स्वरोजगारका लागि प्राइम सहकारी संस्था लि. , पोखराले ग-यो बाख्रा वितरण
कास्कीको पोखरा महानगरपालिका – ४ ,गैह्रापाटनमा मुख्य कार्यालय तथा सोही नगरपालिका -१ को बगर र २६ को बुढीबजारमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको प्राइम सहकारी संस्था लि. ले २०७६ माघ १५ गते आफ्ना शेयर सदस्य समेत रहेका कास्कीको अन्नपूर्ण गाउँपालिका सोयाज गाउँका ७ जना किसानहरुलाई स्वरोजगार बनाउने उद्देश्यले नि:शुल्क बोयर जातका ३ वटा बोका र ११ वटा बाख्रा वितरण गरेको जनाएको छ ।





इन्सुरेन्स गरी सो संस्थाबाट बाख्रा लगेका किसानहरुले बाख्राले छ बेतसम्म जन्माएका बच्चा आधा हुने र त्यसपछि जन्मिएका पाठा र माऊ दुबै किसानको हुने सहमती भएको सोही संस्थाका प्रवन्धक निरु थापाको भनाई छ । उक्त संस्थाका सल्लाहकार तथा सो बाख्रा बितरण कार्यक्रमका संयोजक मानबहादुर जी.सी.र सदस्य सेवाकेन्द्र लेखनाथ बुढीबजारका व्यवस्थापक सुनील थापाले किसानहरुलाई बाख्रा वितरण गर्नु भएको थियो ।
बचत तथा ऋण कारोवार सँगै पोखरा महानगरपालिकाको लेखनाथमा ६० वटा बाख्रा र ८ वटा गाई पालनको फार्म सञ्चालन गरिरहेको सोही संस्थाका अध्यक्ष निदेशप्रसाद कोइरालाले किसानहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले आफ्ना शेयर सदस्य रहेका किसानहरुलाई यस संस्थाले बाख्रा बितरण गरेको र यसलाई निरन्तरता दिने उद्देश्य रहेको सहकारी सञ्जाललाई बताउनुभयो ।

सहकारी संस्थाले सञ्चालन गरिरहेको गाई र बाख्रा पालन फार्म राम्रो अवस्थामा रहेको तर बजारमा रु.१० हजार तलवमा अफिसको काम गर्ने मान्छे पाउन सजिलो छ तर खाने र बस्ने सुविधा सहित रु.१५ हजार तलव दिदा पनि फार्ममा काम गर्ने दक्ष जनशक्ति र घाँसको समस्या रहेकोले यसका लागि राज्यले आवश्यक सहयोग गर्नु पर्ने खाँचो रहेको उहाँको भनाई छ । उहाँले एक सहकारी-एक सदस्य भन्ने राज्यको नीतिलाई पूर्ण रुपमा पालना गर्न अफ्ठायारो भएकोले त्यो व्यवस्था संशोधन हुनु आवश्यक रहेको बताउदै उत्पादनमूलक क्षेत्रमा लाग्न सहयोग पुग्ने ढंगबाट सहकारी ऐन संशोधन होस् र यसले सहकारी संस्थाका सदस्यलाई उद्यमी बनाउन सहयोग गरोस् भन्नुभयो । राष्ट्रिय सहकारी बैंक लि.को १५औँ वार्षिक साधारणसभाबाट गण्डकी प्रदेशमा उत्कृष्ठ कारोवार गरेको सहकारी संस्थाको रुपमा पुरस्कृत उक्त संस्थाका अध्यक्ष कोइरालाले ५ हजार ५ सय शेयर सदस्य पु-याएपछि हाम्रो यस संस्थाको कार्यक्षेत्र कास्की जिल्लाबाट गण्डकी प्रदेशस्तरीय बनाउने लक्ष्य रहेकोले यस संस्थाको शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्ने उद्देश्यका साथ कार्य सञ्चालन भइरहेको बताउनुभयो । सहकारी एकीकरणलाई जोड दिने र त्यसमा पनि सकेसम्म शहरभन्दा बाहिरका सहकारी संस्थाहरुसँग एकीकरण गरी सदस्यहरुलाई स्वरोजगार बनाउन सहयोग गर्ने हाम्रो यस संस्थाको उद्देश्य रहेको त्यसै संस्थाका सचिव सुरेन्द्रमणि पौडेलको भनाई छ ।
समुदायमा आधारित सोही संस्थाकी प्रवन्धक निरु थापाले २०७६ माघ २० गतेसम्म उक्त संस्थामा शेयर सदस्य संख्या १,४०० , शेयर पूँजी रु.९ करोड , निक्षेप संकलन रु.५८ करोड , लगानी रु.१ अरव र कूल कारोवार रु.१ करोड २७ करोड रहेको छ भन्नुभयो । उहाँले हाम्रो यस संस्थाको मुख्य कार्यालय र लेखनथ बुढीबजारमा रहेको सदस्य सेवाकेन्द्र संस्थाको आफ्नै भवनमा रहेको बताउनुभयो ।
