कागेश्वरी मनोहरा नगरपालिका वडा नं.३ भित्रका सहकारी संस्थाहरु वीच एकीकरणको पहलका लागि हजुरको त्रिवेणी साकोसले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ

– सनोज भट्टराई ,सचिव , काठमाडौं जिल्ला समिति , नेशनल को-आपरेटर्स एलायन्स , नेपाल तथा अध्यक्ष , हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि. , कागेश्वरी मनोहरा नगरपालिका -३ ,भद्रवास
सनोज भट्टराई विगत १८ वर्षदेखि निरन्तर सहकारी अभियानमा क्रियाशील हुनुहुन्छ । उहाँले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-३ , भद्रवासमा रहेको हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भएदेखि हालसम्म नेतृत्व गरिरहनु भएको छ । नेशनल को-अपरेटर्स एलायन्स , नेपाल , काठमाडौं जिल्ला समितिको सचिव समेत रहनु भएका भट्टराईसँग हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी सस्था लि.को गतिविधि लगायतका सहकारी क्षेत्र सँग सम्बद्ध समसामयिक विषयमा केन्द्रित रहेर सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. नेशनल को-आपरेटर्स एलायन्स , नेपाल , काठमाडौं जिल्ला समिति यतिबेला के गर्दैछ नि ?
~ नेशनल को- अपरेटर्स एलायन्स ,नेपाल , काठमाडौ जिल्ला समितिले अघिल्लो महिना सम्पन्न जिल्ला सहकारी संघ लि., काठमाडौं र नेफ्स्कूनको अधिवेशनमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरे पश्चात हाललाई सहकारी संस्थाहरु वीच एकीकरणको विषयमा छलफल चलाई त्यसको निमित्त आवश्यकता अनुसार सहजीकरणको भूमिका निर्वाह गर्ने सोचका साथ कार्य अगाडि बढाएको छ ।
२. सहकारी ऐनका विषयमा चाहिँ सो संस्थाको धारणा के छ नि ?
~सहकारी एेन संशोधन अहिलेको अावश्यकता भएको
हुनाले यस बारेमा घनिभूत रुपमा छलफल गरी सहकारी एेनलाई सहकारी मैत्री बनाउनु पर्दछ । सहकारी संस्था स्थापनाको क्रममा आफ्नो प्रमुख उद्देश्य जे राखिएकाे छ , त्यसलाई नै आफ्नो कारोवारको प्रमुख विषय ठानी संस्था सञ्चालन गर्नुपर्छ । हाल बजारमा अनेकौं विषयका संस्थाको होडिङ बोर्ड भएतापनि कारोबार भने बचत तथा ऋण कै गरेको पाईएकोले अन्यत्र क्षेत्र अाेझेलमा परेको हुनाले सम्बन्धित संस्थाले आफ्नो मुख्य उद्देश्य
अनुरुप नै कार्य अगाडि बढाउनु पर्दछ भन्ने हाम्रो बुझाई हो । एक व्यक्ति- एक सहकारी, एक वडा- एक सहकारी, सन्दर्भ व्याजदर अादि विषय कत्तिको व्यवहारिक र सान्दर्भिक छ ? सोको बारेमा सुक्ष्म अध्ययन गर्नुपर्ने देखिन्छ । विभिन्न कोषहरु, ऋण असुली न्यायाधीकरण, कालोसूची लगायतका यावत् विषयहरुमा नेपाल सरकारले प्रभावकारी रूपमा कार्यको थालनी गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।
३. यतिबेला हजुरको त्रिवेणी साकोसको गतिविधि के छ ?
~ हाम्रो यस हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि.को मूल उद्देश्य भनेको बचत तथा ऋण कारोवार नै हो । सहकारी ऐन /नियमावली अनुसार समयमा नै यसले आफ्नो १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । मुख्यतया: यसले आर्थिक तथा सामाजिक पाटोलाई अगाडि बढाएको छ । सहकारी नियमावली २०७५ मा व्यवस्था भए बमोजिम एक वडा- एक सहकारी र एक व्यक्ति- एक सहकारीको नियमको विषयलाई सुक्ष्म अध्ययन गर्दै सवल र सक्षम संस्था निर्माणको लागि यस क्षेत्रका स्थानीय सहकारी संस्थाहरु वीच एकीकरणको पहलका लागि हाम्रो यस संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ , जस अनुसार गत हप्तादेखि हाम्रो यस कागेश्वरी मनोहरा नगरपालिका वडा नं.३ भित्र सञ्चालन भइरहेका सहकारी संस्थाहरु वीच छलफल कार्यक्रम प्रारम्भ भएको छ ।
४. तपाईहरुको यो संस्थाको हालसम्म शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन , कर्जा लगानी र कूल कारोवार कति छ नि ?
