नवरत्न साकोस , टौखेलको आर्थिक वर्ष २०७६/०७७ मा कूल कारोवार रु.२२ करोड पु-याउने लक्ष्य

ललितपुरको गोदावारी नगरपालिका -३ , टौखेलमा सञ्चालनमा रहेको नवरत्न बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष देवराज गिरीले आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थाको शेयर पूँजी रु.१ करोड २० लाख , शेयर सदस्य संख्या १.२०० , बचत संकलन रु.२० करोड ,, कर्जा लगानी रु.१८ करोड र कूल कारोवार रु.२२ करोड पु-याउने लक्ष्यका साथ कार्य सञ्चालन भइरहेको सहकारी सञ्जाललाई बताउनुभयो ।
सो संस्थाको १३औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष विष्णुहरि आचार्यको अध्यक्षतामा

२०७६ पुस २६ गते गोदावारी पाटी प्यालेस , टौखेलमा सम्पन्न भयो । गोदावारी नगरपालिका वडा नं.३ का वडा अध्यक्ष बालमुकुन्द घिमिरेले उक्त साधारणसभाको उद्घाटन गर्दै सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गर्नु पर्नेमा जोड दिनुभयो । उहँले गोदावारी नगरपालिकाले जारी गरेको आफ्नो सहकारी ऐनमा समुदायमा आधारित सहकारी संस्थाहरुका विषयबस्तु समेटिन नसकेको भए छुटेका विषय नगरपालिकामा पेश भएमा सो ऐन संशोधन गरी तिनलाई समावेश गर्न आफूले सहयोग गर्ने बताउनुभयो । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक सदस्य वशन्त माली , क्षेत्रीय सहकारी सञ्जाल गोदावारीका अध्यक्ष सुनन्द घिमिरे र सोही संस्थाका कानुनी सल्लाहकार यादव सिलवालले त्यस सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै यस नवरत्न साकोसले बचत तथा ऋण कारोवारसँग आफ्ना सदस्यहरुको आर्थिक तथा सामाजिक रुपमा जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन गर्दै प्रगतिपथमा अगाडि बढिरहेको देखाता खुशी लागेको बताउदै सो संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । क्षेत्रीय सहकारी सञ्जाल गोदावारी अन्तर्गतका सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको त्यस साधारणसभामा सोही संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सो सभाका अध्यक्ष विष्णुहरि आचार्यले साविक बडिखेल , गोदामचौर , गोदावारी , ठैव , विशंखुनारायण गा.वि.स.हरुलाई कार्यक्षेत्र बनाई ३४ जना शेयर सदस्यहरुको रु.३१,२०० शेयर रकमबाट १३ वर्ष अगाडि स्थापना भएको यस नवरत्न बचत तथा ऋण सहकारी संस्था लि. को सदस्यहरुको विश्वास र सहयोगले २०७६ असार मसान्तसम्म आइपुग्दा यस संस्थाको कूल कारोवार रु.१८,१४,१४,७६५/९१ पुगेको बताउनुभयो । उहाँले यस संस्थामा सदस्य बनी सकेपछि कोही पनि पैसा नभएकै कारणले व्यवसाय सञ्चालन गर्न , स्वास्थ्य उपचारमा समस्या र उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नपरोस् भनी समय र परिस्थिति हेरेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा ऋण लगानी तथा अनुदान सहयोग गर्ने जानकारी दिनुभयो । सोही संस्थाका सल्लाहकार निरञ्जन आचार्यले सञ्चालन गर्नु भएको उक्त सभामा त्यस संस्थाका कोषाध्यक्ष देवराज गिरीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक गणेश नगरकोटीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त साधारणसभाको बन्द-सत्रमा छलफल भई पारित भएका प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर सदस्य संख्या ५७४ , शेयर पूँजी रु.९१,१३,७०० , बचत संकलन रु.१६,३०,५३,९७२/०५ , कर्जा लगानी रु.१३,५८,२२,४९० रहेको तथा सो संस्थाले क्षेत्रीय सहकारी सञ्जाल गोदावारीले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवालाई सो संस्थाले रु.२५ हजार प्रदान गर्नुका साथै आफ्ना महिला शेयर सदस्य सुत्केरी भएमा सुत्केरी खर्च वापत रु.२,००० , शेयर सदस्यको मृत्यु भएमा सद्गद् खर्च वापत रु.५,००० प्रदान गरिने र संस्थाको एक कार्यक्षेत्रबाट आर्थिक रुपमा अति विपन्न सदस्य वा सदस्यको परिवारलाई अध्ययनका लागि छात्रबृद्धिको व्यवस्था गरेको उल्लेख छ ।
त्यस सभामा सोही संस्थाका कर्मचारीहरु रेजिना विष्ट , आशिष सिलवाल , मनिता राई , सतिदेवी सिलवाल , सुजन वि.क. , फुलमाया वि.क. र सोनी विशुंखेलाई सम्मान गरिएको थियो ।
त्यस साधारणसभाले ४ वर्षे कार्यकालका लागि पुन: विष्णुहरि आचार्यको अध्यक्षतामा निर्विरोध सञ्चालक समिति चयन ग-यो । उक्त सञ्चालक समितिको उपाध्यक्षमा लक्ष्मी विष्ट , सचिवमा रमेश तामाङ्ग , कोषाध्यक्षमा देवराज गिरी तथा सदस्यहरुमा श्यामबहादुर पौडेल , आशा तामाङ्ग र दीपा खत्री हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समिति संयोजकमा रामहरि खड्का तथा सदस्यहरुमा गणेश नगरकोटी र हरिकृष्ण सार्की चयन हुनुभएको छ ।











