सहकारी विभागले ग-यो ५ वटा सहकारी संस्थाको इजाजत खारेज
नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय , सहकारी विभागले आज ५ वटा सहकारी संस्थाहरुको इजाजत खारेज गरेको जनाएको छ । आज इजाजत खारेज भएका ५ वटै सहकारी संस्था कृषि सहकारी संस्था रहेका छन् । सहकारी सिद्धान्त , मूल्य र मान्यता बमोजिम नचलेको पाइएपछि सहकारी ऐन , २०७४ बमोजिम काठमाडौंका हरित कृषि सहकारी संस्था लि. तपोभूमि कृषि सहकारी संस्था लि., भारतीय पूर्व सैनिक कल्याणकारी कृषि सहकारी संस्था लि., समृद्ध कृषि सहकारी संस्था लि.र नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था लि.को इजाजत सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले खारेज गर्ने निर्णय गर्नु भएको बताइएको छ । सहकारी विभागले पहिलो पटक सहकारी संस्थाको खारेज गरेको हो ।
सहकारी ऐन ,२०७४ अनुसार कार्यक्षेत्रका आधारमा संघ , प्रदेश र स्थानीय तहमा सहकारी संस्था डिभिजन सहकारी कार्यालयबाट हस्तान्तरण गरिए सँगै विघटन भएका डिभिजन सहकारी कार्यालयहरु अस्तित्वमा रहदा तिनीहरुले ऐन तथा नियमावली अनुसार नचलेका सहकारी संस्थाहरुको इजाजत खारेज गर्ने गरेका थिए ।
सहरी क्षेत्रमा मात्रै नभई बैंक तथा वित्ती संस्थाहरु पुग्न नसकेका विकट दूरदाज तथा देहातका नागरिकहरुलाई सहकारी संस्थाहरुले वित्तीय सेवा प्रदान गरिरहेका छन् । नेपालमा बचत तथा ऋण , बहुउद्देश्यीय ,कृषि , उपभोक्ता , श्रमिक , माहुरी पालन , चिया ,च्याउ , कफी , स्वास्थ्य , पर्यटन लगायतका विधागत गरी ३४,५०० को हाराहारीमा सहकारी संघ/संस्था अस्तित्वमा रहेको देखिएको छ । तीमध्ये सबैभन्दा बढी अर्थात १४,००० को हाराहारीमा बचत तथा ङण सहकारी संस्थाहरु क्रियाशील छन् । सहकारी मार्फत रु.६ गर्व ५० अर्व जति पूँजी सहकारी संघ/संस्थाहरु मार्फत परिचालन भइरहेको बताइन्छ ।
