ऐनमा देखिएका विरोधाभाषहरु संशोधन मार्फत हटाईने : अध्यक्ष पौड्याल
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले सहकारी ऐनमा देखिएका विरोधाभाषहरु शंसोधन मार्फत हटाईने बताउनु भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा सम्पन्न सहकारीका समसामयीक विषयमा बागलुङमा अवस्थित सहकारी संघहरु बीचको अन्तरकृया गोष्ठीमा प्रमुख अतिथि पौड्यालले सो कुरा बताउनुभएको हो ।
पौड्यालले सहकारी ऐन संशोधनका लागि सबै तहमा गृहकार्य भईरहेको बताउदै सहकारी अभियानबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै थप उपलब्धीहरु हाँसिल गर्नका लागि ऐनमा देखिएका विरोधाभाषहरु संशोेधन मार्फत समाधान गरिने बताउनुभयो ।
फरक प्रसंगमा पौड्यालले बागलुङ जिल्ला सहकारीको उर्भर भूमि भएको बताउदै सहकारी अभियानका सबै तहमा बागलुङको नेतृत्व तहमा पुग्नुले पनि यसको पुष्टि हुने बताउनु भयो । बागलुङ जिल्लालाई सहकारीको सिकाई गन्तव्यको रुपमा विकास गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक हुमाकुमारी जी.सी. (अञ्जु), राष्ट्रिय सहकारी बैंकल.का सञ्चालक रामवहादुर जी.सी. लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कमला गिरी, नेफ्स्कून पोखरा फिल्ड कार्यालयका बरिष्ठ अधिकृत भरत न्यौपाने लगायत जिल्लाका संघ /संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम कै क्रममा नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष परितोष पौड्याल, सञ्चालक सदस्य कमला गिरी, राष्ट्रिय सहकारी महासंघ लि., नेपालका नवनिर्वाचित सञ्चालक हुमाकुमारी जी.सी. (अञ्जु) लाई संघको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।
कार्यक्रम संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, जिल्ला सहकारी संघ लि. बागलुङका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीको स्वागत र सचिव ऋषीराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
(नेफ्स्कून खबरबाट साभार)

