नव युवा साकोस , मिखबहालको आयोजनामा पूर्ण तथा व्यवसायिक साकोस कार्यक्रम अन्तर्गतको १९औँ कार्यकुसलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

0 Shares

ललितपुरको मिखबहालमा रहेको नव युवा बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा पूर्ण तथा व्यवसायिक साकोस कार्यक्रम अन्तर्गतको १९औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आयोजक संस्थाका अध्यक्ष अशोक महर्जनको अध्यक्षतामा २०७६ माघ ८ गते ललितपुरको पाटनढोका-मिखबहालमा रहेको नव युवा गुठीघरमा सम्पन्न भयो । नेफ्स्कूनको प्रोवेशन ब्राण्ड कार्यक्रम सहभागी १० वटा साकोसहरुको सहभागिता रहेको सो कार्यशालाको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा अध्यक्ष पौड्यालले मन्तव्य व्यक्त गर्दै सहकारी ऐन , २०७४ को नमिलेका केही दफा संशोधन गर्ने सवालमा अभियानका साथीहरुले सबै प्रकृतिका सहकारी संस्थाहरुले बचत र ऋण कारोवार गर्नु पाउनुपर्छ भनेर राख्नु भएको मागले सहकारी अभियान नै दुर्घटनामा पर्न सक्ने भएकोले बचत तथा ऋण सहकारी अभियानलाई सो माग मान्य नहुने बताउनुभयो । उहाँले सहकारी ऐन , २०७४ र सहकारी नियामावली , २०७५ मा व्यवस्था भएको कर्जा सूचना केन्द्र , बचत तथा ऋण सुरक्षण कोष र कर्जा असुली न्यायधीकरणलाई पूर्णता दिन भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय र सम्बन्धित निकाय वीच कार्यविधि निर्माण लगायतका विषयमा तीब्र छलफल चलिरहेकोले त्यसले चाडै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । स्थीरिकरण कोष छिट्टै कार्यान्वयन आउने उहाँको भनाई थियो ।
त्यस अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलले आफूले पनि प्रोवेशन ब्राण्डको बारेमा अध्ययन गरिरहेको बताउदै यस कार्यशालाले सहकारी संस्थाको गुणस्तर बृद्धिमा सहयोग पुगोस् भनी कामना गर्नुभयो ।
आयोजक नव युवा बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष रवि महर्जनले स्वागत मन्तव्य र सचिव शान्त बज्राचार्यले सञ्चालन गर्नु भएको उक्त कार्यशालाको नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले सहजीकरण गर्नु भएको थियो । त्यस कार्यक्रममा सबै संस्थाका व्यवस्थापक अनिवार्य र अर्को एक जना विशेषत: प्रोवेशन कार्यदलको संयोजक रहने या सम्बन्धित संस्थाको जो कोही उपस्थिति हुने व्यवस्था रहे अनुरुप त्यस कार्याशालामा ४० जनाको सहभागिता रहेको थियो । पूर्ण तथा व्यसायिक साकोस कार्यक्रम (प्रोवेशन ब्राण्ड कार्यक्रम) अन्तर्गत हिमाल र पल्स गरी ५० वटा बूँदाहरु मध्ये के कति उपलब्धी भयो भन्ने बारेमा त्यस कार्यशालामा सहभागी संस्थाहरुका व्यवस्थापकहरु क्रमश: आयोजक संस्था नव युवा बचत तथा ऋण सहकारी लि.का ज्ञानीबाबु महर्जन , पद्मावती बचत तथा ऋण सहकारी संस्था लि.का उत्तम बज्राचार्य , एकता बचत तथा ऋण सहकारी संस्था लि. की सुलोचना जोशी , लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि.का मनोज रायमाझी , राधे कृष्ण बचत तथा ऋण सहकारी संस्था लि.का शेरचन रेग्मी , ज्योति मिर्मिरे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.का गोपाल दाहाल , मोडेल बचत तथा ऋण सहकारी संस्था लि.का करुण सागर श्रेष्ठ , ऐँचोपैचो बचत तथा ऋण सहकारी संस्था लि.का कमल कार्की , श्रीमाई बज्रबाराही बचत तथा ऋण सहकारी संस्था लि. का रत्नगोपाल डंगोल र होष्टे हैंसे बचत तथा ऋण सहकारी संस्था लि. का संगमराज पाण्डेले आ-आफ्नो संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ती सबै प्रतिवेदनहरु उपर सहभागीहरु वीच छलफल भएको थियो । त्यस अवसरमा नेफ्स्कूनका सच्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्नुका साथै उहाँहरुको कार्यकाल सफलताको लागि शुभकामना प्रदान गरिएको थियो ।
प्रोवेशन ब्रण्ड अन्तर्गतको हिमाल र पल्स गरी ५० वटा बूँदा पार गरेपछि भने सहभागी संस्थाहरुको प्रोवेशन ब्राण्ड प्रक्रिया अगाडि बढ्ने गरेको सहभागीहरुको भनाई छ ।

सो प्रोवेशन ब्राण्ड कार्यक्रम अन्तर्गतको २०औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला श्रीमाई बज्रबाराही बचत तथा ऋण सहकारी संस्था लि., चापागाउँमा हुने तय भएको नव युवा बचत तथा ऋण सहकारी संस्था लि. का व्यवस्थापक ज्ञानीबाबु महर्जनले सहकारी सञ्जाललाई बताउनुभयो ।
उता सो कार्यशालाको आयोजक नव युवा बचत तथा ऋण सहकारी संस्था लि.को २०७६ पुस मसान्तसम्म पुरुष १,११५ र महिला ८३७ गरी शेयर सदस्य संख्या १,९५२ , शेयर पूँजी रु.२,९१,११,३०० , संस्थागत पूँजी रु.१,८०,६९,१७६ ,अन्य कोषहरु रु.४१,७४,०१४ , निक्षेप संखलनसरु.२६,१२,८६,५६३ र कर्जा लगानी रु.२१,७५,५६,९०० रहेको बताइएको छ ।

Leave a Reply