सहकारी ऐन २०७४ संशोधनको बहश, सहकारीहरुले विषयगत उद्देश्य केन्द्रित कारोबारमा जोड दिनुपर्ने सरोकारवालाहरुको भनाई
नेपाल सरकारका संघीय सांसद एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्तरगत कृषि तथा सहकारी उपसमिति संयोजक माननीय घनश्याम खतिवडाले कानूनले तोकेको सीमाभित्र रहेर सहकारीहरुले आ–आफ्नो उद्देश्य अनुरुपको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहकारीहरुले ऐनले तोकेको विषयगत व्यावसायिक सीमाभित्र रहेर कार्य गर्नुपर्ने र त्यसमा असहजता रहेमा आवश्यकता अनुरुप ऐनभित्र संशोधन गर्न सकिने बताउनुभयो ।
आज नेपाल सहकारी पत्रकार समाजको आयोजनामा काठमाडौंमा सम्पन्न सहकारी ऐन २०७४, संशोधन किन ? विषयक छलफल कार्यक्रममा बोल्दै माननीय खतिवडाले सहकारीलाई नाफा कमाउने उद्देश्य केन्द्रीत नगरी सदस्य सेवामुखी बनाएर राष्ट्रिय लक्ष्य र राष्ट्रिय हितका लागि कार्य गर्न अनुरोध गर्नुभएको हो । उहाँले सम्पूर्ण सहकारीहरुले विषयगत जिम्मेवारीलाई सम्मान गर्दै सहकारी ऐनलाई समृद्ध बनाएर र ऐनको सम्मान गरेर मात्र एकसाथ अगाडि बढ्न सकिने बताउनुभयो ।
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीहरुले सजिलो कारोबार तर्फ आकर्षित हुन खोजेर आआफ्नो विषगत जिम्मेवारी र ऐन कार्यान्वयनको पक्षलाई वेवास्ता गरी संशोधनको विषयलाई मात्र जोड दिन खोज्नुले सहकारी अभियान नै कानुनी परिपालनामा कमजोर देखिएको बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले ऐनको स्रोत के हो ? र ऐन संशोधन किन चाहियो भन्ने विषयमा प्रष्ट पार्दै विश्व ऋण परिषद्ले जारी गरेका सिद्धान्तहरुलाई स्वीकार गरी विषयगत सुशासन र वित्तीय सन्तुलन कायम गरी हामीले हाम्रा संस्थाहरुको संरक्षण र वित्तीय जोखिम न्यूनीकरणका लागि ऐक्यवद्धताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बचत तथा ऋणको कारोबार गर्ने सहकारीभन्दा फरक प्रकृतिका विषयगत सहकारीहरुको प्रतिनिधित्व गर्ने सहकारीका प्रतिनिधिहरुले ऐन संशोधनको बिषयमा जोडिँदा सहकारी अभियानमा दुरगामी प्रभाव पर्ने विषयप्रति सचेत भएर र भोलि पर्न सक्ने सम्भावित दुर्घटनाप्रति सशंकित भएर सोच्न अनुरोध गर्नुभयो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले सहकारी ऐन २०७४, ७५ प्रतिशत अनुकुल र २५ प्रतिशत मात्र प्रतिकुल रहेको विचार व्यक्त गर्दै अत्यावश्यक भएका विषयमा मात्र ऐन संशोधनको विषय अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, जुन सहकारी संस्थाले नाम अनुसारको काम गर्न सक्दैन र बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रीत रहन्छ त्यस्तो संस्था बचत तथा ऋण सहकारीमा रुपान्तरण हुनुपर्नेमा जोड दिनुभयो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता चन्द्र प्रसाद ढकालले सहकारी संस्था दर्ता प्रक्रियामा २२ प्रकृतिका सहकारी संस्था दर्ता हुने तर फरक प्रकृतिका सहकारी संस्थाहरुको औचित्यता देखेर पनि बचत तथा ऋणलाई नै प्रमुखता दिने हो भने संस्थाको उद्देश्य, ध्येय, विधि, नीति र योजना एकातिर, प्राथमिकता अर्कोतिर हुनुले अहिलेको वस्तुस्थितिमा फरक प्रकृतिका सहकारीहरुको औचित्यता र सान्दर्भिकता नरहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम पाठक, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सचिव माधव तिमिल्सिना, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ लि.का कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटा, जिल्ला वहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापा, कास्कूनका सचिव शालिकराम पुडासैनी, राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्रा कुमारी सुब्बा थाम्सुहाङ, विभिन्न विषयगत प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायतले ऐन संशोधनको आवश्यकता र औचित्यता माथि प्रश्न र आफ्ना जिज्ञासाहरु राख्नुभएको थियो ।
छलफल कार्यक्रम सहजीकरण नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिला दाहालले गर्नुभएको थियो ।
(नेफ्स्कून खबर साभार)