~ २०५८ सालमा २७ जना शेयर सदस्यहरुबाट सञ्लालन शुरु भएको हाम्रो यस हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लि.को हालसम्म शेयर सदस्य संख्या १,२०४ , शेयर पूँजी रु.७८ लाख , निक्षेप संकलन रु.३ करोड , कर्जा लगानी रु.२ करोड ९३ लाख र कूल कारोवार रु.५ करोड छ ।
५. यो संस्थाको भावी कार्यक्रम के छ ?
~ अहिलेको जल्दोबल्दो विषय नै सहकारी एकीकरण भएको हुनाले चाडो भन्दा चाडो यस क्षेत्रमा रहेका सहकारी संस्थाहरु वीच एकीकरण गरी सवल र सक्षम संस्था निर्माण गर्नु नै हाम्रो यस संस्थाको मुख्य उद्देश्य रहेको छ । आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थाको शेयर सदस्य संख्या १,५०० र शेयर पूँजी रु.१ करोड नघाउने लक्ष्यका साथ कार्य सञ्चालन भइरहेको छ । यसैगरी उत्पादनमूलक क्षेत्रमा लागेका आफ्ना सदस्यहरुलाई कमभन्दा कम व्याजदरमा कर्जा प्रवाह गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।
६. यो संस्था स्थापना भएदेखि यसबेलासम्म यस संस्थाको नेतृत्व गरिरहदा तपाईले भोगेका तीतामीठा अनुभव चाहिँ के छन् कि ?
~ यो संस्थाको शुरुवातमा जनसमुदायमा २३ वर्षको ठिटोले वित्तीय क्षेत्रको जिम्मा लिन सक्ला कि नसक्ला भन्ने प्रश्न उठिरहेको अवस्थामा आफ्नो उर्वर जीवन नै समाजसेवामा समर्पित गर्ने अठोट लिई म सहकारी अभियानमा होमिएको थिएँ र अहिलेसम्म निरन्तर यो अभियानमा लागिरहेको छु । विगत ३ वर्ष अगाडि मैले भारतीय सहकारी संघ (NCUI) बाट ३ महिने डिप्लोमा इन को-अपरेटिभ एजुकेशन हासिल गरी विभिन्न देशहरुका ३५ जना सहभागीहरुमध्ये तृतीय स्थान प्राप्त गरेँ , जसले मलाई सहकारी अभियानमा थप उर्जा प्राप्त भएको छ । यो अभियानमा लागिरहदा व्यक्तिगत रुपमा आर्थिक पाटोमा घाटा भएतापनि यस अभियानले मलाई आत्मसन्तुष्टि प्रदान गरेको छ ।
७. तपाईले यस वडा भित्रका सहकारी संस्थाहरु वीच एकीकरणको उद्देश्यले छलफल भइरहेको बताउनुभयो । सो छलफलमा सहभागी सहकारी संस्थाहरुको एकीकरणको विषयमा कस्तो प्रतिक्रिया पाउनु भएको छ नि ?
~सहकारी एकीकरण सम्बन्धी यो प्रारम्भिक चरणको छलफल हो । यस क्षेत्रमा सञ्चालन भइरहेका सहकारी संस्थाहरुमा एकीकरण सम्बन्धी राम्रो ज्ञान नभएको र त्यसबाट सकारात्मक भन्दा पनि नकारात्मक कुराहरु उब्जिएको जस्तो महसुस भएको छ । एकीकरण पश्चात विभिन्न सहकारी संस्थाहरुका प्रतिनिधिहरुमा कतै आफ्नो पद गुम्ने त्रासमा त कतै सुशासनको विषयलाई लिएर अगाडि बढ्न नखोजिएको हो कि जस्तो पनि देखिएको छ । सदस्यको पाटोबाट भन्नुपर्दा एकीकरण पश्चात बन्ने संस्थाले बढी भन्दा बढी लाभ दिने प्रशासनिक खर्च कम हुने , गतिशीलता प्राप्त गर्दछ भन्ने बुझाई छ । यद्यपि यो पहिलो छलफलमा सोचे जति सहभागिता नभएता पनि यो अभियानले ढिलो चाडो सार्थकता पाउने छ ।
८. तपाईहरुले कति वटा सहकारी संस्थाहरु वीच एकीकरणको पहल गरिरहनु भा छ नि ?
