रासायनिक तथा प्राङ्गारिक मल पसल सञ्चालनको तयारी गर्दै निरपुर गणेश साकोस , निकोसेरा


भक्तपुरको मध्यपुर थिमि नगरपालिका -९ , निकोसेरामा रहेको निरपुर गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ माघ १२ गतेसम्म शेयर सदस संख्या ८२२ , शेयर पूँजी रु.३० लाख ७३ हजार ३०० , निक्षेप संकलन रु.१ करोड ८७ लाख र कर्जा लगानी रु.१ करोड ९५ लाख रहेको सोही संस्थाका सचिव प्रकाश धौबञ्जारले सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले हाम्रो यस संस्थाले शेयर पूँजी बढाउने , कृषिमा लगानी गर्ने , आर्थिक वर्ष २०७७/०७८ बाट शुरु गर्ने गरी यहीँ निकोसेरामा रासायनिक मल तथा प्राङ्गारिक मल पसल खोल्ने तयारी भइरहेको र बचत तथा ऋण कारोवार सँगै रेमिट्यान्स सेवा सञ्चालनको लागि IME लगायतका रेमिट कम्पनीहरु सँग कुरा भइरहेको बताउनुभयो । ४ जना कर्मचारी कार्यरत सो संस्थाले बचत तर्फ साधारण बचत , विशेष बचत , दैनिक बचत , नारी बचत , नियमित बचत , आवधिक बचत र वाल बचत तथा कर्जा तर्फ व्यवसाय कर्जा , कृषि कर्जा , हायर पर्चेज कर्जा , व्यक्तिगत घरायसी कर्जा र मुद्धती धितो कर्जा सञ्चालनमा रहेको उहाँको भनाई छ ।
मध्यपुर थिमि नगरपालिका भित्र कार्यक्षेत्र रहेको स्थानीय समुदायमा आधारित उक्त संस्थाको १०औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष विष्णुप्रसाद लोहलाको अध्यक्षतामा २०७६ पुस २५ गते निकोसेरा पार्टी प्यालेसमा सम्पन्न भयो । सोही संस्थाका जेष्ठ शेयर सदस्य दिलबहादुर कोजुले उद्घाटन गर्नु भएको त्यस साधारणसभामा त्यसै संस्थाका सचिव प्रकाश धौबञ्जारले सो संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समिति संयोजक विकाश कासुलाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले सबै प्रतिवेदनहरु पारित गरेको थियो ।

