आफ्नै भवनबाट शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै मन मनकामना साकोस

काठमाडौं महानगरपालिका -८ , गुहेश्वरीमा रहेको मन मनकामना बचत तथा ऋण सहकारी संस्था लि.का म्यानेजिङ्ग डाइरेक्टर रामेश्वर चौलागाईले 
हाम्रो यस मन मनकामना बचत तथा ऋण सहकारी संस्था लि.को ७औँ वार्षिक साधारणसभा हुँदासम्म शेयर पूँजी रु.३ करोड १५ लाख, , शेयर सदस्य संख्या ५५० , निक्षेप संकलन रु.१३ करोड र लगानी रु.१० करोड ७० लाख रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.५ करोड र शेयर सदस्य संख्या ७०० , निक्षेप संकलन र कर्जा लगानी रु.१६/१६ करोड पु-याउने लक्ष्यका साथ कार्य सञ्चालन गरिरहेको सहकारी सञ्जाललाई बताउनुभयो । सो संस्थाले गुह्येश्वरी महादेव होटल नजिक ०-३-० जग्गामा रु.२ करोड ३० लाख ४७हजार १ सय ४६ मा खरीद गरेको आफ्नै साँढे दुई तले भवनबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्न थालेको छ । सोही संस्थाका अध्यक्ष सोमप्रसाद चौलागाईले २०७६ माघ १ गते उक्त भवनबाट वित्तीय कारोवारको शुभारम्भ गर्नु भएको सोही संस्थाले जनाएको छ ।
उक्त संस्थाको ७औँ वार्षिक साधारणसभा सो संस्थाका अध्यक्ष सोमप्रसाद चौलागाईको अध्यक्षतामा २०७६ पुस २६ गते आर.बी. होम कन्सर्न , मित्रपार्क हाइटमा सम्पन्न भयो । विराटनगर जुट मिलका भूतपूर्व जीएम तथा समाजसेवी राजनकुमार पोखरेलले एक समारोहका वीच त्यस साधारणसभाको उद्घाटन गर्दै यस मन मनकामना साकोसको प्रतिवेदनमा उल्लेखित सूचांङ्क हेर्दा यो संस्था सहकारी सिद्धान्त , मूल्य र मान्यता अनुसार सञ्चालन भई प्रगतिपथमा अगाडि बढिरहेकोले यसका शेयर सदस्यहरुले यस संस्थामा ढुक्क भएर कारोवार गर्दा हुन्छ भन्नुभयो । सो साधारणसभामा त्यसै संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही सभाका अध्यक्ष सोमप्रसाद चौलागाईले आर्थिक तथा सामाजिक विकासका लागि सहकारी अभियानमा सरिक बनौँ भन्ने मूल नारामा समाहित हाम्रो यस मन मनकामना सहकारी संस्था लि.का सदस्यहरुमा छुट्टै पहिचान र साख छ भन्ने मैले बुझेको छु र हाम्रो यस संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको बताउनुभयो । सो संस्थाका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले स्वागत मन्तव्य र सचिव दीपकराज पराजुलीले सञ्चालन गर्नु भएको सो साधारणसभामा उक्त संस्थाका कोषाध्यक्ष गौतमलाल जोशीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक राजेन्द्रनाथ लोहनीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सोही साधारणसभाले शेयर सदस्यहरु वीच छलफल गरी पारित गरेको ती प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.२,८४,६३,८०० , निक्षेप हिसाव रु.७,२५,७५,२१२ , ऋण लगानी रु.८,३३,३९,२६५ र वासालात रु.११,४७,९९,५४३/८९ रहेको उल्लेख छ ।
त्यस सभामा सोही संस्थाका उत्कृष्ट कारोवार गर्ने सदस्य लगायतलाई सम्मान गरिएको थियो ।