~ यतिबेला यस कागेश्वरी मनोहरा नगरपालिका -३ भद्रवासमा ९ वटा संस्थाहरु क्रियाशील छन् , जसमा ७ वटा बचत तथा ऋण सहकारी संस्था र २ वटा बहुउद्देश्यीय सहकारी संस्थाहरु सञ्चालनमा छन् । हामीले संगठनात्मक हिसावले जनसंख्याको आधारमा यस वडामा एउटा मात्र सहकारी संस्थाले सदस्यहरुलाई भरपुर सेवा प्रदान गर्न सक्ने महसुस भएको हुनाले ९ वटा सहकारी संस्थाहरु वीच एकीकरणको लागि पहल गर्ने छौँ ।
९. यतिबेला सहकारी ऐन , २०७४ संशोधन हुने क्रममा छ भनिदेछ । यसबारेमा तपाईको धारणा के छ ?
~ सहकारी ऐन , २०७४ तथा सहकारी नियमावली , २०७५ कार्यान्वयनको चरणमा रहेको हुनाले सोबाट काम गर्न कत्तिको सहज र असहज भएको विषयलाई अहिले नै भनी हाल्न सक्ने अवस्था त छैन , तथापि आफ्नो उद्देश्यका साथ स्थापित कतिपय सहकारी संस्थाहरुले आफ्नो उद्देश्य बाहिर रहेर कारोवार गरेका कारण सहकारी ऐन ,२०७४ संशोधन गर्न आवश्यक देखिएको छ । अधिकांश सहकारी संस्थाहरुले मुख्य उद्देश्य विभिन्न राखेतापनि तिनीहरु मूलत: बचत र ऋण कारोवार मै सिमित भएका कारण यो ऐन संशोधन हुनु आवश्यक देखिएको हो । संशोधन गरी यो ऐनलाई सहकारीमुखी बनाउनु आवश्यक छ ।
१०. सरकारले समुदायमा आधारित भई सञ्चालन भइरहेका सहकारी संस्थाहरुका लागि के गर्नु पर्ला जस्तो लाग्छ तपाईलाई ?
~ सर्वप्रथमत: यस बारेमा कानुनमा स्पष्टता भई सहकारी मुल्य , मान्यता र सिद्धान्तलाई पालना गरी सञ्चालन भइरहेका सहकारी संस्थाहरुको पहिचान गरी तिनीहरुलाई अगाडि बढाउनका निमित्त विभिन्न खालका कार्यक्रम सञ्चालन गर्नु पर्दछ । सहकारी संस्था अन्य वित्तीय संस्थाहरुभन्दा फरक भएकोले यस बारेमा जनचेतना जगाउने खालका कार्यक्रमहरु अगाडि बढाई राज्यले राष्ट्रिय अर्थतन्त्रको तीन खम्बे अर्थनीति अनुरुप जुन किसिमले सहकारीलाई महत्वपूर्ण खम्बाको रुपमा लिएको छ , सोही अनुरुप सहकारी संस्थाहरुलाई विश्वासिलो नजरले हेर्नु जरुरी देखिएको छ ।
११. कोपोमिसको बारेमा तपाईको के भनाई छ ?
~ सरकारले एक द्वार नीति अनुरुप सूचना प्राप्त गर्ने जुन माध्यम बनाएको छ ,त्यो सरहानीय छ तर कोपोमिसमा काम गर्दाको अवस्थामा त्यो सिष्टममा केही अपुग भएको महसुस भएको छ । जस्तै -कुनै एक सदस्यको एउटा संस्थाले पारिवारिक तथ्यांक इन्ट्री गरेपछि अन्य संस्थालाई उक्त व्यक्तिको डाटा इन्ट्री गर्न एसिस दिनु हुदैन ।
१२. तपाईहरुको यो संस्था कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत रही रहँदा तपाईहरुलाई काम गर्न कत्तिको सहज भा’छ नि ?
~ हाम्रो यस कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा नै सहकारीकर्मी हुनु भएको कारणले उहाँले सहकारी मुल्य , मान्यता र सिद्धान्त राम्रो सँग बुझ्नु भएको छ , जसका कारणले सहकारी सम्बन्धी गतिविधिहरु सञ्चालन गर्न हामीलाई सहज भइरहेको छ ।
१३. अन्तमा तपाईको केही भन्नु छ कि ?
~ सहकारी संस्था सामाजिक भावनाका साथ स्थापना भएको हुनाले यसका प्रमुख व्यक्ति भनेकै सहकारी संस्थाका सदस्यहरु हुन् , जसलाई मैले मालिकको रुपमा लिने गर्दछु । अबको अभियान भनेकै सहकारी संस्थाका सदस्यहरुलाई आफू उक्त संस्थाको मालिक भएको महसुस गराई कार्य अगाडि बढाउनु पर्ने देखिन्छ ।