यक्तिहरु रहेको बारेमा समेत प्रश्न चिन्ह खडा भएको छ ।

Leave a Reply