श्रीमाई बज्रवाराही साकोस , चापागाउँले आफ्नो नवनिर्मित भवन र सदस्यहरुको दुर्घटना वीमा गर्ने

ललितपुर महानगरपालिकाको गोदावारी नगरपालिका -११ , चापागाउँमा आफ्नै साँढे ४ तले भवनबाट आफ्ना सेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको श्रीमाई बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि.ले माघ १६ गते विहीवार आफ्नो १५औँ स्थापना दिवस मनाउन लागेको जनाएको छ । सो संस्थाले आफ्नो नवनिर्मित भवन तथा सदस्यहरुको दुर्घटना वीमा गर्ने तयारी भइरहेको सहकारी सञ्जाल सँग कुरा गर्दै उक्त संस्थाका प्रवन्धक रत्न गोपाल डंगोलले हाम्रो यस बज्रवाराही साकोसले आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.३ करोड पु-याउने लक्ष्यका साथ काम गरिरहेको र २०७६ माघ १४ गतेसम्म यसको शेयर सदस्य २,४५५ , शेयर पूँजी रु.१,८६,९३,१४८ ,निक्षेप संकलन रु.१८,६८,४४,९३१ र कर्जा लगानी रु.१८,८४,२७,२२८ र कूल कारोवार रु. २६ करोड रहेको बताउनुभयो । उहाँले कृषि तथा उद्यमी सदस्यहरुको लागि व्यवसाय विकास तथा प्रवर्द्धन तालिम सञ्चालन गर्ने तयारी हुदैछ भन्नुभयो ।
उक्त संस्थाको १४औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष रामभक्त महर्जनको अध्यक्षतामा 
२०७६ पुस २६ गते फुलवारी पार्टी प्यालेस , झरुवाराशी , ललितपुरमा सम्पन्न भयो । सो साधारणसभाको उद्घाटन गर्दै 
ललितपुर क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य नवराज सिलवालले सहकारी संस्थाहरु बचत र ऋण कारोवारमा मात्रै सिमित नभई कृषि जस्ता उत्पादनमूलक कार्य गरी उत्पादन र रोजगारी बृद्धि हुने गरी कार्य गर्नु पर्नेमा जोड दिनुभयो । त्यसै संस्थाका दिवंगत सदस्यहरुप्रति श्रद्धाञ्जलि प्रकट गरी सञ्चालन भएको सो साधारणसभामा गोदावारी नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष निलबहादुर देसार ,महानगरीय प्रहरी वृत्त , चापागाउँका प्रहरी नायव उपरीक्षक कृष्णराज ओजा , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष दीपक घिमिरे , ललितपुर जिल्ला कृषि संघ लि. का सचिव पुरुषोताम हुमागाई ,ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.की प्रतिनिधि लक्ष्मीतारा डंगोल र सोही संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार जगमोहर मेयर कायस्थले शुभकामना मन्तव्य व्यक्त गर्दै स्थापना भएको छोटो समयमा यो संस्थाले राम्रो प्रगति गरेको देख्ता खुशी लागेको भन्दै यसको उत्तरोतर प्रगतिको कामना गर्नु भएको थियो । आसपासका विभिन्न सहकारी संस्थाहरु तथा समाजका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको आतिथ्यता रहेको त्यस साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सो सभाका अध्यक्ष रामभक्त महर्जनले सहकारीका माध्यमबाट समाजमा छरिएर रहेको स-सानो पूँजी संकलन गरी राष्ट्रको समृद्धिमा योगदान पु-याउने उद्देश्यले स्थापना भएको हाम्रो यस श्रीमाई बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको अटुट माया , विश्वास तथा दरिलो साथ र सहयोग एवं व्यवस्थापन पक्षको योगदानका कारण निरन्तर प्रगति गरी सन्तोषजनक अवस्थामा रहन सकेको बताउदै यसले समाजमा आफ्नो उपस्थिति सशक्त र व्यवस्थापनलाई दरिलो बनाउन PEARLS अनुगमन प्रणाली अन्तर्गत दैनिक कार्य गर्दै आएको छ भन्नुभयो । सो संस्थाका उपाध्यक्ष देवेन्द्र श्रेष्ठले स्वागत मन्तव्य , सचिव महेश श्रेष्ठले सञ्चालन र सह-सचिव विश्वनाथ श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको त्यस सभामा उक्त संस्थाका कोषाध्यक्ष बुद्धिबहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक जलकृष्ण सिंहले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त साधारणसभाले पारित गरेको प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर सदस्य संख्या २,४३१ , शेयर पूँजी रु.१,८१,५२,४०० , वचत संकलन रु.१८,४५,०३,६२६ र कर्जा लगानी रु.२०,३१,३१,६२० रहेको उल्लेख छ ।
सोही सभामा २ पटक सगरमाथाको सफल आरोहण गर्ने गोदावारी नगरपालिका -१२, ठेचोकी कल्पना महर्जन तथा त्यसै संस्थाका जेष्ठ सदस्यद्वय ८५ वर्षीय हर्षमाया महर्जन र ८१ वर्षीय मोतीलाल महर्जनलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसैगरी २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ठ GPA का साथ उत्तीर्ण हुने सोही संस्थाका सदस्यद्वय श्री बज्रवाराही सेकेण्डरी स्कुल , चापागाउँ , ललितपुरका सुदिप घिमिरे र लिटिल एञ्जेल्स स्कुल , हात्तीवन , ललितपुरका डेभिश महर्जनलाई पुरस्कार सहित सम्मान गरिएको थियो । त्यस अवसरमा सोही सभाका अध्यक्ष महर्जनले प्रमुख अतिथि नवराज सिलवाललाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
त्यस साधारणसभाले ४ वर्षे कार्यकाल रहने गरी पुन: रामभक्त महर्जनको अध्यक्षतामा निर्विरोध सो संस्थाको सञ्चालक समिति चयन ग-यो । उक्त सञ्चालक समितिको उपाध्यक्षमा देवेन्द्र श्रेष्ठ , सचिवमा महेश श्रेष्ठ ,सह-सचिव विश्वनाथ श्रेष्ठ , कोषाध्यक्षमा सानुबाबु श्रेष्ठ , सह-कोषाध्यक्षमा विष्णु महर्जन तथा सदस्यहरुमा धनलाल महर्जन , नरोत्तम श्रेष्ठ , राजेन्द्र महर्जन , पूर्णकुमारी महर्जन र जलकृष्ण सिंह रहनु भएको छ भने लेखा सुपरीवेक्षण समितिको संयोजकमा बुद्धिबहादुर श्रेष्ठ एवं सदस्यमा रामगोविन्द महर्जन र अनु श्रेष्ठ चयन हुनु भएको छ ।
सोही दिन सो संस्थाको ५ आना जग्गामा रु.१ करोड ४३ लाख लागतमा नवनिर्मित साँढे ४ तले भवनको गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले उद्घाटन गर्नुभयो ।



त्यस अवसरमा उहाँले सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभएको थियो ।

