उद्यम विकास साकोस , पनौतीको १३औँ स्थापना दिवसमा उत्कृष्ठ उद्यमी महिला सदस्यहरु सम्मानित
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका -७ मा रहेको उद्यम विकास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १३औँ स्थापना दिवसको अवसरमा भव्य कार्यक्रम गरी आफ्ना उत्कृष्ट उद्यमी सदस्यहरुलाई “उद्यमी महिला समान – २०७६” बाट सम्मान गरेको छ । २०७६ माघ ६ गते सोही संस्थाको सभाहलमा उक्त संस्थाका अध्यक्ष रोशनकुमार श्रेष्ठको अध्यक्षता र पनौती नगरपालिकाकी उप-मेयर गीता बञ्जाराको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि बञ्जारा र कार्यक्रमका अध्यक्ष श्रेष्ठले 
सोही संस्थाका शेयर सदस्यहरु मध्ये ऋण कारोवार सँगै नियमित बचत गरी आफै उद्यमी बनी काम गरिरहनु भएका उत्कृष्ट उद्यमी महिला सदस्यहरु दीपा श्रेष्ठ पिया-व्युटीपार्लर ,बसुमाया बल -कुचो (अम्रिसो),गोमादेवी बञ्जारा -मौरीपालन ,दुर्गा परियार -लामाटोपी उत्पादन ,टीकारानी माया वाइवा – काठको -याक/ कुचो र सिर्जना तिमल्सिना-नर्सरी लाई प्रति व्यक्ति रु. ३,००० नगद तथा सम्मान-पत्र प्रदान गरी दोसल्ला ओढाई सम्मान गर्नुभयो । सोही संस्थाका उपाध्यक्ष सुनिल सुन्दर सैंजुले स्वागत मन्तव्य र सचिव ऋषिराम सापकोटाले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा प्रमुख अतिथि बञ्जाराले सम्मानित हुने दिदी बहिनीहरुलाई बधाई तथा सफलताका लागि शुभकामना दिदै महिलाहरु पनि पुरुषहरु भन्दा कम नरहेको र थोरै पूँजीमा पनि सफल उद्यमी बन्न सक्नुका साथै बचत गर्न सक्ने भएकोले महिला दिदी बहिनीहरुलाई अझ बढी भन्दा बढी उद्यमशील भई स्व- आर्जनमा लाग्न यस कार्यक्रमले प्रेरित गर्न सकोस् भन्नुभयो । उहाँले बचत तथा ऋण कारोवार सँगै आफ्ना सदस्यहरुलाई उद्यमशील बन्न सहयोग गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो ।
त्यस अवसरमा मध्यमार्गका प्रधान सम्पादक प्रदीप के.सी. ले विगतका वर्षहरुमा झैं यस पल्ट यस संस्थाले महिला उद्यमीहरुलाई मात्रै सम्मान गरेकोमा खुशी लागेको बताउदै सो संस्थाको उत्तरोतर प्रगतिको कामना व्यक्त गर्नुभयो । त्यसैगरी सहयोगी रोजगारदाता सेवा केन्द्रकी प्रमुख जुना के.सी.ले यस संस्थाले दिन दुगुना , रात चौगुना प्रगति गरिरहेको देखिएको तथा महिलाहरुले पनि अवसर पाउदा समाजमा केही गर्न सक्नु हुन्छ भन्ने यस कार्यक्रमबाट सन्देश प्रवाह भएको बताउनुभयो । त्यस अवसरमा सम्मानित हुने महिला उद्यमी सदस्यहरुको तर्फबाट टीकारानी माया वाइवाले २०६४/०६५ सालमा यस संस्थाबाट रु.२०,००० लिई उद्यम शुर गरेको र आजको दिनमा त्यही उद्यम विकास हुदै गएर १२ जनालाई आफू स्वयमले राजगारी प्रदान गर्न सकेकोमा गौरवान्हित महसूस भएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता गरिरहनु भएका सोही संस्थाका अध्यक्ष रोशनकुमार श्रेष्ठले यस संस्थाका शेयर सदस्यहरुको स्नेह , विश्वास र सहयोग तथा संस्थाको सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति , उप-समितिहरु एवं व्यवस्थापन पक्षको सक्रियताका साथै सुभचिन्तकहरुको सुभेच्क्षाले यो संस्था निरन्तर प्रगति गर्दै राम्रो अवस्थामा रहन सकेकोमा सबैप्रति आभार व्यक्त गर्दै र भविष्यमा पनि यसरी नै हाम्रो यस संस्थाले सबैबाट साथ र सहयोग पाइरहने विश्वास व्यक्त गर्नुभएको थियो ।
